सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शङ्कास्पद मृत्यु भएको घटनामा सुब्बाकुनाका प्रहरी सहायक निरिक्षक (असई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको छ । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् ।
प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी सहायक निरिक्षक धामीविरुद्ध किटानी जाहेरी दिइएको परिवारले जनाएका छन् । शुक्रबार साँझ वीरेन्द्रनगर भित्रिने प्रवेशद्वार सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर उनलाई कुटपिट गर्दा उनको मृत्यु भएको उनीहरूको आरोप छ ।
जाहेरीमा भनिएको छ, ‘भे १ क ९२२ को मिनीट्रकका सह चालक तिलक शाही पूर्व चिनजानका मानिस समेत भएकाले निजका साथमा लागी नेपालगञ्ज तर्फ गएको सो ट्रकमा खुद्रा समान लोड गरी सुर्खेत तर्फ फर्कने क्रममा सुब्बा कुना आए पुगेको समयमा हमाल सवार गाडी रोकी चौकीमा इन्ट्री गर्न गएको समयमा नानाभाती गाली गलौज गरी गाडीका कागजात माग गरी गाडी चौकी भित्र हाल्न लगाइ ड्राइभरले गाडी भित्र हाली निज सहचालक तिलक शाहीलाई कुटपिट गरेपछि मृतक हमालले ड्राइभरलाई किन पिट्नु भयो ? भनेर सोध्ने क्रममा निज शेरसिंह धामीले जबरजस्ती सडक विभाजनको गेट भित्र लगेका थिए । त्यहाँ हमाललाई निल डाम र मरणासन्न हुने गरी कुटपिट गरेको ड्राइभर तिलक शाही र मृतक हमाल समेतको भिडियो बनाए । त्यस लगत्तै अर्को आउँदै गरेको ट्रकमा असई शेरसिंहले मृतक हमाल र ड्राइभर शाहीलाई बाँगेसिमलसम्म पुर्याइदिनु भनी गेट बाहिर पठाएको हो ।’
दर्ता गराइएको जाहेरीमा प्रहरीको कुटाइबाट नै हमालको मृत्यु भएको दाबी गरिएको छ । मृत्यु अघि हमालले आफ्नो संवेदनशील अङ्गमा समेत कुटपिट गरी म असक्त भएको बताएको पनि जाहेरीमा उल्लेख छ । वीरेन्द्रनगरकै चाइना पुल पुग्दा अन्य सबै जना गाडीबाट निस्कँदा उनी निस्कन सकेनन्,’ जाहेरीमा भनिएको छ, ‘त्यसपछि उनलाई गाडीभित्रै सुताइ थप सामान ट्रकमा लोड गरिसकेपछि गाडीमा पुग्दा हमाल बेहोस अवस्थामा भेटिए । हतारमा सुर्खेत अस्पताल भर्ना गर्दा अस्पतालले मृत्यु भएको घोषणा गरेको हो ।’
फेसबुक प्रतिक्रियाहरु