होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पानी माग्दै दैलो–दैलो
समाचार

पानी माग्दै दैलो–दैलो

वर्षामा पहिरोले क्षति गरेको खानेपानी हिउँदमा सडक बनाउने क्रममा डोजरले भत्काइदिएपछि बस्ती नै काकाकुल

  • नागरिक रैबार
पानी माग्दै दैलो–दैलो

रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–९ राडीकी निर्मला बादीलाई दैनिक गुजारा कसरी गर्ने भन्ने पिरलो छ । जग्गाजमिन नभएको उनको परिवार ७६ वर्गमिटरमा बनेको सानो घरमा बसिरहेको छ ।

आयस्रोत केही नहुँदा दैनिक चुलो बाल्न मुस्किल हुने उनलाई अर्को पिरलो पनि छ– खानेपानीको । ‘खानेपानी लिन जाँदा कसको गाली खाइने हो वा पानी नै पाइने हैनकी भन्ने चिन्ता सधैं हुन्छ,’ उनले भनिन्, ‘हरेक दिन खानेपानीका लागि सास्ती भोग्नुपर्ने अवस्था आयो ।’

राडीस्थित बादी बस्तीमा एक वर्षदेखि खानेपानी आइरहेको छैन । बस्तीमा बनाइएका २ खानेपानीका धारा जीर्ण छन् । पानी नआएको लामो समय भयो । स्थानीय कलिभान बादीले सधैं पानीको पिरलो भएको बताए । आनै बस्तीमा रहेका धारामा पानी नआउने भएपछि बादी समुदायका स्थानीय पानी खोज्दै घरघर चहानुपर्ने बाध्यतामा छन् । खारखारा खोलाबाट बादी बस्तीमा खानेपानी ल्याइएको थियो । २०७७ को हिउँदमा उक्त खानेपानीको आयोजनामा क्षति भयो । वर्षामा पहिरोले क्षति गरेको उक्त खानेपानी हिउँदमा सडक बनाउने क्रममा डोजरले भत्काइदिएपछि बस्ती नै काकाकुल बनेको हो ।

विज्ञापन

खानेपानी बिग्रेको एक वर्ष बढी भइसक्दा पनि मर्मतमा कसैले ध्यान नदिएको बादीले बताए । उनका अनुसार आफैं मर्मत गर्न सक्ने अवस्था बस्तीका कसैसित पनि छैन । ‘हामी अरूअरूको घरमा ल्याइएको निजी धारामा गएर पानी ल्याइरहेका छौं,’ निर्मलाले भनिन्, ‘कहिलेकाहीं त पानी नै नपाउने अवस्थासम्म भएको छ ।’ पानीका धारा भएका घर बन्द भए खानेपानी नपाइने उनको गुनासो छ । राडीमा खानेपानीका सार्वजनिक धारा नहुँदा पनि उनीहरूलाई घरघरै चहारेर खानेपानी ल्याउनुपर्ने बाध्यता छ ।

गत वर्षको लकडाउनका बेला खानेपानीका लागि सबभन्दा धेरै दुःख पाइएको कलिभानले बताए । ‘लकडाउन थियो, एक घरको सदस्य अर्को घरका सदस्यसँग भेट मिल्ने वातावरण थिएन,’ उनले भने, ‘त्यही बेला झन् खानेपानीको अभाव झेल्नु पर्‍यो ।’ उपाय नलागेपछि नजिकै बगिरहेको ठूलीभेरीको दूषित पानी प्रयोग गरेको उनले बताए । पटकपटक नगरपालिकामा यो समस्या राखे पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।

राडीमा बादी समुदायका लागि १५ घर बनाइएको छ । त्यसमा १९ परिवार बस्छन् । उनीहरूका घर ७६ देखि ८३ वर्गमिटरमा मात्रै बनेका छन् । त्यही घर बनाउने क्रममा बनाइएका खानेपानीका धारामा पानी नआउँदा समस्या भइरहेको स्थानीयको गुनासो छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बादी बस्तीमा जाने खानेपानी बिग्रेकोबारे जानकारी आएको बताए । उनका अनुसार योजना मर्मत नहुँदासम्म नजिकै रहेका अरू धाराबाट खानेपानी आपूर्ति गर्न भनिएको छ । ‘बेवास्ता गरिएको छैन, समस्याबारे ढिलो जानकारी भएर हो,’ उनले भने, ‘जानकारी भएलगत्तै खानेपानी योजना मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढाएका छौं, अबको १/२ महिनाभित्रै योजना मर्मतको काम सुरु हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै