नागरिक रैबार
बाजुरा १२ चैत ।
बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले नगरमा सोचेजति काम पुरा गर्न सकिएको छैन् भन्नु भएकोे छ । नगरपालिकाको सभाहलमा आयोजित स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्रको स्थापना र संचालनका लागि स्थानीय विपत व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम समापन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
नगरसेवा क्षेत्रभित्रका सेवाग्राहीहरुलाई पर्न सक्ने आपतविपत व्यवस्थापनका काम गरिरहेको भएपनि अझै सोचेजती र जसरी हुनपर्ने हो त्यसरी व्यवस्थापन गर्न नसकिएको बताएका छन् ।
बुधबार सभाहलमा स्थानीय आपत्कालिन कार्यसंचालन केन्द्रको स्थापना गरेसँगै सो केन्द्र संचालनका लागि व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।
पदाधिकारी तथा सदस्यहरुलाई अभिमुखिकृत हुने गरी अब बडीमालिका नगरपालिकाका सेवाग्राहीहरुलाई आपत्विपतमा उचित व्यवस्थापन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सक्रिय भुमिका खेल्न अनुरोध समेत गरेका छन् ।
विपतको समयमा हुने सूचना प्रबाह तथा आपत्कालिन अवस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडि बढाउन सो केन्द्रको स्थापना गरिएको प्रशासनिक कर्मचारी वीरवहादुर विष्टले बताएका छन् ।
विपद्को समयमा पनि केन्द्रको कार्यसञ्चालनमा अवरोध सृजना हुन नपाओस् भनी विद्युत, सञ्चार जस्ता सुविधाहरुको बैकल्पिक प्रबन्ध सूचना तथा संचार लगायतका बिषयमा जिआइजेटको सहयोग रहेको छ । यो केन्द्रले सबै किसिमका विपद् घटनाहरुको सूचनाको जानकारी सबैले दिन र लिन सकिने व्यवस्था सम्बन्धी छलफल गर्न जिआईजेटका विज्ञ भुपमनी दाहालले सहजीकरण गरेका थिए ।
नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको सो अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका प्रायःसबै वडाका वडाअध्यक्ष नगरपालिकाका कर्मचारी वडा सचिव सुरक्षा निकायका प्रमुख गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी र पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन वीरबहादुर बिष्टले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु