काठमाडौं । ‘श्रीमान् बितेपछि अभाव, एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो । एक मनले भन्थ्यो, यस्तो जिन्दगी बाँचेर के काम मर्दिन्छु बरु । अर्को मनले सम्झाउँथ्यो, ती सातवटा लालाबालाको के अवस्था हुन्छ ? फेरि अर्को मनले भन्थ्यो, बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन् मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नि । तर फेरि अर्को मनले सम्झाउँथ्यो नानी, जन्म दिनु र आमा हुनु यी दुई फरक कुरा हुन् ।’
आमाको आवरणमा प्रस्तुत भएर मनोज गजुरेल जब यी पंक्तिहरु बोलिरहेका थिए, उनी स्वयंका आँखा रसाइरहेका देखिन्थे । साडी, चोली लगाएर, कपाल बाटेर, सानो ब्याग च्यापेर जसरी मनोज गजुरेल ‘आमा’ बनिरहेका थिए, यस्तो लाग्थ्यो उनीभित्र वास्तवमै आमाको भाव पैदा भएको छ । त्यसक्षण उनले आफूलाई पुरुष होइन, आमाकै रुपमा अनुभूत गरे होलान् ।
एउटा पुरुष, जो पितृसतात्मक समाजमा हुर्किएका छन्, उनले आफूलाई आमामा रुपान्तरण गर्दा मनमा कस्तो हलचल पैदा गरिरहेको थियो होला ? मनोज गजुरेलकै शब्दमा-
आमाको अवधारणा
मेरो विज्ञताको विषय र रुचिको विषय कलाकारिताको विषय नै क्यारिकेचर हो । त्यसकारण नयाँ र फरक-फरक पात्रहरु खोज्नु र त्यसमाथि अनुसन्धान गरेर न्याय दिएर सूचना प्रस्तुत गर्नु मेरो पेसा भएको हुँदा नयाँ पात्र खोजिरहेको थिएँ ।
म ती सारा कथा व्यथाको प्रत्यक्षदर्शी हो । जसकारण मैले त्यसमा धेरै अभिनय गरिरहनुपरेन । मैले त्यहाँ डायलग बोलिरहँदा पनि आमाले भोगेका कुरा हाम्रो शरीरको रक्तसञ्चारमा रगत प्रवाह भएजसरी प्रवाह भइरहेको थियो । पूर्ण रुपमा मैले आमा हुनको लागि कुनै नाटक गर्नुपरेन ।
राजनीतिक, सामाजिक, पोलिटिकल, नन्-पोलिटिकल, अन्तर्राष्ट्रियदेखि लिएर धेरै पात्रको भूमिका निभाएपछि अब के गर्ने भन्ने दिमागमा सधैं चलिरहन्थ्यो । आयोजक टिम सिस्नुपानीले छोरी शीर्षकमा गर्ने प्रस्ताव गर्यो । हामीले विषयको बाँडफाँड गर्यौं । जो जे विषयमा अनुभवी र जानेको छ त्यसले सोहीअनुरुप गर्ने भन्ने कुरा भयो । सल्लाह हुँदा आमा भएर सन्देश दिन निकै राम्रो हुने भन्ने कुरा पछि म आमाको अवतारमा उत्रिएँ । मैले स्क्रिप्ट लेखे जहाँ मेरो टिमले पनि सघाएको छ ।
आमामा रुपान्तरण
प्रकृतिले हरेक मानिसलाई केही न केही स्त्रीभाव दिएको हुन्छ । पुरुषमा स्त्रीभाव र महिलामा पनि कतै न कतै पुरुषभाव दिएको हुन्छ । एउटा मैले मभित्र रहेको आन्तरिक रुपमा रहेको स्त्रीगुणलाई ल्याउन अलि सक्रिय गराएँ । अर्को भनेको मैले स्क्रिप्ट लेखिरहँदा आमासँगको नियमित बसाइ, कुराकानी, आमा शीर्षकमा कथा लेखिरहँदा आमासँगको अन्तरक्रियाले र म बेलाबखतमा आमाको हाउभाउ र आवाजको नक्कल गरेर जिस्काइरहने भएको हुँदा मलाई यी सबै कुराले सहयोग गर्यो ।
आमाको अनुभूति
स्वभावलै पनि कुनै पात्र बनिसकेपछि त्यसको न्याय गर्न अन्तरघुलित हुनुपर्छ । अन्तरघुलित हुने क्रममा मलाई मेकअप गरेर स्टेजमा जानुअघि पहिलोपटक आमाको अवतारमा महिलाको भूमिका निभाउन केही असहज भएको थियो । त्यो भन्दा पनि बढी त्यो पात्रको न्याय गर्न सकुँला या नसकुँला भन्ने एउटा अन्योलता थियो ।
तर जब मञ्चमा प्रवेश गरेपछि तब हामी कलाकारहरुको अरु विकल्प हुँदैन । ‘डु अर डाइ’ अर्थात् गर या मर भन्ने हुन्छ । त्यो हुँदा मसँग कुनै सोच्ने विकल्प हुँदैन । त्यसकारण स्टेजभित्र एउटा पाइला र अर्को पाइला स्टेजबाहिर हुँदा मभित्र भएका दुविधा र अन्योलतालाई क्लियर गरेर मैले आफूलाई पूर्ण रुपमा आमाको चरित्रमा ढालें ।
आमाको भाव
आमाको भोगाइ मैले बाल्यकालमा त्यति थाहा नपाए पनि किशोरावस्थामा प्रवेश गर्दा आमाको बोली, व्यवहार, भोगेका सुख र दुःख धेरै कुरा देखेर थाहा पाएँ ।
म ती सारा कथा व्यथाको प्रत्यक्षदर्शी हो । जसकारण मैले त्यसमा धेरै अभिनय गरिरहनुपरेन । मैले त्यहाँ डायलग बोलिरहँदा पनि आमाले भोगेका कुरा हाम्रो शरीरको रक्तसञ्चारमा रगत प्रवाह भएजसरी प्रवाह भइरहेको थियो । पूर्ण रुपमा मैले आमा हुनको लागि कुनै नाटक गर्नुपरेन । म आमा नै भएर आमाको बोलीमा आमाको विचार प्रकट गरिरहेको थिएँ । त्यहाँ मेरो विचार थिएन ।
पुरुष पन, आमा मन
त्यो एउटा आमाको चरित्र चित्रण गरिएको हुँदा म स्वभावैले त एउटा शतप्रतिशत आमा बन्न सक्दिन थिएँ । म नारी नभएको हुँदा म शतप्रतिशत आमाको अभिव्यक्ति त निभाउन सक्दिन थिएँ ।
तर पनि मैले संवादमार्फत बोलिरहँदा त्यसमा एउटा आमा त्यसमा पनि मेरो आमाको कथा चरित्रमा अभिव्यक्त गरें । त्यो कथामा अभिव्यक्त गरेको जत्तिकै मात्र दुःख त्यो मात्र भावनाको गहिराइ थिएन । त्यो भन्दा अझै बढी भावनाको अभिव्यक्त गर्न सकिन्थ्यो । अझै त्यो भन्दा बढी आमाभित्र पस्न सकिन कि भन्ने मलाई प्रस्तुति पछि लागेको छ ।
एउटा कलाकारले जुन पात्रको रुपमा आफूलाई प्रस्तुत गर्नुपर्ने हो, आवरण मात्र होइन मन र भावना पनि त्यही पात्रमा ढाल्नुपर्ने हुन्छ । अझ आमाको भूमिकामा अझै जिम्मेवार र गम्भीर भएर मैले प्रस्तुत हुनु थियो ।
आमा अनेक
प्रकृतिमा हामीले जे देख्छौं, जे सुन्छौं त्यो मात्र सत्य हुँदैन । हामीले आफ्नो आँखाले नदेखेका नभोगेका घटना पनि भइराखेका छन् । त्यस्तै, यी सम्बन्धका कुरा पनि सबै सम्बन्धलाई एकै हिसाबले हेर्नु हुँदैन । आमा सर्वोस्व हुन भनिरहँदा तीनै आमाबाट दःुख पाएका सन्तान पनि छन् ।
यता, बाबु नै सबथोक हो भनिरहँदा कतै सन्तान छोडेर आमालाई जिम्मा लगाई हिंडेका घटना पनि छन् । मेरो सन्तान मुटुका टुक्रा हुन् भनिरहँदा त्यही सन्तानले बाबुआमालाई काटेको मारेको घटना पनि छन् । त्यो हिसाबले सामाजिक पक्ष त हो । सम्बन्धले एउटा आमा छोरा छोरी, बाबु भन्ने नाता त हो । तर सबैमा त्यही सूत्र काम लाग्छ भन्ने हुँदैन ।
आमा महान्
जन्मदाता सबै हुन सक्छन् । तर आमा हुन त्याग, सम्पूर्ण, ज्यानै दिन पनि पछि नहट्ने हुन्छन् । आमा त्यो हो । जन्मदाता भनेको प्राकृतिक हिसाबले त हो । जन्मदाता हुनु र आमा बन्नु महान् चीज हो । त्यसमा पनि आमा हुनु चाहिं अझै ठूलो चीज हो जस्तो लाग्छ ।
जब म आमा बनें
एउटा कलाकारले जुन पात्रको रुपमा आफूलाई प्रस्तुत गर्नुपर्ने हो, आवरण मात्र होइन मन र भावना पनि त्यही पात्रमा ढाल्नुपर्ने हुन्छ । अझ आमाको भूमिकामा अझै जिम्मेवार र गम्भीर भएर मैले प्रस्तुत हुनु थियो । आमाको स्वर निकाल्न धेरै कठिन भइररहेको थियो ।
त्यही क्रममा कता-कता बोल्दाबोल्दै मनोज गजुरेल पनि निस्किरहेको थियो । त्यसलाई पनि सन्तुलनमा राख्नु थियो । गेटअपको कुरा गर्दा कति खेर मारवाडी झर्ला कि फुली खस्ला कि र अरु मैले लगाएको पोशाकमा समस्या आयो कि यी धेरै कुरामा ध्यान दिनुपर्ने भएकाले जति म पात्रमा घुल्नुपर्ने पर्ने हो त्यति घुल्न चाहिं सकिन मैले । तर आमा नै बनेर भावना पोख्ने मेरो शतप्रतिशत प्रयास चाहिं थियो ।
आमाको भूमिका
सबैको आ-आफ्नो भोगाइ हुन्छ । मेरो कुरा गर्नुपर्दा कति अव्यक्त भोगाइ छन्, जुन जगजाहेर छन् म त्यता जान चाहन्नँ । म अहिले दुई छोराछोरीको बुबा र आमा पनि भएर बसेको छु । त्यहाँ कति दुःख र पीडा छन्, सबै कुरालाई अभिव्यक्त गरेर छरपष्ट गर्नु कसैको हितमा पनि छैन ।
मैले मेरो आमाबाट सिकेको र म जस्ता लाखौं निम्न वर्गबाट उठेकाहरुको लगभग कथा उस्तै-उस्तै छ । आमाले बालबच्चाको लागि एउटा त्याग, समर्पण र आफूभन्दा माथि राखेर सन्तानलाई हेर्छन् । त्यो शक्ति तुलनात्मक रुपमा बुबामा भन्दा आमामा बढी हुन्छ । जुन थोरै मात्रामा मात्र आमा भन्दा बढी बुबाले हेर्ने हुन्छ । त्यसैले सबै सूत्रमा यो लागु हुँदैन । कहीं कतै यो एउटा अपवाद हुन सक्छ । अपवाद बाहेक आमा भनेको सर्वस्व हुन्, सर्वोच्च हुन् ।
फेसबुक प्रतिक्रियाहरु