धनगढीः सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागुऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन्।
पहिल्लो समयमा सुदूर पहाडमा पनि यसको प्रभाव देखिन थालेको धनगढीमा सुधार गृह सञ्चालन गर्दै आएका रामबहादुर रजकले बताए। ‘सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ताको अवस्था डर लाग्दो छ,’ उनले भने, ‘तराईमा मात्र होइन पहाडका विकट गाउँमा पनि ब्राउन सुगरका प्रयोगकर्ता रहेका छन्।’ प्रदेशमा लागुऔषधको जालो कसरी फैलियो भन्ने प्रश्न जटिल बन्न थालेको छ। विशेषगरी एक जना प्रयोगकर्ताले नै आफ्नो संगतमा रहेका युवाहरुलाई सेवन गर्न सिकाउने गरेको उनी बताउँछन्।
लागुऔषध सेवन गर्नका लागि आफूसँग सधै पैसा नहुने भएपछि लागुऔषध सेवनकै लागि साथी थप्दै जाने गरिन्छ। कैलालीमा सञ्चालित सुधार गृहमा रहेकाहरुको भनाइ सुन्दा पनि अधिकांश प्रयोगकर्ता साथीहरुकै कारण कुलतमा फस्ने गरेका छन्। तीमध्ये केही मानसिक तनावका कारण यसमा लागेको देखिएको छ भने, अन्य प्रेममा धोका पाएकाहरु पनि कुलतमा फसेको अत्तरियामा सुधार गृह सञ्चालन गर्दै आएका विमलकुमार भट्टले बताए। ‘अभिभावकको कमजोरीका कारण पनि युवाहरु कुलतमा फसेका छन्। जालो फैलिनुको प्रमुख कारण सेवनकर्तासँगको संगत नै हो’ उनले भने।
सुदूरपश्चिममा प्रदेशमा लागुऔषध प्रयोगकर्ताको एकिन तथ्यांक भने छैन। यहाँ लागुऔषध खैरो हिरोइन नै बढी प्रयोग हुने गरेको छ। यो नियन्त्रणका लागि लागुऔषधको डिलरलाई नियन्त्रणमा ल्याउनपर्ने देखिन्छ। तर प्रहरीले भने सुदूरपश्चिममा डिलर नै नभएको दाबी गर्दै आएको छ। सेवनकर्ताले नै एक÷आपसमा बिक्री गर्ने गरेको भनाई प्रहरीको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायक उपरीक्षक वेदप्रकाश जोशीले पनि साथीको संगतले जालो फैलिएको बताए। ‘आफ्नै कारणले पनि युवाहरु कुलतमा फसेका छन्। साथीहरुको संगत पनि एक कारण हो। खाने प्रयास गरौन भन्नेहरु पनि फसेका छन्। यो नियन्त्रण गर्न चुनौती छ,’ उनले भने।
फेसबुक प्रतिक्रियाहरु