नागरिक रैबार/बाजुरा १८ जेठ।बडीमालिका नगरपालिकाले आईतबार पनि कार्यालयको कामकाज संचालन गर्ने निणर्य गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने निणर्य गरेको भएपनि बडीमालिकाले भने उक्त दिन समेत कार्यालयको कामकाग गर्ने निणर्य गरेको हो ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरु आईसकेपछि पदभार ग्रहण संगै आज बसेको पहिलो कार्यपालिकाको बैठकले सरकारले तोकेको आईतबारको दिनको सार्वजनिक विदाले नगरपालिकाको काममा प्रत्यक्ष असरपर्ने भन्दै सो दिन सार्वजनिक विदा नदिने निणर्य गरेको नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।
सार्वजनिक विदा गर्ने सरकारको निणर्यले विद्यालयको पठनपाठन, स्वास्थ्य संस्थामा उपचार गर्न आउँने विरामी र कार्यालयको कामकाज प्रभावित हुने भएपछि २३ गतेबाट लागू हुने गरी आइतबारदेखि शुक्रबारसम्म साविककै समयमा कार्यालय र विद्यालय सञ्चालन गर्ने निणर्य गरेको नगर प्रमुख खड्काको भनाई छ ।
नगरपालिकामा आज बसेको कार्यपालिकाको पहिलो बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै नगरपालिकाले भर्खरै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ मा पालिकाको निर्वाचनमा खटेर भयरित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुरक्षाकर्मी, कर्मचारी र मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
त्यस्तै नगरपालिकाका आधिकारिक निर्णयहरू वक्तव्य सार्वजनिकीकरण प्रयाेजनका लागि बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायलाई नगर प्रवक्ता ताेकेको छ । यस अघि जगन्नाथ गाउँपालिकाले पनि आईतबारको विदा कटौति गरेर साविककै समयमा कार्यालय संचालन गर्ने निणर्य गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु