नागरिक रैबार/बाजुरा १ फागुन। नेकपा माओवादी केन्द्र बाजुराले २७ औं जनयुद्ध दिवस दिप प्रज्वलन गरेर मनाएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालनी गरेको स्मरणमा माओवादीले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । पुष्पकमल दहाल नेतृत्वमा तत्कालिन माओवादीले सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकसाथ आक्रमण गरेर औपचारिक रुपमा फागुन १ गते जनयुद्ध सुरु गरेको थियो ।
२७ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र बाजुराले सदरमुकाम मार्तडीमा कोण सभा सहित नेपालको नक्सा रेखाङन गरी २७ वटा दिपप्रज्वलन गरेर मनाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउँदले बताएका छन् ।जनयुद्ध दिवसको अवसरमा मार्तडीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा प्रदेश कमिटी सदस्य महेश शाही प्रमुख अतिथि रहेका थिए ।
दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा प्रदेश कमिटी सदस्य महेश शाहीले देशमा एमसिसी नामको परियोजनाले गर्दा देश संकटमा परेकोले माओवादी घटकहरु एकजुट हुन् आवश्यक रहेको बताएका थिए ।त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेका अर्का प्रदेश कमिटी सदस्य मानबहादुर विकले माओवादी केन्द्रले गरेको जनयुद्धकै कारण देशमा आमुल परिवर्तन भएको दावी गरेका थिए ।
कार्यक्रमको संचालन माओवादी केन्द्रका कार्यालय सचिव गोरख सार्कीले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र बाजुराका सचिवालय सदस्य चन्द्र थापा, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउँद, योङ कम्युनिष्ट लिगका केन्द्रिय सदस्य निर्मला विष्ट, माओवादी केन्द्र बडीमालिका नगर कमिटी सचिव प्रेमबहादुर विक लगायत नेता कार्यक्रर्ता सहभागि भएका थिए ।
महान जनयुद्ध दिवसकै अवसरमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिष्ट लिगले भोली विहान जिल्ला अस्पताल बाजुरामा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु