होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘पल प्रवृत्ति’ विरुद्ध पुस्ताको लडाइँ
समाचार

‘पल प्रवृत्ति’ विरुद्ध पुस्ताको लडाइँ

आफूले न्याय पाउँदा आफ्नै उमेर समूहका धेरै नाबालिग शोषणबाट बच्न सहयोग पुग्ने ठान्छिन् उनी

  • नागरिक रैबार
‘पल प्रवृत्ति’ विरुद्ध पुस्ताको लडाइँ

पोखरा — ‘हामी गाउँको मान्छे, यसै पनि मनोबल कमजोर हुन्छ । झन् यस्तो कहिल्यै परेको थिएन । पीडकको पक्षमा नाराबाजी भएको देख्दा बेकार मुद्दा दिइएछ भन्ने भयो ।’ रसाएका आँखा रुमालले पुछ्दै बालिकाका बुबाले घरदेखि अदालतसम्म पुग्दाको इतिवृत्तान्त सुनाए ।

माघ पहिलो साता चिनजानकै व्यक्तिमार्फत बालिका अधिवक्ता टंक पौडेललाई भेट्न पुगिन् । आफूमाथि भएका घटनाबारे बताइन् । पौडेलले बालिकालाई जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालबालिका सेलमा पठाए । त्यहाँ पनि उसैगरी आफ्नो पीडा सुनाइन् । प्रहरीले उनको मोबाइलमा भएका भिडियो र फोटोका आधारमा घटना भएको सही मिति पत्ता लगायो ।

पोखरामा भएको घटनाको हदम्याद गुज्रिसकेको थियो । बाल यौन दुरुपयोग मात्रैको मुद्दा कमजोर हुन्थ्यो । जिल्ला न्यायाधिवक्तासँग निवासमै पुगेर प्रहरीले राय लियो । तनहुँ र नवलपुर घटनाको हदम्याद गुज्रिएको थिएन ।

विज्ञापन

नाबालिगमाथि ०७८ वैशाख १४ मा जबर्जस्ती करणी भएको तनहुँको दुलेगौंडा पोखराबाट २० किलोमिटर मात्रै टाढा थियो । पल शाह भनिने पूर्णविक्रम शाहविरुद्ध तनहुँमा जाहेरी दिने निधो भयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार एक्लै पुगेकी नाबालिगलाई प्रहरीले अभिभावक लिएर आउन भन्यो । बुबाआमा प्रहरी कार्यालय पुग्नै मानेनन् । प्रहरीले फोनमै सम्झाइबुझाइ गरेपछि मात्रै तीन दिनपछि बुबाआमा जिल्ला प्रहरी कार्यालय पुगे । कास्की प्रहरीले तनहुँका डीएसपी युवराज खड्का र अनुसन्धान अधिकृत नरहरि अधिकारीलाई पोखरा बोलायो । तनहुँमै जाहेरी दर्ता गर्ने विषयमा छलफल चल्यो । ‘वारदात भएकै स्थानमा दर्ता गर्दा मुद्दा स्थापित हुन्छ भनेर तनहुँ पठाउने विषयमा छलफल भएको हो,’ एसपी थापाले भने ।

पीडितका आमाबुबा भने जाहेरी दिन तयार भएनन् । त्यतिन्जेलसम्म पनि पलसँग नै आफ्नो छोरीको घरबार भइदियोस् भन्ने चाहन्थे । छोरी २० वर्ष पुगेपछि पलले बिहे गर्नेमा उनीहरू ढुक्क थिए । आफ्नी छोरीलाई माया गर्ने ठानेर आमाले ८/१० माना घरकै घिउ, तरकारी पठाउने गर्थिन् । यही वर्षको सुरुआततिर पल शाहको टिम नै बालिकाको घरमा पुगेर उनको संरक्षण गर्ने आश्वासन दिएर फर्किएको थियो ।

प्रहरीले झन्डै चार घण्टा सम्झाइबुझाइ गर्‍यो । प्रेमको नाटक रचेर शारीरिक शोषण गर्ने ‘पल प्रवृत्ति’ विरुद्ध व्यक्तिको मात्रै लडाइँ थिएन, नाबालिकाको उमेरका पुस्ताको नै लडाइँ थियो । प्रहरीको पनि साथ पाउने भएपछि नाबालिग कानुनी उपचारमा जान तयार भइन् । उनले ८ महिनाअघि नै आफ्नो शारीरिक शोषणपछि सम्पर्कविहीन भएका पल शाहले आफ्नो अर्कै ‘गर्लफ्रेन्ड’ भएकाले बिहे गर्न नसक्ने अभिव्यक्ति दिँदा नै आफूमाथि घात भएको चाल पाएकी थिइन् । पलको ‘प्रेगनेन्ट नभएकाले बिहे नै गर्नु नपर्ने, मायाप्रेममा यस्तो कुरा सामान्य हुने’ भन्ने अडियो त्यतिबेलाकै हो । बालिका भने पलको मन फर्किएला र आफूले मन पराएको मान्छेसँग जीवन बिताउन पाइएला भन्ने आशामा बसिरहिन् । दुई पक्षबीच पटकपटक छलफल पनि चल्यो । पलले बालिकाको उमेर पुगेपछि बिहे गर्ने वाचा गर्थे तर फेरि बेवास्ता गर्थे । आफूलाई सम्हाल्न नसक्ने भएपछि उनी प्रहरीकामा पुगेकी थिइन् ।

आमाबुबा भने पलले छोरीलाई गरेको व्यवहार प्रेम हो कि अपराध हो भन्ने ‘ग्रेलाइन’ मा थिए । पलले बालिकाकी आमालाई फोन गरेर कतै उजुरबाजुर नगर्न फकाइरहन्थे । ‘पोखरा, तनहुँ, नवलपुर र बागलुङमा बालिकामाथि भएका घटना केलाएर सम्झायौं,’ जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले भने, ‘त्यो माया गरेको होइन, बालिकालाई खेलौना सम्झिएको हो । यो अपराध नै हो भनेर सम्झाउनुपर्‍यो ।’ बल्ल बालिकाका अभिभावक उजुरी दिन राजी भए ।

माघ ९ मा कास्की प्रहरीले असईको सुरक्षामा नाबालिका, उनका अभिभावक र अधिवक्तालाई गाडीको व्यवस्था गरेर तनहुँ पठायो । तनहुँ पुग्दा रात परिसकेकाले जिल्ला प्रहरी कार्यालयभित्रै जाहेरी लेखियो । बालिकाका बुबाले भोलिपल्ट बुझाउने भन्दै जाहेरीमा हस्ताक्षर गरेनन् । भएको के थियो भने, जाहेरी लेख्दालेख्दै बालिकाकी आमालाई पल शाह पक्षबाट फोन आएको थियो । भोलिपल्ट आफूहरू पोखरा आउने र छलफल गर्ने बताएर जाहेरी नदिन दबाब दिए । जाहेरी दिए ‘आफ्नो पनि र बालिकाको पनि करिअर सकिने’ धम्की दिए । माघ १० मा पल शाह सञ्चारकर्मीको टोली लिएर पोखरा आए । दुई पक्षबीच छलफल भयो । फेरि बालिकाको उमेर पुगेपछि बिहे गर्ने वाचा दोहोर्‍याए । यसपल्ट बालिकाको परिवारले लिखित गर्नुपर्ने प्रस्ताव गर्‍यो । ‘लिखित गरेपछि माया हुँदैन । यति साह्रै पनि अविश्वास नगर्नुस् भनेपछि होला त नि भनियो,’ बालिकाकी आमाले भनिन्, ‘लिखित केही पनि भएको छैन ।’

काठमाडौं फर्किएपछि पलले फेरि उल्टो कुरा गर्न थाले । त्यसपछि दुईपल्ट छलफल भयो । पलको पक्षले प्रलोभन पनि नदेखाएको होइन । आफ्नो गल्ती नस्वीकारेकाले एक महिनापछि फागुन ११ मा नाबालिगको बुबाले पलविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दिए । कास्की प्रहरीले बालिकाको घरमा सुरक्षाको व्यवस्था गरिदियो । ‘उनीहरूका मान्छे धेरै छन्, हाम्रो पक्षमा कोही बोल्दिँदैनन्, गाउँको मान्छे झमेलामा नफसौं भनेर पनि झट्टै उजुरी दिइएन,’ बुबाले भने, ‘यस्तो बेलामा कास्की प्रहरीले संरक्षण गर्नुभयो । देउता खोज्न कहीँ जानुपर्दैन ।’ जाहेरी दिएको पाँचौं दिनमा पल शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरे । त्यसबीचको समय भने बालिकाको परिवारलाई निकै पीडादायी भयो । पलको पक्षमा तनहुँ प्रहरी कार्यालयअघि कथित अभियानकर्मी र कलाकारले नाराबाजी गरे । सामाजिक सञ्जालमा बालिकालाई नै दोषी करार गर्दै गाली बर्सिए । उनको चरित्रमाथि प्रश्नचिह्न उठाएर ‘हार्दिक श्रद्धाञ्जली’ सम्म लेखियो । यी सबै कुराले बालिका र उनको परिवारलाई विरक्त बनायो । बालिकामा आत्महत्या गर्ने सोच नआएको पनि होइन तर त्यसो गर्दा दुनियाँले आफूलाई नै दोषी करार गर्ने ठानिन् । ‘म मरेको भए पनि त्यसकै गल्ती भएर मरी भन्थे,’ उनले कान्तिपुरसँग भनिन्, ‘समय आउँछ, समय बलवान् छ भनेर आफूलाई सम्हालें ।’

भयो पनि त्यस्तै । अहिले बालिकाविरुद्धको आवाज मत्थर छ । अहिले उनलाई सामाजिक सञ्जालमा आउने खराब प्रतिक्रियाले कुनै अर्थ राख्दैन । अदालतमा अभियोजन पेस भएर बयान दिएपछि काठमाडौं फर्किने सोचमा छिन् उनी । ‘मलाई मेरो करिअर सकिन्छ भन्ने कत्ति पनि चिन्ता छैन,’ उनले भनिन् ।

अदालतबाट न्याय पाउनेमा उनी निश्चिन्त छिन् । आफूले न्याय पाउँदा आफ्नै उमेर समूहका धेरै नाबालिका शोषणबाट बच्न सहयोग पुग्ने उनी ठान्छिन् । ‘मेरो जेनेरेसनका कतिपयको फिलिङ्समा खेलेर शोषण गर्ने प्रवृत्ति छ,’ उनले भनिन्, ‘मेरै कारण कला क्षेत्रमा शोषणमा परेका अन्य व्यक्ति पनि बाहिर आउने वातावरण बन्दै छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार