होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेसमा किन हुन्छ दलितमाथि उपेक्षा ?
समाचार

कांग्रेसमा किन हुन्छ दलितमाथि उपेक्षा ?

  • नागरिक रैबार
कांग्रेसमा किन हुन्छ दलितमाथि उपेक्षा ?
file photo
प्रत्यक्षमा दलित नेतालाई टिकट नै नदिएको कांग्रेसमा समानुपातिकबाट पनि दलित पुरुषलाई निर्वाचित नगराउन कसरत
पुरुष तीन जनाको कोटाबाट आफूनिकट प्रकाशशरण महत, बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई समानुपातिक सांसद बनाउने देउवाको चाहना

काठमाडौँ — कांग्रेसले प्रतिनिधिसभाका ९१ र प्रदेशसभाका १ सय ७८ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दा दलित उम्मेदवार एक जना पनि थिएनन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित कांग्रेसका ५७ जनामध्ये ७६ प्रतिशत अर्थात् ४७ जना खस–आर्य समुदायका छन् । तिनमा मुस्लिमको उपस्थिति पनि शून्य छ । समानुपातिकबाट निर्वाचित हुने उम्मेदवार छान्नुपर्ने समय आएपछि पनि कांग्रेस नेतृत्वले दलित र मुस्लिम दुवैतर्फ पुरुष उम्मेदवार शून्य पार्न कसरत गरिरहेको छ ।

समानुपातिकतर्फ दलित ‘क्लस्टर’ अन्तर्गत पुरुषको १ नम्बरमा पार्टीका सहमहामन्त्री जीवन परियार छन् । उनले कास्की–१ बाट प्रत्यक्ष उम्मेदवार बन्न चाहेका थिए । अन्तिमसम्मै अडान पनि लिएका थिए । तर, पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले कास्की–१ माओवादीलाई छाड्नुपर्ने भन्दै उनलाई समानुपातिक सूचीमा बस्न बाध्य बनाए । सांसद सुनिश्चित रहने गरी १ नम्बरमा नाम राखिदिने भन्दै उनलाई मनाइएको थियो । पछि उनले चाहेको निर्वाचन क्षेत्र कांग्रेसकै भागमा पर्‍यो ।

कांग्रेसले समानुपातिकतर्फ ३२ जना छान्दै गर्दा परियार पर्ने/नपर्ने निश्चित छैन किनभने महिलाबाट दलितको प्रतिनिधित्व गराएर उनलाई रोक्न पार्टीभित्र कसरत चलिरहेको छ । उनी रोकिए भने प्रतिनिधिसभामा कांग्रेसबाट दलित पुरुषको प्रतिनिधित्व शून्य हुनेछ । यसपटक कांग्रेसबाट संसद्मा प्रभावकारी रूपमा मुद्दा उठाउने दलित सांसद नहुने चिन्ता उक्त समूहका नेताहरूले व्यक्त गरिरहेका छन् ।

विज्ञापन

पूर्वमन्त्रीसमेत रहेका नेता मीन विश्वकर्माले सुनसरी–१ बाट निर्वाचन लड्न पार्टीभित्र ठूलो संघर्ष गरेका थिए । ‘सुनसरी–१ बाट टिकट लिन पार्टीका नेतालाई मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्डदेखि वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई भेटेरै अनुनय गरें तर टिकट पाइनँ,’ उनले सुनाए । गठबन्धनले सुनसरी–१ माओवादीको भागमा पारेको थियो । ०७४ सालमा त सुनसरीमा टिकट दिएर मनोनयन गर्ने बेला टिकट खोसिएको थियो । पार्टीले तत्कालीन संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईलाई छाड्ने सहमति गरेर उनलाई फिर्ता गरिएको थियो । ‘त्यतिबेला मनोनयन फाराम भरिसकेको कागज अझै मेरो झोलामा छ,’ उनले भने । त्यसपछि समानुपातिकबाट सांसद बनेका उनलाई यस पटक समानुपातिक उम्मेदवार बन्न पार्टीको विधानले रोकेको थियो । कांग्रेसको विधानमा दोहोर्‍याएर समानुपातिक सांसद हुन नपाउने व्यवस्था छ ।

दलित समुदायबाट सम्भावना बोकेका अर्का युवा नेता हुन् प्रकाश रसाइली । उनले बझाङबाट टिकट मागेका थिए । प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र पनि एकीकृत समाजवादीको भागमा पर्‍यो । एकीकृत समाजवादीका भानुभक्त जोशी गठबन्धनका साझा उम्मेदवार बने । गृह जिल्लामा नपाउने भएपछि उनले ७५ जिल्लामध्ये जुनै क्षेत्रबाट पनि लड्न तयार रहेको भन्दै टिकटका लागि पार्टीभित्र संघर्ष गरे । ‘मलाई झापा–५ मा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न दिए पनि हुन्छ नभए, भक्तपुर–१ मा प्रेम सुवालसँग प्रतिस्पर्धा गर्छु, टिकट दिनुहोस् । जित्न नसके पनि पार्टीलाई केही हजार भोट बढाउन सक्छु भनेर शेरबहादुर दाइसहितका नेतालाई धेरै पटक भनें । दिने छाँट नदेखेपछि प्रदेशकै पनि मागें । त्यहाँ पनि दिएनन्,’ उनले भने । बझाङमा प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमध्ये कांग्रेस र माओवादीले भागबन्डा गरेर एक–एकवटा लिएका थिए । यसअघिको संसद्मा समानुपातिक सांसद रहेका कारण त्यताबाट संसद् छिर्ने विकल्प रसाइलीसँग थिएन ।

संघीय संसद्मा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुग्ने गरी राजनीतिक दलले समानुपातिकबाट निर्वाचित हुनेको सूची निर्वाचन आयोगमा पठाउनुपर्छ । प्रतिनिधिसभामा प्रत्यक्ष ५७ र समानुपातिक ३२ तथा राष्ट्रिय सभामा १० गरी कांग्रेसका संघीय सांसद ९९ जना हुन्छन् । राष्ट्रिय सभामा अनिता देवकोटा, कमला पन्त र दुर्गा गुरुङ गरी तीन महिला सांसद छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट चुनाव जित्ने महिला सीता गुरुङ मात्रै हुन् । ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउन कांग्रेसले समानुपातिकबाट २९ जना महिला पठाउनैपर्छ । त्यसैले पुरुषतर्फ ३ जनाभन्दा बढी छान्न मिल्दैन ।

पुरुषतर्फ आदिवासी जनजातितर्फ गोपालमान श्रेष्ठ, खस आर्यतर्फ प्रकाशशरण महत, थारूतर्फ योगेन्द्र चौधरी, दलिततर्फ जीवन परियार, मधेसीतर्फ बिमलेन्द्र निधि, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर समानुपातिक बन्द सूचीको एक नम्बरमा छन् । उनीहरूमा महत, परियार, निधि र मन्सुरबीच कसलाई बाहिर राख्ने भन्ने मुख्य रस्साकसी कांग्रेसमा चलिरहेको छ । कांग्रेसले मुस्लिम समुदायका फिरदोस आलमलाई मात्र टिकट दिएको थियो तर उनी रौतहट–२ मा स्वतन्त्र उम्मेदवार किरणकुमार साहबाट पराजित भए । पार्टीले मुस्लिमको प्रतिनिधित्व महिलाबाट गरायो भने मन्सुर वञ्चित हुन सक्छन् । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले समानुपातिक समावेशीको निर्धारित प्रतिशत महिलाबाट पूरा गरेर पुरुषमा आफूनिकटलाई ल्याउन चाहेका छन् । संस्थापनपक्षीय एक नेताका अनुसार खस–आर्यबाट प्रकाशशरण महत, मधेसी कोटाबाट बिमलेन्द्र निधि र आदिवासी जनजातिबाट गोपालमान श्रेष्ठलाई ल्याउने देउवाको चाहना छ । संस्थापन इतर पक्षले भने दलित समुदाय बारम्बार उपेक्षामा परेको भन्दै दलित पुरुषलाई छुटाउन नहुनेमा जोड दिँदै आएको छ । मन्सुरलाई पनि छुटाउन नहुने दबाब पार्टीभित्र छ । नेता रामचन्द्र पौडेल पनि समावेशी र समानुपातिक सिद्धान्तको संवैधानिक मर्मविपरीत पार्टीले निर्णय लिन नहुने बताउँछन् ।

परियार र मन्सुरका पक्षमा पार्टीभित्र तीव्र दबाब भए पनि श्रेष्ठ, निधि र महत पार्टीका वरिष्ठ नेता हुन् । खस–आर्यबाट महत, मधेसीबाट निधि, आदिवासी जनजातिबाट श्रेष्ठ छनोटमा परे ती क्लस्टरबाट प्रतिनिधित्व गर्ने महिलाको संख्या एक–एकले घट्छ । निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित हुनेहरूको नाम पठाउन तीन दिनको समय दिएको छ । यसैका लागि कांग्रेसले शुक्रबार पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका साढे ८ लाख क्रियाशील सदस्यमध्ये दलितको संख्या ४६ हजारभन्दा बढी छ । यति ठूलो कार्यकर्ता भएको पार्टीले राज्यका नीति निर्माण गर्नेदेखि कार्यकारी तहमा दलितमाथि उपेक्षा गरिरहेको उक्त समुदायका नेताहरू गुनासो गर्छन् । समानुपातिकमा एक जना दलित नेतालाई पनि छान्न नसक्दा नकारात्मक सन्देश प्रवाह हुने रसाइली बताउँछन् ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) ले गत वर्ष शपथको तयारी भइरहेका बेला तनहुँका डोबाटे विकलाई मन्त्रीको सूचीबाट हटाएका थिए । प्रधानमन्त्री देउवा र पत्नी आरजु राणाको दबाबमा डोबाटे विकको नाम काटेर जग्गा व्यापारीसमेत रहेका सांसद बिन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । ‘नेताहरूले नीतिभन्दा पनि व्यक्ति हेर्ने गरेकाले समावेशी र समानुपातिक सिद्धान्तको मर्ममाथि प्रहार हुँदै आएको छ,’ सहमहामन्त्री जीवन परियारले भने, ‘प्रत्यक्षमा त्यस्तै देखियो । अब समानुपातिकमा के हुन्छ, हेर्न बाँकी छ ।’

को–को बन्छन् समानुपातिक सांसद ?

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीको क्रमअनुसार खस–आर्यबाट कम्तीमा अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल कार्की निर्वाचित हुनेछन् । खस–आर्यतर्फ पुरुष नपरे उमा दाहाल पर्नेछिन् । सेजुवालले पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व गर्छिन् । आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचा निर्वाचित हुनेछन् । यो क्लस्टरमा पुरुषतर्फ १ नम्बरमा रहेका गोपालमान श्रेष्ठलाई पार्टीले रोज्ने निर्णय लिए काउचा बाहिरिने छिन् ।

मधेसी कोटाबाट पुरुषको १ नम्बरमा नाम रहेका निधि छनोट भए चार जना महिलाले अवसर पाउनेछन् । नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सांसद बन्ने पक्कापक्की छ । निधि छनोटमा नपरे मधेसी कोटाबाट थप एक महिला सांसद हुनेछन् । दलिततर्फ ५ जनाको प्रतिनिधित्व हुनेछ । यसमा पुरुषतर्फ सहमहामन्त्री परियारलाई सांसद बनाउने निर्णय पार्टीले लिए चार महिला सांसद हुनेछन् । दलितबाट महासनाई नेपाली, शान्ति विक, रूपा विक र सीता मिजार निर्वाचित हुने निश्चित छ । परियारलाई पार्टीले नरोजे महिला दलित क्लस्टरकी विष्णुमाया परियार सांसद हुनेछिन् ।

मुस्लिमतर्फ कम्तीमा एक जनाको प्रतिनिधित्व गर्नुपर्नेछ, त्यसमा सहमहामन्त्री मन्सुर छानिए मुस्लिम महिलाको प्रतिनिधित्व शून्य हुनेछ । मन्सुर रोकिए जावेदा खातुन जागा सांसद बन्नेछिन् । थारूबाट कल्पना चौधरी र बिनाकुमारी थनेत निर्वाचित हुने प्रबल सम्भावना छ । थारू पुरुषतर्फ योगेन्द्र चौधरी १ नम्बरमा रहे पनि उनलाई पार्टीका नेताहरूले प्राथमिकता दिएका छैनन् । उनी छनोट भए थारू महिलाको प्रतिनिधित्व घट्नेछ । कान्तिपूरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार