बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेसा अंगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए ।
कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना संक्रमितले ज्यान गुमाए । त्यही बिरामीको मृत्युले उनको जीवनमा कहिल्यै नमेटिने नमिठो छाप दिएको छ । लाख प्रयास गर्दा पनि बिरामीलाई जोगाउन नसक्दाको पीडा त छँदैछ त्यसमाथि बिरामीका आफन्तले गरेको व्यवहारले झन् बढी पीडा दिएको छ ।
बिरामीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले डाक्टर र नर्सहरुमाथि हातपात गर्न थालेपछि सदीक्षासहित चिकित्सक र नर्सको टोली ट्वाइलेटभित्र लुकेर बसे । आक्रमणकारी त्यहाँ पनि जाइलागेपछि उनीहरुले ट्वाइलेटको झ्यालबाट बाहिर हामफालेर ज्यान जोगाए ।
कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवामा खटिँदा बिरामीको आफन्तबाट भएको यो व्यवहारले उनीलाई असह्यै पीडा दिएको छ ।
क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हाम्रो ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपीरहेको थियो । म रोइरहेको थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।
डा. चन्द्रप्रकाश साहुले मलाई हाम फाल्न फोर्स गरिरहनु भएको थियो । मलाई छाडेर पनि उहाँहरु हाम फाल्न सकिरहनु भएको थिएन । मलाई डा. साहुले झ्यालमा उचालेर राखिदिनुभयो । उनीहरुको आक्रोश थप बढ्दै गइरहेको थियो । ढोका नै फोडेर भित्र पस्न थालेपछि डा. शाहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हाम फाल्न बाध्य भयौं ।
अरुको ज्यान बचाउने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ ।
यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोवल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोवल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो । त्यसैले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्नु पर्छ ।
यही बिराेधमा नेपाल चिकित्सक संघले भेरी अस्पतालमा डाक्टर तथा नर्समाथि भएको आक्रमणलाई कालो दिनको घोषणा गरेको छ ।
डाक्टर तथा नर्समाथि भएको आक्रमणलाई आज एक दिन कालोपट्टी बाँधेर काम गर्न सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरको छ ।
नेपाल चिकित्सक संघले बिराट मेडिकल कलेज विराटनगरमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनाको एक हप्ता नबित्दै पुनः भेरी अस्पतालमा भएको दुःखद घटनाले संघ मर्माहत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ज्यान जोखिममा राखी बिरामीहरुको सेवामा समर्पित चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई दुव्यर्वहार र कुटपिट जस्ता अवाञ्छित क्रियाकलापहरूले असुरक्षित वातावरण हुँदै गएमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण गएको महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्तै नेपाल नर्सिङ संघले विज्ञप्ती जारी घटनाको विरोध गरेको छ ।
स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।
शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने विषयमा दृढ रहेको उल्लेख गरेको हो ।
गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’
बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।
गृह प्रवक्ता दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ ।
बलात्कार मुद्दामा सफाइ पाएका एमाले कार्यकर्ता रावतमाथि भेरी अस्पतालका नर्स कुटपिटको आरोप
अस्पतालका नर्समाथि कुटपिट भएको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्य कर्मचारीहरू यति बेला आन्दोलनमा उत्रिएका छन्।अस्पतालमा उपचार गराइरहेका एकजना आफन्तको मृत्यु भएपछि दाङका मानबहादुर रावतलगायतको समूहले अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेको आरोप लागेको छ।
नर्सहरूका अनुसार उनीहरूले नर्सका घाँटी थिचेका थिए। र बच्नका लागि केही स्वास्थ्यकर्मीहरूले एकतला माथिबाट हाम्फालेका थिए।दाङ तुलसीपुर उपमहानरपालिका–११ उरहरीनिवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।
त्यही विषयमा विवाद हुँदा मृतकका भाइ मानबहादुरलगायतको समूहले अस्पताल तोडफोड गर्दै नर्स तथा डाक्टरमाथि हातपात गरेका हुन्।
त्यसपछि चिकित्सक तथा नर्सहरूले काम गर्न नसक्ने भन्दै आत्म समर्पण गरेका तस्विरहरू पनि सार्वजनिक भएका छन्।
भेरीमा के भएको हो ?
कोरोना संक्रमित डिल्लीबहादुर रावत गम्भिर भएपछि भेरी अस्पताल लगिएको थियो। चिकित्सकहरूका अनुसार उनको अवस्था पहिलादेखि नै नाजुक थियो।
बिहीबार साँझपख बिरामीलाई धेरै गाह्रो भएपछि चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेका थिए।
तर मानबहादुरहरूले ‘हामीलाई नसोधी किन भेन्टिलेटरमा राखेको’ भन्दै चिकित्सकहरूसँग निहुँ खोज्न थाले। त्यसपछि विवाद बढ्दै जाँदा उनीहरूले आक्रमण गरेका थिए।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल मुख्यमन्त्री शंकर पोखरेलका भान्जी जुवाइँ हुन्। उनी र मुख्यमन्त्रीसँगको सम्बन्ध देखाउँदै मानबहादुरले सुरुदेखि नै अस्पतालका चिकित्सक तथा नर्सहरूलाई निकै दवाव दिँदै आएका थिए।
बाँके जिल्ला प्रहरीले मानबहादुरलगायत ३ जनालाई पक्राउ गरेको छ।अहिले भेरी अस्पतालका सबै स्वास्थ्यकर्मीहरूले आन्दोलन गरिरहेका छन्।
को हुन् रावत ?
मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्।
उनी ओली निकट मानिन्छन् र गृह जिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन्। रावत यसअघि सरकारी कर्मचारी पनि थिए। छ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए।
सुरुमा उरहरी गाउँविकास समितिमा उनी गाविस सचिव थिए। पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए।
अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनमथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्।
ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए। त्यसपछि रावतमाथि जवर्जस्ती करणी रोपमा लामो समय मुद्दा चलेको थियो। पछि उनलाई अदालतले सफाइ पनि दियो।
स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि अभद्र व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए।
त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए। तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले पनि उनलाई हटाएका थिए। त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका थिए।
‘पटक पटक उहाँको चरित्रमाथि प्रश्नहरू उठिसकेका छन्। बलात्कार, दुर्व्यवहारजस्ता आरोपहरू लाग्दै आएका छन् तर पनि पार्टीकै ठूला मान्छेहरूले उहाँलाई संरक्षण दिइरहनुभएको छ’ दाङका एक जना एमाले नेताले भने ‘हामीले त पहिलादेखि नै उहाँलाई कारबाही गर्न माग गर्दै आएका हौं।’
फेसबुक प्रतिक्रियाहरु