पोखरा — प्रेस चौतारी नेपालको अध्यक्षमा चार जनाले आकांक्षा देखाएका छन् । गणेश बस्नेत अध्यक्ष दोहोर्याउने पक्षमा छन् । वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष गणेश पाण्डे र महासचिव राजेश राईले अध्यक्षमा दाबी गरेका छन् । नवौं महाधिवेशनअन्तर्गत दोस्रो दिन शनिबार पोखरा सभागृहमा बन्दसत्र जारी छ ।
प्रेस चौतारीका इन्चार्ज रहेका एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र उपप्रमुख विष्णु रिजाल सर्वसम्मत समिति चयन गर्न प्रयासरत छन् । तर, चारै जनाले आफ्नो दाबी नछाडेको प्रेस चौतारीका एक नेताले बताए ।
महासचिवमा भने चेतन अधिकारीले आकांक्षा देखाएका छन् । १७ पदाधिकारीसहित १ सय ५१ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट निर्वाचित हुने छ । महाधिवेशनमा उपस्थित झण्डै १ हजार २ सयजना प्रतिनिधि सर्वसम्मत गर्ने कि मतदान गर्ने भन्नेमा विभाजित छन् । यतिखेर सबै प्रदेशबाट एक–एकजना सचिव र सदस्य सर्वसम्मत सिफारिस गर्न प्रदेश समितिलाई भनिएको छ ।
मतदान नगरी सर्वसम्मत समिति निर्वाचित गर्ने कसरत भएपछि केही प्रतिनिधि घर फर्कने क्रम सुरु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु