होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कमाउन हिँडे, उतै हराए
देश/प्रदेश

कमाउन हिँडे, उतै हराए

  • नागरिक रैबार
कमाउन हिँडे, उतै हराए

वीरेन्द्रनगर — ‘ए परदेशी पर्खी आऊ भो घर
सुखदुःख यहीं गाउँमा बिताउँला
परदेशमा नगए हुन्न र ?’

पानीपँधेरो र वनपाखा गर्दा जाजरकोटको कुशे गाउँपालिकाकी वसन्ती परियारले यस्तै गीत गुन्गुनाउँछिन् । परदेशिएर बेखबर बनेका श्रीमान् खगेन्द्रलाई पर्खिएको ८ वर्ष बित्यो । ‘जिउँदै छन् कि कस्तो छन् केही अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘कोही परदेशी फर्किएको खबर सुने उनी पो घर आए कि जस्तो लाग्छ ।’

गाउँघरमा रोजगारी भएन । परदेशमा केही वर्ष मिहिनेत गरे राम्रो हुने ठानेर २०७० कात्तिकमा खगेन्द्र मलेसिया गएका थिए । गएको ६ महिनासम्म सम्पर्कमै रहेका उनी त्यसपछि बेखबर भए । ‘काखकी छोरी बोकेर म उहाँलाई खोज्न भनी जान खोजे तर सकिनँ,’ वसन्तीले भनिन्, ‘सकेजति धेरै ठाउँ खोजीका लागि पहल गरियो तर अहिलेसम्म केही खबर आएन ।’ उनलाई श्रीमान् एक न एक दिन फर्किएर आउँछन् भन्ने आशा छ । उनले भनिन्, ‘तेरो लोग्ने बाँचेको भए फर्किएर आउँथ्यो नि भन्नेहरू पनि छन्, एक दिन कसो फर्केर नआउलान् भनेर दिन काटिरहेकी छु ।’

विज्ञापन

सुर्खेतको लेकबेंसी नगरपालिका–१ जहरेका नवीन बुचाको अवस्था पनि खगेन्द्र जस्तै हो । कामका लागि भारत पसेका उनी बेखबर बनेको १४ वर्ष बित्यो । उनको पर्खाइमै बाबुको मृत्यु भयो । वृद्धा आमा मनकुमारीलाई एक पटक छोराको मुख हेर्ने धोको छ । ‘कमाउन भनेर गएको छोरो फर्किएर आएन,’ उनी भन्छिन्, ‘एकै पटक फर्किएर आइदिएको भए म बूढीको सास सजिलै जान्थ्यो ।’

नवीन र खगेन्द्र मात्रै होइन सुर्खेतका टेकबहादुर राना पनि २०४५ सालदेखि गुमनाम छन् । घरबाट उनी कमाउनका लागि भनी भारत हिँडेको ३८ वर्ष भयो । श्रीमान्कै पर्खाइमा तीन दशक बिताएर श्रीमतीको निधन भयो । आफू ३ वर्षको छँदा घर छाडेका बाबुलाई सम्झँदा हेमराजको मनमा प्रस्ट तस्बिर आउँदैन । उनलाई आफू सेना भएको खबर सुनाउन निकै मन छ तर बुवा गुमनाम भएका सम्झिँदा भक्कानिन्छन् ।

दैलेखको ठाँटकाँध गाउँपालिका–२ की मनसरा विष्टका श्रीमान् २०६३ साउनमा भारत पसेका थिए । उनी गएदेखि नै सम्पर्कविहीन छन् । द्वन्द्वको समय भएकाले माओवादी कार्यकर्ता घरमा लिन आउँदा नमानेका उनी केही महिना भारत जान्छु भनी हिँडेका थिए । ‘जाने बेलामा बुवासँग सल्लाह गरेर जानुभएको हो,’ श्रीमती मनसराले भनिन्, ‘मलाई त केही थाहा नै भएन, पछि गइसकेपछि पनि कहिल्यै कुरा भएन ।’ रोजगारीका लागि कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूबाट भारत पस्नेको लर्को बर्सेनि चल्छ । कमाउन पसेकाहरू केही समयपछि घर फर्कन्छन् । धेरै घर यस्ता छन्, जहाँका पुरुषहरू एक पटक निस्केपछि फर्केर आएका छैनन्, परिवारले फेरि आउने आस गरिरहेका छन् ।

कर्णाली प्रदेशका जिल्लाहरूबाट करिब ६० प्रतिशत जनसंख्या भारत तथा तेस्रो मुलुकमा रोजगारीका लागि जाने गरेको प्रदेश योजना आयोगको तथ्यांक छ । तर तीमध्ये कति सम्पर्कविहीन छन् भन्ने तथ्यांक कसै निकालेको छैन । खबर आए सम्पर्कविहीन भएकाहरूलाई खोज्न पहल गरिने कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐर बताउँछन् । ‘कतिपयलाई खोजेर पनि परिवारसँग पुनर्मिलन गराएका छौं,’ उनले भने, ‘कोही भने वर्षौंदेखि हाम्रो सम्पर्कमा पनि आएका छैनन् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै