होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरोमा पुरिएको एउटा बालापन
समाचार

पहिरोमा पुरिएको एउटा बालापन

  • नागरिक रैबार
पहिरोमा पुरिएको एउटा बालापन

हर रात सपनीमा ऐंठन हुन्छ
गाउँमा सायद पहिरो गयो कि
–विप्लव प्रतीक

सायद होइन । गाउँमा साँच्चिकै पहिरो गएछ विप्लव दाइ । सहरमा तपाईंलाई ऐठन हुँदा, गाउँमा पहिरो गएको अन्दाज गरेजस्तो मात्रै होइन । गाउँमा साँच्चिकै पहिरो गएछ । मेरो बाल्यकाल खसेको त्यो जमिन, पहिरोले बगाएर लगिसकेछ । मैलेजस्तै गाउँभरिका साथीहरूले दिनदिनै टेकी हिँडेको जमिन पहिरोले सोहोरेर लगिसकेछ कता हो कता । हाम्रा बचपनका समृतिहरू पोखिएको त्यो ‘सखुवा डाँडा’ मा अहिले डाँडा होइन, डर मात्रै बाँकी छ ।

 

विज्ञापन

घरबाट बढीमा पाँच मिनेट हिँडेपछि पुग्न सकिन्थ्यो सखुवा डाँडा । हामी गाउँका केटाकेटी, जो हिँड्न सक्ने भएपछि पहिलोपटक हिँडेर पुग्ने टाढाको ठाउँ त्यही सखुवा डाँडा हुन्थ्यो । गोठबाट गाईगोरु फुकाएर जंगल लैजाने बाटामै पर्थ्यो– सखुवा डाँडा । जंगल जाँदाजाँदै आमा–आपाले हामीलाई त्यही डाँडामा छोडेर जानुहुन्थ्यो । हामी त्यहाँबाट घर फर्कन्थ्यौँ, कि दिनभर खेलेर बस्थ्यौँ । साँझ आमा–आपा गाईवस्तु लिएर फर्केपछि सँगै घर फिर्थ्यौँ हामी ।

पानीघट्टजस्तो समय घुमिरह्यौ हाम्रै वरिपरि । त्यही समयको बुई चढ्दै हुर्कंदै गयौँ हामी । डाँडैभरि, हामीसँगै हुर्कंदै गइरहेका थिए सस्याना चिलाउने र सालका रूखहरू । चर्को घाम लाग्दा, तिनै रूखहरूको सियाँलमा बस्थ्यौँ । झरी पर्दा, ओत लाग्थ्यौँ । हुर्कँदो उमेरसँगै हरेक शनिबारका दिन हामी आफैं गाईवस्तु लगेर गेठालो जान थालिसकेका थियौँ । सखुवा डाँडाबाट नजिकै थिए– पाङ्ग्रा झ्याल, आँपे खोला र भर्लेनी पाखा । हाम्रो ठूलो गौचरन भन्नु तिनै ठाउँहरू थिए । जंगलमा गाईवस्तु छाडेर हामी भने सखुवा डाँडामा फर्केर बस्थ्यौँ ।

गाईवस्तुहरू नआउन्जेलसम्म त्यहीँ डाँडामा खेलिबस्थ्यौँ । विशेष शनिबारका दिन स्कुल बिदा हुनाले गाउँभरिका साथीहरू सबै गोठालोमा भेट हुन्थ्यो । हप्ता दिनमा एकपटक आमा–आपालाई गोठालो गर्न सघाएर पालो दिन्थ्यौँ । हामी सबैको भेट हुने थलो त्यही सखुवा डाँडा थियो । डाँडामा भेटिएर हामी हाम्रो इच्छाअनुसारका खेलहरू खेलिबस्थ्यौँ– छुईडुम, डन्डीबियो, भालेजुधाइ, गट्टी अन्य । कहिले झुम्रोको भकुन्डो बनाएर खेल्थ्यौँ । कहिले झगडा गर्थ्यौँ, रुन्थ्यौँ, हास्थ्यौँ, चिच्याउँथ्यौँ । हाम्रा चिच्याहट पर… भर्लेनी पाखामा ठोक्किएर आफैंतिर फर्की आउँथे । पारि पाखाबाट आफैंतिर फर्की आएको आफ्नै आवाज सुनेर रोमाञ्चित बन्थ्यौँ हामी ।

 

एक हिउँदे शनिबारको दिन थियो त्यो । बहिनी (दीपा) र म सधैँजस्तो गाईवस्तु लिएर जंगल गयौँ । गाईवस्तु जंगलमै छाडेर सखुवा डाँडामा फर्कियौँ । गाउँका अरू साथीहरू पनि जम्मा भए । सधैँको शनिबारझैँ दिनभर खेलेर बितायौँ त्यस दिन पनि । साँझ पर्दै गयो । पारि सुजने डाँडाबाट पहेँलो घाम ओरालो झर्दै थियो । चराहरूले साँझ परेपछिको भाका फेरिरहेका थिए । सबैजसो साथीहरू गाईवस्तु लिएर घर गइसकेका थिए । तर, हाम्रो घरको गाईगोरु चरनबाट फर्किएनन् ।

अत्यासलाग्दो त्यो साँझ, बहिनी र म मात्रै सखुवा डाँडामा बाँकी रह्यौँ । झमक्कै साँझ पर्दासमेत गाईगोरु नआएपछि बहिनी र म घर फर्क्यौँ । तर, घर पुग्नु मात्रै के थियो, गोठालो गएको हामीलाई बिनागाईगोरु फर्केको देखेपछि, आमाले घरमा बस्नै दिनुभएन । साँझको त्यो समय, अब गर्ने के ? पूरै झिसमिस भइसकेको थियो । गाईगोरु बारीमा निस्केर बाली खाइरहेका हुन सक्छन् भन्ने सस्यानो आशा बोकेर बारीबारी हेर्दै हिँड्यौँ । अहँ, केही गरी हाम्रा गाईगोरु भेटिएनन् ।

मलाई राम्रोसँग याद छ, त्यो साँझको आकाशमा सबेरै जून उदाएको थियो । ताराहरू पनि देखिन थालिसकेका थिए । अब त्यो जूनेलिमा हाम्रा अघि दुई विकल्प थिए । एउटा घर जाने र आमाको कुटाइ खाने । अर्को जंगल फर्किने र गाईवस्तु खोज्ने । हामीले दोस्रो विकल्प रोज्यौँ । जूनेलिमा अन्तरे बाजेहरूको भोटेबारीमा सस्यानो मकैका बिरुवाका पातहरू टल्किएका थिए । भोटे बारीका मकैका पातहरू छुँदैछुँदै तेर्सिएका हाम्रा पाइला, गैरीको पानीपँधेरो हुँदै उही सखुवा डाँडासम्म पुगेर रोकिए ।

आकाशमा जूनको उज्यालो भए पनि दिन थिएन त्यो । रातमा डर स्वाभाविक लाग्ने नै भयो । त्यसमाथि बाह्र, तेह्र वर्षका केटाकेटी थियौँ हामी । सखुवा डाँडा पुगेपछि पो अघिपछि गर्नै मानेनन् हाम्रा पाइला । सखुवा डाँडामा रोकिएर, चल्दै गरेको आफ्नै श्वाससमेत बन्द गर्दै गाईगोरुका आवाज सुन्थ्यौँ रातको सन्नाटामा । तर, कहीँ–केही आवाज नसुनिएपछि हतास् हुन्थ्यौँ । रात बिस्तारै छिप्पिँदै गइरहेको थियो । सखुवा डाँडा छाडेर अन्त जानै सकेनौँ । यता घर जाऊँ आमाको कुटाइ खाने डर, जंगल पसौँ रातको डर । हुन त सखुवा डाँडा आफैं जंगल थियो । डाँडैभरि रूखैरूख थिए । तर, हामीले सधैँ खेल्ने ठाउँ भएर होला, डर कम थियो । डाँडाका प्रत्येक ढुङ्गा, माटो, ठुटा र बुटासित चिनजान थियो हाम्रो । त्यस रात तिनैलाई साथी, आफन्त मानेर रात बिताउने सोच बनायौँ हामीले ।

रातमा, रातजस्तै सुनसान बस्न पनि डर लाग्नेरहेछ जंगलमा । सुस्तरी बोल्न पनि डरै लाग्ने । डरलाई जित्न, कि रातलाई छिचोल्ने गरी कराउन सक्नुपर्नेरहेछ । आफूभित्रको डर, आफ्नै चर्को आवाजले भगाएर लैजानेरहेछ परसम्म । कम्तीमा डर त्यहाँसम्म भाग्छ, जहाँसम्म हाम्रो आवाज पुग्छ । तर, रातभर के–के भनेर कराई बस्ने ? सुनसान जंगलबीचमा कसरी हल्ला गर्ने ? हल्ला गर्न पनि त आँट चाहिनेरहेछ एकान्तमा । अनेक डरको बीचबाट, खै कुन साहस बटुलेर कराएँ कुन्नि ! मेरो आवाज रातको शून्यता छिचोल्दै पाङ्ग्रा झ्याल, आँपे खोला र पारि भर्लेनी पाखामा ठोक्किएर आफैंसम्म आइपुग्दा मात्रै राम्ररी सुन्न सकेँ–

‘ओइजी ला…ला… !’

त्यसपछि धेरैपटक ओइजी ला…ला… भनेर करायौँ बहिनी र म दुवै जना । डर, रातको सन्नाटा चिर्दै हाम्रा आवाज जंगलैभरि, पाखैभरि फैलन्थे । तर, हराएका गाईगारुले हाम्रो आवाज सुन्न सकेनन् ।

रात झन्झन् छिप्पिँदै गइरहेको थियो । रातमा घरको सम्झना भए पनि, जाने साहस भए पो ! घर गए आमाको कुटाइ भेटिने डर, जंगल बसे रातको डर । आमाको कुटाइभन्दा जंगलै बस्न निको मानिसकेका थियौँ हामीले । रात झनै बलवान् थियो । घरीघरी आँपे खोलाको चिसो पानी बोकेर आइपुग्थ्यो हावा । शरीरमा न्यानो लुगासमेत नभएको हामीलाई रात कसरी काट्ने पिरलो छँदै थियो । बाघ–भालुको उस्तो डर नभए पनि, रातमा अरू जंगली जनावरसँगको डर पनि बेग्लै थियो । तर, घरमा आमाको डरको अघि अँध्यारो रात र जंगल नै प्रिय भए हामीलाई । हामीले रूखबाट खसेका पातहरू एकएक गरी जम्मा गर्‍यौं ।

सुकेका पातहरूले सस्यानो दुईओटा थाक बनायौँ । अब त्यही पात ओढ्ने, ओछ्याउने बनाएर दाजुबहिनीले रात बिताउने भयौँ । तर, मनमा डरले घर बनाइसकेपछि निद्रा किन लाग्थ्यो र ! जाडो वा डरले हुन सक्छ, मभन्दा सानो बहिनीले रातभर दाजु… दाजु भनी सानै स्वरले बोलाइरहिन् । मनलाई बेस्सरी गाँठो बनाएर, ‘नडरा बहिनी, म यहीँ छु’ भन्ने संकेत गर्थेँ सुकेका पातहरू चलाएर । मध्यरातमा घरीघरी गाईगोरु कराएको आवाज सुन्थिन् बहिनी र स्यानो स्वरले ओइजी ला… भन्थिन् । मनमा गाईगोरु मात्रै राखेर बसेपछि गाईगोरुको झझल्को हुनै नै भयो । खासमा बहिनीलाई भएको पनि त्यही थियो । बहिनी र मेरो ओइजी ला फगत रातको शून्यतामा कतै गएर हराइजान्थे । जाडो र डरका कारण शरीरमा उम्रिएका काँडाहरू गन्दै त्यस रात, रातभर बितायौँ हामीले ।

बिहान घर पुग्नुअघि नै हामीले थाहा पायौँ, हराएका हाम्रा गाईवस्तु अघिल्लै दिन आँपे खोलैखोला गएर बेंसी खेतमा पुगिसकेका रहेछन् । बेंसीको घरमा दुई दिदीहरू बस्ने भएकाले गाईगोरु सम्हाल्नुभएछ उहाँहरूले ।

हाम्रा बाल्यकालभरि पोखिएका यस्ता अनेकौँ सम्झनाहरूको साक्षी ‘सखुवा डाँडा’ अहिले पहिरोले लगिसकेछ । विप्लव दाइ ! सहरमा तपाईंलाई ऐठन हुँदा, पहिरो गएको अन्दाज गरेजस्तो मात्रै होइन । गाउँमा साँच्चिकै पहिरो गएछ । हाम्रो बाल्यकाल खसेको जमिन पहिरोले लगिसकेछ ।

 

एउटा निक्कै बूढो सखुवाको रूख थियो, सखुवा डाँडामा । जवान रूख त प्रशस्तै थिए सखुवाका । ती रूखहरू हामीसँगै हुर्किएका थिए । यहाँ प्रशस्तै सखुवाका रूख पाइने भएरै डाडाँको नामै ‘सखुवा डाँडा’ थियो । ती रूखलाई हाम्रा आपा पुस्ताले जोगाएर हामीसँगसँगै हुर्किन दिनुभएको थियो । ती सखुवाका रूख हामीसँगै जवान भए । बिस्तारै हामी छोरा पुस्तासँग अनेक लोभ, रहर, पाप र अपराधसमेत हुर्किंदै गए । लोभले मान्छेलाई कतिसम्म दास बनाउँदा रहेछन् भने, व्यवस्थाले वर्जित गरेको बाटामा समेत मान्छे नांगै हिँड्न थाल्छन् । सखुवा डाँडामा गएको पहिरो, यही नियतिको चपेटामा परेको एउटा उदेकलाग्दो प्रतिविम्ब हो, जसलाई स्वीकार गर्न कर लाग्छ अहिले ।

पहिरो जानुअघि सखुवा डाँडामा भएका रूखहरू बिस्तारै मासिँदै गए । रातारात रूख चोरी गरेर बिक्री गर्न थाले मान्छेले । कति रूख आवश्यकताले पनि काटिए । जुनसुकै कारणले मासिएको भए पनि प्रकृतिको दोहन भएको थियो त्यहाँ । केही वर्षअघि म आफैंले पनि सखुवा डाँडाका मेरा दौंतरी एकाध रूख काटेर घर बनाउँदा प्रयोग गरेको थिएँ । बाल्यकालमा जुन रूखका पात बटुलेर रात बिताएका थियौं, जुन रूख घाम लाग्दा सियाँल बनिदिएको थियो, जुन रूख पानी पर्दा ओत बनिदिएको थियो, समयक्रममा त्यसलाई चोट दिईदिई मारिदियौँ । त्यसले पुर्‍याएको क्षति हेरेर ऐठन मात्रै हुन्छ अहिले ।

कानुनले रूख काट्न हुन्न भने पनि घरायसी प्रयोजनका निम्ति रूख काट्नु सामान्य मानिन्थ्यो गाउँघरमा । सयौँमा एक–दुई रूख काट्दा प्रकृति र वातावरणमा खास ठूलो असर देखिँदैन पनि । तर, सखुवा डाँडामा पछिल्लो दस वर्षमा वन फँडानीजस्तै भयो । खासगरी अत्यधिक मात्रामा काठपात चोरी–निकासीका कारण डाँडा नाङ्गो भइसकेको थियो । निगरानी राख्नुपर्ने निकाय, जसको मौनताको परिणाम थियो त्यो । वातावरण शिक्षामा निरक्षर प्रायः हाम्रा आपा पुस्ताले जोगाइदिएका थिए रूखहरू ।

‘रूख काट्नु हुँदैन’ भन्ने बुझेका हामी साक्षर छोरा पुस्ताले तिनैलाई काट्दै गयौँ । रूख काटिएपछि बिस्तारै रूखका जरा मक्किँदै गए । ओरालो जमिनमा, रूखका जराहरूले माटोलाई माया गर्न छाडे । जराबाट माटो छुट्टिँदै गए । बर्खा याममा, एकोहोरो परेको दर्के झरीको चाप थेक्न सकेन माटोले । परिणाम हाम्रो बाल्यकालका स्मृतिहरू खसेको त्यो ‘सखुवा डाँडा’ पहिरोले लगिछाड्यो । पहिरोले डाँडा मात्रै होइन, डाँडासँगै जोडिएको ठूलो ‘आँपटार’ बारीसमेत लैजान सुरु गरेछ । सधैँ ‘आँपटार’ बाट देखिने, हाम्रा बाल्यकालका स्मृतिहरू जोडिएका ‘सखुवा डाँडा’ मा डर मात्रै देखिन्छ अहिले ।

 

समय घर्किसकेपछि हाम्रा आँखाहरू खुल्नेरहेछन् । सखुवा डाँडामा काटिएका रूखहरूको बदला नयाँ रूखहरू रोपेको भए हुन्थ्यो । बेलैमा रूख काट्न बन्देज वा निगरानी राखिएको भए हुन्थ्यो । उल्टै हामी त रूख काट्ने प्रतियोगितामा सहभागी भइरह्यौं । जंगल रातारात नांगो बनायौँ । पहिरोले पुर्‍याएको भौतिक क्षतिबाहेक, यसले हाम्रा बाल्यकालका तितामिठा सम्झनासमेत कोतरेर लगेको छ ।

पहिरोको एउटा कारण म स्वयम् हुँ भन्ने आत्मबोधले ननिको बनाइरहन्छ आफैंलाई पनि । रूख काटेर घर त बन्यो । तर, पहिरोले घरै लैजाने अवस्था आए, घर बनाउनुको के अर्थ ? यो हीनताबाट केही पाठ लिएर, हिजोआज खाली जग्गामा केही न केही रूखहरू, बोटबिरुवा रोप्न सुरु गरिसकेको छु ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार