आमा बन्ने सही उमेर कति हो ? खासमा भन्ने हो भने यो अति नै व्यक्तिगत प्रश्न हो । चिकित्सकीय रूपमा हेर्ने हो भने प्रत्येक महिलाको आफ्ना भिन्न भिन्न समस्या हुन्छन् । तर भारतकी स्त्री रोग विशेषज्ञ डा. नन्दिनी पालशेतकरका अनुसार आमा बन्ने सबैभन्दा राम्रो उमेर २५–३५ वर्ष हो ।
उनले भनिन्, ‘३५ वर्षको उमेरपछि आमा बन्न धेरै कठिनाइ हुन्छ । त्यसैले २५ देखि ३५ वर्षको बीचमा दश वर्ष उपयुक्त समय हुने गर्छ । ३५ वर्षको उमेर पछि गर्भवती हुन असाध्यै गाह्रो हुन्छ । हिजोआज यसै पनि ढिलो गरी विवाह हुन थालेको छ ।
डा. नन्दिनी पालशेतकर भन्छिन्, ‘केटीहरू धेरै होसियार हुनुपर्छ । उनीहरूले आफ्नो प्रजनन क्षमता परीक्षण गरिराख्नु पर्छ । एएमएच (एन्टी मुलेरियन हर्मोन) नामको एउटा परीक्षण छ जसले अण्डाको संख्या दर्साउँछ । यदि यो कम छ भने जोखिम छ । त्यसैले केटीहरु होसियार हुनुपर्छ ।’
नागपुरका प्रख्यात स्त्री रोग विशेषज्ञ डा. चैतन्य शेम्बेकरका अनुसार आमा बन्ने उपयुक्त उमेर २५ देखि ३० वर्ष हो । उनी भन्छन्, ‘हामीकहाँ आइभिएफ गर्न आउने बिरामीको ओभेरियन रिजर्भ ३० वर्षको उमेरसम्म कम हुने गर्छ । ३२ वर्षको उमेरसम्म त त्यो असाध्यै धेरै कम हुन्छन् ।’
यस्तै, डा. नन्दिनी पालशेतकर भन्छिन्, ‘अहिले (ओभेरियन एजिङ (डिम्बाशयको बुढ्यौली) ठूलो समस्या हो । मेरो क्लिनिकमा आउने करिब ३० प्रतिशत केटीमा यो समस्या छ । बिहे ढिलो हुन्छ, त्यसपछि केही समय पर्खिएर बच्चा जन्माउने निर्णय गर्छन् । हुन त आजकल अण्डा फ्रिज गर्ने विकल्प पनि छ, जसलाई धेरै केटीहरूले स्वीकार गरिरहेका छन् । तर यो अपवाद हो । मलाई लाग्छ २५ देखि ३५ वर्ष आमा बन्ने सही उमेर हो ।’
डा. चैतन्य शेन्बेकरका अनुसार अण्डा फ्रिज गर्ने विकल्प धेरै व्यावहारिक छैन । उनी भन्छन्, ‘हुन त आजकल अण्डा फ्रिज गर्ने चलन धेरै बढेको छ । यसका लागि धेरै ठूला कम्पनीहरूले बीमा उपलब्ध गराउँदै आएका छन् ।’
चैतन्य शेन्बेकरका थप्छन्, ‘यस्तो अवस्थामा डिम्बाशय मात्र होइन महिलाको उमेरको पनि ख्याल गर्नुपर्छ । जतिजति उमेर बढ्छ, त्यति नै समस्या पनि बढ्छन
। कम उमेरमा सहने क्षमता बढी हुन्छ ।’
प्रसवलाई महिलाको दोस्रो जन्म भनिन्छ किनभने गर्भावस्थाका बेला मधुमेह र रक्तचापजस्ता समस्या देखिने गर्छन् । शेन्बेकर भन्छन्, ‘यदि तपाईंले छिट्टै विवाह गर्नुहुन्छ र छिट्टै बच्चा जन्माउनुहुन्छ भने यी समस्याबाट बच्न सक्नुहुन्छ ।’
बच्चा जन्माउन ढिलाः
विगत केही दशकमा, वैज्ञानिकहरूले महिलाको पाठेघरमा अण्डाको संख्या उमेरसँगै घट्दै गएको पाएका छन् ।
पुरुषहरूले प्रतिदिन लाखौं शुक्रकिट बन्छन् जबकी महिलामा अण्डा हुन्छन् । कुनै बालिका जन्मिँदा नै उनीसँग १० लाख अण्डा हुन्छन् । महिनावारी भएपछि यो संख्या ३ लाख हुन्छ । ३७ वर्ष आइपुग्दासम्म यो संख्या २५ हजार हुने गर्छ र ५१ वर्षसम्म यो हजारमा झर्ने गर्छ । यीमध्ये ३ सय देखि ४०० अण्डाको मात्रै बच्चा दिने सम्भावना हुन्छ ।
उमेरसँगै अण्डाको संख्या घट्दै जाँदा क्रोमोजोमको गुणस्तर र अण्डामा डिएनएको गुणस्तर पनि घट्छ ।
केटीहरूको महिनावारी १३ वर्षको उमेरमा सुरु हुन्छ । यस्तै, ३३ वर्षको उमेरसम्म अण्डाको संख्या कम हुने आशंका हुन्छ । रजनोवृत्तिको आठ वर्षअघि धेरैजसो महिलाले आफ्नो प्रजनन क्षमता गुमाउने गर्छन् ।
अमेरिकी प्रसूति रोग विशेषज्ञ एन्ड्रिया जुरिसिकोभाले एउटा अनुसन्धान गरिन्, जसअनुसार अण्डाशयमा अण्डाको संख्या आनुवंशिक अवस्थामा निर्भर हुन्छ । यद्यपि, अण्डाको संख्या महिलाहरूको जीवनमा आउने परिवर्तनहरूमा पनि निर्भर हुन्छ । यति मात्र होइन, यसको संख्या विषाक्त रसायनसँग सम्पर्क र तनावको स्थितिमा पनि निर्भर हुन्छ ।
संख्यासँगै अण्डाको गुणस्तर पनि एक महत्वपूर्ण पाटो हो र उमेरसँग यो गुण कम हुँदै जान्छ ।
क्रोमोजोमले पनि प्रजननमा महत्त्वपूर्ण भूमिका खेल्छ । शोधकर्ताका अनुसार क्रोमोसोम असामान्यता भए पनि प्रजननमा समस्या हुन्छ । वास्तवमा, क्रोमोसोममा केही समस्या हुने गर्छन् ।
ती लगभग सबै महिलामा हुन्छन् तर युवा महिलामा यो कम हुन्छ जबकी उमेर बढेसँगै यो बिग्रने सम्भावना बढ्ने गर्छ ।
क्रोमोजोम सम्बन्धि समस्याको अर्थ महिलाले बच्चा जन्माउन सक्दैनन् भन्ने होइन, तर यस्तो अवस्थामा महिनावारीको समयमा उत्पादन हुने अण्डाले स्वस्थ बच्चा दिने सम्भावना कम हुन्छ ।
सामाजिक प्रवृत्ति
महिलामा अलि उमेर भएपछि आमा बन्ने प्रवृत्ति बढेको भए पनि यो सामाजिक अवस्थाबारे डा. चैतन्य शेम्बकर बताउँछन्, ‘आजकाल २५ वर्षको उमेरमा विवाहको बारेमा सोच्दैनन्, तेस्रो दशकमा विवाह गर्छन् र त्यसपछि आफूलाई मन लागेको बेलामा बच्चा जन्माउँछु । उनीहरुलाई लाग्छ कि बच्चालाई जन्म दिने हिसाबले ३० वर्ष त सानो उमेर हो ।’
विशेषज्ञलाई विश्वास गर्ने हो भने आमा बन्ने निर्णय जीवन परिवर्तन गरिदिने ठूलो निर्णय हो र यदि यो सही समयमा लिने हो भने हरेक तरिकाले जीवन सुखद हुनसक्छ ।
बीबीसी
फेसबुक प्रतिक्रियाहरु