होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रैथाने धानमा फर्किए किसान
समाचार

रैथाने धानमा फर्किए किसान

सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामीसमेत रैथाने चामल खोज्दै आउन थालेपछि स्थानीय किसान पनि दंग

  • नागरिक रैबार
रैथाने धानमा फर्किए किसान

पर्वत — पुनाखर पराजुलीले यो वर्ष दुई मुरी धान भित्र्याए । कटुवाको फाँटमै लगातार ४ वर्षसम्म पोखरेली झिनुवा, लोकतन्त्रलगायत धान फलाएका डण्डपाणि पौडेलले अहिले भने एक्ले र जेठोबुढो लगाए ।

जिल्लाभरमा धान खेतीको भण्डारका रूपमा परिचित कटुवाचौपारीमा उन्नत जातको धान लगाउने होडबाजी नै चल्यो । कृषि प्राविधिकले सिफारिस नगरेका केही बीउ अनधिकृत बिक्रीवितरण हुँदा धेरै किसानले बीउसमेत उठाउन सकेनन् । धेरैजसो धानमा बाला लागेन । बाला लागेकामा पनि कालोपोके, सिन्दुरेलगायत रोग निस्कियो ।

फल धेरै लाग्ने लोभमा उन्नत जातको धान लगाएका किसानलाई बर्सेनि बीउको समस्या हुन थाल्यो । बर्सेनि बाहिरैबाट बीउ किन्नुपर्ने, ३० दिनभित्रको बीउ रोप्न नभ्याए फल नलाग्ने, धानको अनुपातमा चामल नपर्नेजस्ता बेफाइदा बुझेपछि किसान रैथाने धानमै फर्किन थालेका छन् । सुरुमा कृषि प्राविधिक र जानकारले उन्नत र आधुनिक धान रोप्न दबाबसमेत दिन थालेका थिए । तर, उन्नतको बेफाइदा बुझ्न थालेपछि किसान पुस्तौंदेखि लगाउँदै आएको धानमै फर्किन थालेका हुन् । अहिले उनीहरूलाई आधुनिक र उन्नत धानको बीउ नरोजेकोमा पछुतो छैन । बरु गौरव छ । कारण रैथाने बीउ खोज्दै टाढाटाढाका किसानसमेत घरदैलोमै आउँछन् ।

विज्ञापन

‘नयाँ धान रोप्दा धेरै फल लाग्छ भनेर कृषिका सरले कर गर्नुभयो, हामीले मानेनौं,’ स्थानीय होमबहादुर विकले भने, ‘अहिले ठीक गरिएछ भन्ने लागेको छ । उन्नत धान लगाएकाहरू हामीकहाँ बीउ खोज्दै आउँछन् । अन्त हराएछ । उतिबेला हल्लाको पछि लागेको भए अहिले यी बीउ पनि खोज्दै हिँड्नुपर्थ्यो ।’ आधुनिक र उन्नत जातका धान रोप्नेले अहिले कात्तिकदेखि नै रैथाने धानको बीउ खोज्दै आउन थालेको उनले बताए । त्यति मात्रै होइन, सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामीसमेत रैथाने धानको चामल खोज्दै आउन थालेको स्थानीय तुलसी पौडेलले बताइन् । ‘सदरमुकाम कुश्मा बजारकाले औषधिका रूपमा भन्दै चामल माग्छन्,’ उनले भनिन्, ‘हामीले पुर्‍याउनै सकेका छैनौं ।’ उपयोगिताकै कारण हिजोआज गाउँमा पुस्तौंदेखि एक्ले, जेठोबुढो, गुडुरा, बिरम्फुले धानको खेती गर्ने किसान खोज्न प्रतिष्ठित व्यक्ति नै आउने कटुवाकै विष्णुहरि पराजुलीले बताए ।

अनुभवी किसानका अनुसार शरीर बज्रिएको, हातखुट्टा भाँचिएको औषधिका रूपमा अनादीको चामल उपयोगी छ । हलुका खानामा जेठोबुढो उत्तम हुन्छ । ग्यास्ट्रिक हुनेलाई भैंसे गुडुरा र कोदे गुडुराको चामल असाध्यै राम्रो हुन्छ । जानकारका अनुसार यहाँ पाइने रैथाने धानको वैज्ञानिक विशेषता छ । धान बाली विज्ञानमा स्नातकोत्तर कृषि विज्ञ एवं कृषि निर्देशनालय गण्डकी प्रदेशका प्रमुख वासुदेव रेग्मीले यो भेगमा पाइने रैथाने धान र उन्नत धानको बीउलाई स्थानीय र बोइलर कुखुरासँग तुलना गरे । उनका अनुसार जापानिका र इन्डिका गरी दुई समूहका धान नेपालमा पाइन्छन् । जापानिका समूहअन्तर्गत वर्णशंकर र उन्नत जात पर्छन् । इन्डिका समूहअन्तर्गत नेपालमा लगाइने स्थानीय जातका धान पर्छन् ।

रैथानेको तुलनामा उन्नत जातको धान धेरै फल्ने भए पनि उपयोगिताका हिसाबले रैथाने धानको महत्त्व अधिक छ । ‘लोकल कुखुराको मासु र ब्रोइलर कुखुराको मासुमा जस्तो अन्तर छ, त्यस्तै हो,’ उनले भने, ‘उन्नत धानको उत्पादन बढी भए पनि स्वास्थ्यका हिसाबले रैथाने धान लाभदायक हुन्छ ।’ स्थानीय हावापानी सुहाउँदो धानले ऐतिहासिक परम्परा मात्रै होइन, मेडिकल विज्ञानसँग पनि उत्तिकै सम्बन्धित हुने जानकार बताउँछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार