‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणी पौडेल । ताप्लेजुङका भरतमणीले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै बिषयलाई दर्शकले अत्याधिक रुचाए ।
शनिबार प्रशारण भएको शोमा भरतमणीले पूर्व यूवराज पारस शाहको अभिनय गरे । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणीको अहिले चौतर्फी प्रशंसा पनि भैरहेको छ ।
डेढ बर्षदेखिको कोशिश
पारस शाह बन्नका लागि भरतमणीले डेढ बर्ष अगाडि नै सोचेका थिए । तर, कुनै पनि पात्रको चरित्र निर्वाह गर्नका लागि पहिले आफूमा निपुर्णता आउनुपर्ने वुझेका भरतले कमेडी च्याम्पियनको स्टेज पाएपछि मौका गुमाउन चाहेनन् । उनले भने–‘म एउटा राम्रो स्टेजको पर्खाइमा थिएँ । कमेडी च्याम्पियनको स्टेज भन्दा अर्को उत्कृष्ट ठाउँ नै थिएन । यसैले, यही स्टेजमा पारस शाहको अभिनय गरेको हुँ ।’
भरतले पारसको हाउभाउ र बोली दुरुस्तै उतार्नका लागि सुरुमा उनका अन्तरवार्ताहरु हेरेका थिए । उनले भने–‘मैले उहाँको बोल्ने, हिड्ने, नाच्ने सबै शैलीहरुलाई सुक्ष्म रुपमा अध्ययन गरेको थिएँ । पारस शाह यूवराज हुँदा र अहिले खासै बदलिनुभएको छ भन्ने मलाई लाग्दैन । सायद, त्यो समयको भिडियो सार्वजनिक नभएर पनि धेरैलाई यस्तो लागेको हुनसक्छ ।’
पारस शाहको लबज निकाल्न भने समय लागेको भरत बताउँछन् । अरु, नेताहरुको जसरी उनले अभ्यास गर्थे, पारस शाहको पनि त्यसरी नै अभ्यास गरे । सुरुमा आफूले पारसको स्वरमा बढी ध्यान दिएको भरतमणी बताउँछन् ।
भरतमणी आफूले कहिले पनि स्टेजमा कोशिश नगरेको बताए । उनले भने–‘म स्टेजमा गएर कोशिश गर्न नै चाहन्नँ । कहिलेकाही आफूले उत्कृष्ट प्रस्तुति दिन खोज्दा त्यो कोशिश जस्तो भैदिन्छ ।’
भरतमणीले फाइनलमा प्रवेश गर्नु पूर्व पारस शाहको चरित्र निर्वाह गरेपछि धेरैले उनलाई ‘शक्तिशाली अस्त्र’ प्रयोग गरेको भनेर प्रतिक्रिया दिइरहेका छन् । तर, भरतको प्रस्तुतिको ट्रेलर मात्र सार्वजनिक हुँदा कतिपयले उनलाई राजपरिवारको खिल्ली उडाउन खोजेको भनेर आरोप समेत लगाएका थिए । तर, पुरा कार्यक्रम प्रशारण भएपछि भने भरतले प्रशंसा नै प्रशंसा पाएका छन् । उनले भने–‘सायद, मेरो स्ट्यान्ड अप कमेडी हेरेपछि पूर्व यूवराज पारस शाह पनि खुशी हुनुहुन्छ होला ।’
म स्टेजका नयाँ कुरा कोशिश गर्न चाहन्नँ
भरतमणी आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् । उनी, सामाजिक संजालमा टिप्पणी भए जस्तो आफूले मुख बङ्ग्याएर अभिनय नगरेको बताउँछन् । उनले भने–‘सबै कुरा क्यारिकेचरको मात्र होइन । मैले प्रस्तुत गरेका बिषयलाई दर्शकले मन पराउनु भएको छ । मसँग पैसा छैन । तर, पनि देश तथा विदेशबाट मेरो प्रस्तुति मन पराएर दर्शकले भोट गरिदिनुभएको छ । मैले, उत्कृष्ट २४ मा पुगेपछि हरेक साता वेष्ट गर्ने कोशिश गरेको छु । कुनै साता मेरो प्रस्तुति तल त कहिले माथि भयो होला । तर, मैले एकनाशले सबै कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने कोशिश गरिरहेको छु ।’
भरतमणीले कमेडी च्याम्पियनको स्टेजमा नयाँ कुरा कोशिश गर्न नचाहने पनि बताए । उनले भने–‘यो एउटा प्रतिस्पर्धा हो । जहाँ, सबै जना जित्छु भनेर नै आएका छन् । मैले, त सुरुमा नै यो शो जित्नका लागि आएको बताएको थिएँ । मलाई लाग्छ यो शो मैले नै जित्छु । यसैले, यहाँ जोखिम मोलेर काम छैन । म जुन चिजका लागि स्टेजमा गएको हुन्छु, सोही चिज देखाउने नै मेरो कोशिश हुन्छ । शोमा दर्शकलाई हसाँउनुपर्छ, मैले त्यही गरिरहेको छु ।’
विक्की दाईको कोशिशलाई सम्मान गर्छु
शनिबार भरतमणीसँगै अर्का प्रतियोगी विक्की अग्रवालले पनि प्रस्तुति दिएका थिए । विक्कीले, ‘कमेडी च्याम्पियन २’को स्टेजमा ‘पेन्टोमाइम’ अभिनय गरेका थिए । भरतमणी विक्कीले गरेको कोशिशलाई आफूले सम्मान गर्ने बताउँछन् । उनले भने–‘विक्की दाई र मेरो आ आफ्नै शैली छ । उहाँले गर्नुभएको कोशिशलाई म उच्च सम्मान गर्छु । बाहिर विक्की दाई र मेरो बारेमा के कस्ता कुरा भएका छन् भन्ने हामीलाई खासै थाहा छैन । हामीले प्रस्तुत गरेका कुराहरुलाई कसरी लिने भन्ने दर्शकको कुरा हो । यसमा हामी स्पष्ट छौं ।’
फेसबुक प्रतिक्रियाहरु