सुर्खेत– अत्यधिक रक्तश्राव भएपछि दैलेखबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी महिलाको उद्दार गरिएको छ ।दैलेखको पश्चिम आठबीस नगरपालिका वडा नम्बर ९ छेपाडीकी २५ वर्षीया जुना विक अत्यधिक रक्तश्रावका कारण सिकिस्त भएसँगै २० घन्टापछि बुधबार उद्दार गरिएको हो ।
‘हिजो नै हेलिकोप्टरमार्फत उद्दार गर्ने तयारी थियो तर मौसम खराबीका कारण हुन सकेन’, जुनाका जेठाजु प्रभाकुमार विश्वकर्माले भने, ‘नवजात शिशुको अवस्था सामान्य छ । बुहारीलाई छिट्टै निको भइदिए हुन्थ्यो ।’
जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा जुनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार थालिएको विश्वकर्माले बताए ।
मंगलबार मौसम खराबीका कारण हेलिकोप्टरमार्फत उद्दार हुन नसकेपछि जुनाका आफन्तले ३ घन्टा हिँडेरै ठाटीकाँध गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा स्टे«चरमा बोकेर पु-याएका थिए । प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उपचार नहुँदा २० घन्टापछि बुधबार उद्धार गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु