आज विनिताको भुईंमा खुट्टा छैन । खुसीले फुरुङ्ग छिन् । वर्षौंपछि उनी धित मरुञ्जेल बुबाको छातीमा लुटुपुटु हुनेछिन् । बुबा कतिबेला आइपुग्छन् ? विनिता अधैर्यसाथ पर्खिरहेकी छन् । उनलाई त विद्यालय जान नपरे पनि हुन्थ्यो भन्ने लागिरहेको छ । तर कसलाई भन्ने ?
पाँच वर्षअघि, ठ्याक्कै आजकै दिन । बुबा मलेसिया गएका थिए । बुबा गएपछि घर कस्तो रित्तो । कस्तो शून्य । कस्तो सन्नाटा । वियोगको त्यो घडीमा उनी डाँको छाडेर रोएकी थिइन् । त्यसबेला उनी सानै थिइन् । बुबाले किन छाडेर गएका होलान् ? उनलाई थाहा थिएन ।
उनी सानै थिइन्, बुबाको काखमा खेल्न पाउँदा दङ्ग पर्थिन् । बुबाले काँधमा बोकेर डुलाउँदा मख्ख पर्थिन् । सुत्नुअघि बुबाले कथा सुनाउनुहुन्थ्यो । काखमा पल्टिएर कथा सुन्दा उनलाई कम्ता आनन्द आउँदैनथ्यो । उनलाई त लाग्थ्यो, ‘यो दुनियाँमा मेरो बुबाभन्दा प्यारो मान्छे अरू छैन ।’
तर एकदिन अचानक बुबाले घर छाडे । घर रित्तो भयो, बुबासँग उनलाई कति खेल्नु थियो, कति चल्नु थियो, कति घुर्की लगाउनु थियो ।
‘विनिता’ आमाको आवाजले उनी झस्किइन् । आमा खाना पस्किंदै थिइन् । ‘होइन, स्कुल जान ढिला भएन,’ आमाले हप्काइन्, ‘लु छिटो आइज ।’
आमालाई पनि आज निकै धपेडी थियो । घरको सरसफाइ गर्नुपर्ने । मीठोमसिनो खानेकुरा तयार गर्नुपर्ने । बिहान उठेदेखि नै उनी घरधन्दाको काममा लागेकी थिइन् । साँझको खानामा मासु पकाउन भनेर मरमसला तयार गरिन् । नुहाइधुवाइ गरिन् । लुगाफाटो धोएर सुकाइन् । घर लिपपोत गरिन् ।
‘बाबा कतिबेला आइपुग्नुहुन्छ ?’ विनिताले मुखमा गाँस हाल्दै सोधिन् ।
आमाले जवाफ दिइनन् । उनी अरू नै काममा व्यस्त थिइन् । विनिताले आमासँग फेरि उही प्रश्न सोध्ने आँट गरिनन् । किनभने उनको परिवारमा दोहोरो कुराकानी कमै हुन्थ्यो । एक हिसाबले भन्नुपर्दा अनुशासित परिवार थियो, त्यो ।
विनितालाई आज विद्यालय जान मन नै थिएन । मन नलागेरै पनि उनी विद्यालय गइन् । पढाइमा ध्यान थिएन । मन चञ्चल थियो । कतिबेला विद्यालय बिदा हुन्छ भन्ने ध्याउन्न छ ।
‘विनिता जाउँ खेल्न’ सहपाठी अर्चनाले भनिन् । उनले झोलाबाट स्किपिङ निकाल्दै थिइन् । तर विनितालाई खेल्न मन भए पो ?
उनले अनायसै भनिन्, ‘भोलि म तिमीलाई चकलेट दिन्छु ल ।’
खेल्न जाने कुरा नगरी अचानक चकलेटको कुरा गर्दा अर्चना छक्क परिन् । उनले सोधिन्, ‘के ? किन चकलेट नि ?’
‘आज मेरो बुबा आउँदै हुनुहुन्छ,’ विनिताले आफ्नो खुसी लुकाउन सकिनन् । उनले फ्याट्ट भनिन् । ‘बुबाले विदेशबाट चकलेट ल्यादिनुहुन्छ, तिमीलाई पनि दिउँला है ।’
अर्चना र विनिता असाध्यै मिल्ने साथी थिए । उनीहरु विद्यालयमा नास्ता पनि बाँडेर खान्थे । घरमा मीठो मसिनो पाएको खानेकुरा आपसमा बाँड्थे । विनिताको बुबा आउने कुराले अर्चना पनि खुसी भइन् । उनीहरु दुवै खेल्न निस्किए ।
स्किपिङ खेल्दाखेल्दै विनितालाई कताकता पेट दुखेको महसुस भयो । कहिलेकाहीं पेट दुख्नु सामान्य थियो । एकछिन दुख्थ्यो र निको हुन्थ्यो । तर आज पेट दुखाइ निको भएन । बरु अरू बढ्दै गयो । उनी खेल्न सकिनन् । नजिकै थचक्क बसिन् । बस्नासाथ उनलाई केही चिसो भएको अनुभूति भयो । पिसाब पो भयो कि ? उनी झसंग भइन् । असहज मान्दै शौचालय गइन् ।
पिसाब फेर्दा रगत देखियो । सुरुमा त झसंग भइन् । यद्यपि महिनावारी हुँदा यसरी नै रगत बग्छ भन्ने कुरा सुनेकी थिइन्, पढेकी थिइन् । उनलाई लाग्यो, महिनावारी भएको हो ।
विद्यालयमा प्रजनन् स्वास्थ्यबारे पढाइ हुँदा महिनावारी के हो र कसरी वा कुन उमेरमा हुन्छ भन्ने थाहा पाएकी थिइन् । अघिल्लो हप्ता त हो, कुनै संस्थाका दिदीहरु विद्यालय आएका थिए । उनीहरुले पनि महिनावरी र किशोर चरणमा हुने परिवर्तनबारे छलफल गराएका थिए । उनीहरुले नै स्यानिटरी प्याड पनि बाँडेका थिए ।
उनले अर्चनालाई प्याड मगाइन् । जानी नजानी लगाइन् । पेट दुखिरहेकै थियो । तर, उनलाई खास डर थिएन ।
विद्यालय छुटी भएपछि उनी हतारहतार घर पुगिन् । महिनावारी पीडाले होइन, बुबाको प्रतीक्षाले उनलाई बढी छटपटी बढाएको थियो । बुबा अझै घर आइपुगेका थिएनन् । उनी केही खिन्न भइन् ।
‘आमा मलाई महिनावारी भयो,’ आमालाई उनले खुसुक्क भनिन् । महिनावारी भएको बेला पोषिलो खानेकुरा खानुपर्छ, आराम गर्नुपर्छ भनेर उनले सुनेकी थिइन् । घरमा आफूलाई पनि त्यस्तै व्यवस्था गरिदिन्छन् भन्ने उनलाई लागेको थियो । तर त्यसो भएन ।
‘हँ’ आमा झस्किइन्, ‘त्यसो भए पख..पख ।’ विनिता नास्ता खान भान्सा छिर्नै लागेको देखेर आमाले रोक्दै भनिन् । विनिता रोकिइन् । आमाले उनलाई अलग्गै बस्न भनिन् । यस्तो बेला भान्सामा जान, खानेकुरा छुन, पूजापाठ गर्न हुँदैन भनियो ।
‘किन र आमा ?’ विनिता छक्क परिन् । अरूबेला त उनी आज्ञाकारी भएर आमाले भनेको सबै खुरुखुरु मान्थिन् । तर यसपालि भने उनलाई आमाको कुरा चित्त बुझेन । उनको प्रश्नको कुनै जवाफ थिएन आमासँग । उनले विनितालाई पुलुक्क हेरिन् र मायालु भाषामा भनिन्, ‘यस्तो बेला सबै बार्नुपर्छ । छोइछाइ गर्नुहुन्न ।’
त्यसपछि विनितालाई अलग्गै कोठामा राखियो । त्यो कोठामा एक्लै बस्नुपर्दा उनलाई एकदमै नरमाइलो लाग्यो । उनलाई आमाले त्यहीं खाना ल्याइदिइन् । त्यहीं सुत्ने व्यवस्था गरिदिइन् ।
साँझ पर्ने बखत बुबा घरमा आइपुगे । बुबालाई देख्नासाथ उनलाई दौडँदै गएर अँगालो हाल्न मन लाग्यो । बुबाको शरीरमा लुटुपुटु गर्न मन लाग्यो । सानो छँदा जस्तै बुबाको काँधमा चढ्न मन लाग्यो । बुबाको जुँगा तानिदिन मन लाग्यो । तर, उनलाई त्यसो गर्न दिइएन ।
बुबाले ठूलाठूला झोलामा के ल्याएका थिए ? उनले खोतल्न पाइनन् । बुबालाई न भेट्न पाएँ, न छुन पाएँ । कस्तो नरमाइलो !
बुबालाई आफूले लेखेको कथा सुनाउने, आफूले जितेको मेडल देखाउने कति रहर थियो । तर आज त्यो सबै पूरा हुन पाएन । एकातिर महिनावारीको पीडा थियो । त्यसमाथि बुबासँग उन्मुक्त रमाउन नपाउँदाको अर्को पीडा ।
घरमा एक किसिमको उल्लास थियो । छिमेकीहरु आएका थिए । तर उनी घरको रमझममा सामेल हुन पाइनन् । एउटै कोठामा कोचिएर पट्यारलाग्दो क्षणहरु बिताइरहिन् ।
रातभर उनलाई छटपटी भइरह्यो । राम्ररी निदाउन पाइनन् । उनले आफ्नो खुसीलाई बन्धकी राख्नुपर्यो । आफूले आफैंलाई खुम्च्याएर बस्नुपर्यो । पाँच वर्षपछि बुबाको आत्मीय र निकट अनुभव गर्नबाट विमुख भइन् । यतिबेला उनले आफैंप्रति गुनासो गरिन् । महिनावारी हुँदा पनि कस्तो विभेद भोग्नुपर्ने ? बित्थामा छोरी भएर जन्मिएछु ? उनको मन पोलिरह्यो ।
फेसबुक प्रतिक्रियाहरु