काठमाडौँ — बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो ।
आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रहरीले अवरोध गरेपछि ‘करोडौं मानिसको रगत र पसिनामा तिम्रो सत्ताको जग बसेको छ’ भन्ने नारा लेखिएको कालो टिसर्टसमेत लगाएका आन्दोलनकारीले संकटा मन्दिर छेउमै घोषणापत्र सार्वजनिक गरेका थिए ।
घोषणापत्रले ९ सवाल उठाउँदै राजनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी ऐतिहासिक कार्यभार पूरा नहुने निष्कर्ष निकालेको छ । २००७ यता निरन्तर घात भोगिरहेको लोकतन्त्रलाई जीवन्तता दिन बृहत् नागरिक आन्दोलनमार्फत नागरिक सर्वोच्चता स्थापित गर्न आह्वान पनि गरिएको छ । नागरिक आन्दोलनले भागबन्डा, संकीर्ण स्वार्थ र शक्ति आर्जनलाई सर्वोपरि ठान्ने दलतन्त्र नै मुलुकको समग्र उन्नतिको बाधक मानेको छ । घोषणापत्रमा भनिएको छ, ‘सत्तालिप्सा र आपसी कलहमै केन्द्रित भएर मुलुकलाई बन्धक बनाउने अधिकार दलहरूलाई छैन । यस्तो दलतन्त्र नागरिकले खोजेका होइनन् ।’
नागरिक अभियन्ता जेबी विश्वकर्माले पढेर सुनाएको घोषणापत्रले प्रधानमन्त्री ओलीको कदममाथि मात्रै होइन, अन्य राजनीतिक दलहरूमाथिसमेत प्रश्न उठाएको छ । घोषणापत्रमा कोरोनाको विश्वव्याधीको विषम परिस्थितिमा समेत जनताका आधारभूत सरोकारबाट राजनीतिक क्रियाकलाप विमुख रहेको, दलहरू आन्तरिक कलह र शक्ति मोहमा फसेर संकटमा पारिएको उल्लेख गर्दै राजनीतिक दलहरूले संवैधानिक संस्कार आत्मसात् गर्न नसकेको बताइएको छ । घोषणापत्रमा नागरिक आवाजसँग डराएर सरकार सञ्चारलाई नियन्त्रण गर्न, फोन संवाद ट्याप गर्न, सामाजिक सञ्जालमा अंकुश लगाउन उद्यत भइरहेको उल्लेख गरिएको छ ।
टुँडिखेल जनताको हो
मातृभाषा र सांस्कृतिक अधिकारमा बन्देज लगाउने छुट कसैलाई नभएको जनाउँदै घोषणापत्रमा यौनिक दुर्व्यवहार, बलात्कार, हिंसा र हत्या मौलाउने राज्यमा लैंगिक समानता फगत झूटो वाचा भएको टिप्पणी गरिएको छ । प्रतिनिधिसभा विघटनपछि विभिन्न भाषिक र जातीय समुदायलाई आन्दोलनमा जोड्दै अघि बढेको नागरिक आन्दोलनले लोकतन्त्रमा पनि भाषिक, सांस्कृतिक र जातीय उत्पीडनको शृंखला निरन्तर रहेको जनाएको छ । आदिवासी जनजातिमाथिको ऐतिहासिक उत्पीडन, राजनीतिक, आर्थिक, सांस्कृतिक र भाषिक शोषणलगायतका संरचनागत विभेद चरम रहेको नागरिक आन्दोलनको ठम्याइ छ । घोषणापत्रले लोकतन्त्र स्थापनापछि देशभित्रै इलम र मौलिक उद्यमको अवसर सिर्जना नभएकाले कोरोना कहरबीच आप्रवासनको खोजीमा जान विवश तन्नेरी पुस्ताप्रति चिन्ता जनाएको छ ।
घोषणापत्रका मुख्य सवाल
प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी
भागबन्डा, संकीर्ण स्वार्थ र शक्ति आर्जनलाई सर्वोपरि ठान्ने दलतन्त्र नै मुलुकको समग्र उन्नतिको बाधक
राजनीतिक दलहरुले संवैधानिक संस्कार आत्मसात् गर्न सकेनन्रा
जनीतिक प्रक्रियामा नागरिक स्वामित्व स्थापित नगरी ऐतिहासिक कार्यभार पूरा हुँदैन
यौनिक दुर्व्यवहार, बलात्कार, हिंसा र हत्या मौलाउने राज्यमा लैंगिक समानता फगत झूटो वाचा
संघीयताका नाममा हावी एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न जनताले लडाइँ थाल्नुपर्छ
समृद्धिका नाममा मानव जीवनलाई पराश्रित बनाउने, प्रकृतिको दोहन गर्ने, सभ्यता र सांस्कृतिक धरोहरलाई अस्वीकार गरी ध्वंस पार्ने, आदिवासीलाई थाततलोबाट विस्थापन गर्ने र मौलिक सम्पदाको ज्ञानलाई विनाश गर्ने सरकारी सोच हावी भएको घोषणापत्रमा उल्लेख छ । सम्पदा संरक्षणका सामाजिक आन्दोलनलाई पनि समाहित गर्न खोजिरहेको नागरिक आन्दोलनले यसअघि कमलपोखरीको माटोको टीका लगाएर प्रदर्शन गरेको थियो । नागरिक आन्दोलनले सामर्थ्य र पहिचानका आधारलाई नजरअन्दाज गरेर संघीयता अघि बढाइएको र मधेसी, मुस्लिम र थारूका संघर्षदेखि कर्णालीसहितको भौगोलिक असमानतालाई अपेक्षाकृत सम्बोधन नगरिएको भन्दै चिन्ता जनाएको छ । घोषणापत्रमा संघीयताका नाममा हावी एकात्मक चिन्तन र केन्द्रीकृत शासकीय सोचलाई चिर्न जनताले लडाइँ थाल्नुपर्ने बताइएको छ ।
घोषणापत्र लेखनमा संलग्नमध्ये एक राजनीतिशास्त्री भास्कर गौतमले लोकतन्त्र स्थापनापछि पनि नागरिक समाज र समुदायले स–सानो स्वरूपमा जारी राखेका आन्दोलनलाई सरकारले लोकतन्त्रको खतराका रूपमा अर्थ्याउने भाष्य तयार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने प्रयास घोषणापत्रले गरेको बताए । ‘विभिन्न माग र मुद्दासहित चलेका अनेकन आन्दोलन यही संरचनागत विभेदका उपज हुन् । तिनीहरू एकै ठाउँमा जोडिएर बृहत् नागरिक आन्दोलन निर्माण गर्नुपर्छ भनेर घोषणापत्र ल्याइएको हो,’ उनले भने ।
मानवअधिकारकर्मी मोहना अन्सारीले घोषणापत्रले नागरिक आन्दोलनबारे बृहत् रूपमा बुझाइ निर्माण गर्न सघाउने बताइन् । उनले लोकतन्त्र र नागरिक अधिकारमाथिका अनेकन चुनौतीलाई घोषणापत्रले समेटेको उल्लेख गरिन् । ‘यसले नागरिक चुनौतीका अनेकन स्वरूप बुझाउनेछ र समाजमा जारी विभिन्न शोषणबारे आवाज उठाउन सघाउनेछ,’ उनले भने ।
‘नो गुलामी, नो सलामी’
२००७ सालमा नागरिक स्वतन्त्रताको विगुल फुकिएको टुँडिखेल अहिले नेपाली सेनाको नियन्त्रणमा छ । त्यही ठाउँमा फेरि नागरिक उभिन पाउनुपर्छ भन्ने माग राखेर शुक्रबार नागरिक आन्दोलनकारीले टुँडिखेल मार्च गरेका थिए । रत्नपार्कबाट परिक्रमा गरेर टुँडिखेल छिर्न खोजेका उनीहरूलाई सुरक्षाकर्मीको बाक्लो घेराले संकटा मन्दिरछेउमा रोकेको थियो । कार्यक्रम सञ्चालन गरेकी मानवअधिकारकर्मी मोहना अन्सारीले सुरुमै प्रश्न गरेकी थिइन्, ‘यो टुँडिखेलमा हामीलाई किन छिर्न दिइएन ?’
आन्दोलनकारी भित्र छिर्न सक्ने भन्दै कार्यक्रम स्थलका अलावा खुला मञ्च र सैनिक मञ्चबीचको सानो गल्ली छेउमा पनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । टुँडिखेलभित्र छिर्न नपाएपछि त्यसको बगलमा उभिएर लेखक खगेन्द्र संग्रौलाले भने, ‘जोसुकैले जेसुकै भने पनि भन्ने कुरा जम्मा यत्ति हो, टुँडिखेल नागरिकको हो, टुँडिखेल नेपालीको हो । टुँडिखेलबाट जंगी अड्डा पन्छिनुपर्छ ।’
कुनै पनि सभ्य सहर र बाक्लो बस्तीका बीचमा जंगी अड्डा नहुने उल्लेख गर्दै उनले भने, ‘टुँडिखेललाई पार्क, पुष्प वाटिका बनाउन, वृद्धवृद्धा आराम गर्ने, मनोरञ्जन गर्ने, केटाकेटी खेल्ने ठाउँ बनाउन टुँडिखेल कब्जा गरिनेछ ।’
पत्रकार तथा लेखक नारायण वाग्लेले खरीको बोटलाई साक्षी राखेर प्रजातन्त्र घोषणा गरिएको ७० वर्षपछि सही साइतमा सही ठाउँमा आफूहरू हक जताउन टुँडिखेलभित्र छिर्न खोजेको बताए । ‘हामीलाई बन्देज लाग्यो र नेपाली लोकतन्त्रको स्तर आज उदांगो भयो,’ उनले भने । खरी बोट मासिएको र प्रजातन्त्र भासिएको उनको भनाइ थियो । अहिले न संस्कृतिसहितको प्रकृति रहेको न आवाजसहितको प्रजातन्त्र रहेको उनले बताए । वाग्लेले प्रजातन्त्रका नाममा सलामी चढ्न थालेको उल्लेख गर्दै भने, ‘अब नो सलामी, नो गुलामी ।’ उनले मुक्त टुँडिखेल र खुला लोकतन्त्र चाहिने बताए ।
ज्यापू महागुठीका राजभाइले आफूहरूको गौरव र पौरख टुँडिखेल खोस्ने प्रयास अस्वीकार्य हुने बताए । आदिवासी अभियन्ता मोहन गोले तामाङले गणतन्त्र बयलगाडामा चढेर अमेरिका जाने भन्नेहरूले नल्याएको बताए । ‘एक दिन हामी टुँडिखेलको ताल्चा तोडेर भित्र छिर्ने छौं र कार्यक्रम गर्ने छौं,’ उनले भने ।
नेपाली सेनाले ओगटेर सर्वसाधारणलाई टुँडिखेलको एउटा भागमा प्रवेश नदिइएको तथ्य उधिन्दै नागरिक अभियन्ता रीता साहले सरकार र सेनाले जनताको टुँडिखेल खोसेको बताइन् । उनले ३० वर्षअघि गजेन्द्रनारायण सिंहलाई टुँडिखेलमै भाषण गर्दा गालीगलौज गरिएको इतिहास सम्झिइन् । ‘३० वर्षपछि आज पनि मलाई टुँडिखेलभित्र छिरेर भाषण गर्न दिइएन,’ उनले भनिन् ।
साहले बलात्कार र यौन हिंसाविरुद्ध केही दिनअघिको प्रदर्शनमा मैथिलीमा कविता पढ्ने सपना सञ्जीवनी, आन्दोलनमा सहभागी मोहना अन्सारी र आफूलगायतलाई सामाजिक सञ्जालमार्फत गालीगलौज भइराखेको, यौन हिंसाको धम्की आइरहेको बताइन् । ‘धर्मका ठेकेदार हौं भन्नेहरू मुस्कान खातुनमाथि एसिड छ्याप्दा किन बोलेनन्, ९० वर्षदेखि ६ वर्षसम्मका बलात्कृत हुँदा किन बोलेनन् ? दाइजोका कारण महिलालाई जिउँदै जलाइदा किन बोलेनन् ?’ उनले भनिन् ।
निरन्तर नागरिक खबरदारी
नागरिक आन्दोलनले यसअघि सहिद सप्ताहको छेको पारेर शुक्रराज शास्त्रीलाई झुन्ड्याइएको टेकु, धर्मभक्त माथेमालाई मारिएको सिफल र शोभाभगवतीमा गोली ठोकेर मारिएका गंगालाल श्रेष्ठ र दशरथ चन्दको सालिकअघि प्रदर्शन गरेको थियो । नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको घरबाट सुरु गरी शीतल निवासको बगलमा पुगेर प्रश्न गरेको थियो । बृहत् नागरिक आन्दोलनले शुक्रबार टुँडिखेलभित्रै छिर्ने योजना बनाएको थियो । रत्नपार्क छेउको शंखधर साख्वाको सालिक छेउमा भेला भएर अघि बढेको नागरिक आन्दोलन ‘टुँडिखेल फिर्ता गर’, ‘सबैखाले प्रतिगमन मुर्दावाद’ जस्ता नारा लगाउँदै अघि बढेको थियो ।
आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी, मानवअधिकारकर्मी कपिल श्रेष्ठसँगै साहित्यकार, कलाकार र विभिन्न पेसाकर्मी सहभागी थिए । मानवअधिकारकर्मी मोहना अन्सारीले ७० वर्षयताका अनेकन आन्दोलनमा हिँडेकादेखि आफू हुर्किंदा हुर्किंदै लोकतन्त्र मासिन लागेको देख्ने नयाँ पुस्तासम्म आन्दोलनमा सहभागी हुनु अर्थपूर्ण रहेको बताइन् । बैसाखी टेकेर आन्दोलनमा होमिएका जिलेसन शाहले राजनीतिक दलहरूले फ्टयाइँ गरेको र त्यसलाई सच्याउन आफूहरू सडकमा आउनुपरेको बताए ।
उनले दुई तिहाइको सरकारले नागरिकको हितमा केही नगरेको र एक जनाको हठले यस्तो अवस्था आएको टिप्पणी गरे । संकटा मन्दिरको छेउमा पसल गरेर बसेका एक जनाले एक महिनायता बारभित्र पनि त्रिपालले घेरेर राखिएको र जनताको टुँडिखेललाई जनताकै आँखाबाट छोपिएको बताए ।
नागरिक आन्दोलनले यसअघिका कार्यक्रममा बैतडेली, मैथिली, राई, नेपाल भाषालगायतका भाषिक समुदायका व्यक्तिहरूलाई अभिव्यक्तिको मञ्च उपलब्ध गराएको थियो । शुक्रबार पनि बहुभाषिक शैलीमा सञ्चालन गरिएको कार्यक्रममा नेपाल भाषामा ज्यापू महागुठीका अध्यक्ष राजभाइ जकःमीले कवितामार्फत नागरिकको टुँडिखेल कसले खोस्यो भनेर प्रश्न उठाएका थिए । कार्यक्रममा बोलेका सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधरदेखि नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङसम्मले लोकतन्त्रको स्थितिमाथि चिन्ता जताएका थिए ।
सपना सञ्जीवनीले कवितामार्फत समाजमा व्याप्त जातीय, लिंगीय असमानता र अल्पसंख्यकमाथि थिचोमिचोलाई आफूले अस्वीकार गर्ने बताइन् । उनले कवितामार्फत नै भनिन्– जहाँ कन्या भ्रूण हत्यालाई स्वीकार गरिन्छ, जहाँ पुरुषबाहेकका अस्तित्व स्वीकार गरिन्न, जुन समाजमा छूत अछूतको व्यवहार गरिन्छ र जहाँ शोषण दमन गरिन्छ, त्यो समाजलाई म बहिष्कार गर्छु ।
कवि केवल विनावी र राजु स्याङ्तानले पनि कवितामार्फत विभिन्न समयक्रममा नागरिकको खोसिएको अधिकारको खोजी गर्नुपर्ने सवाल उठाएका थिए । चोरी औंला देखाइएको ब्यानर भएको नागरिक आन्दोलनअन्तर्गत यसअघि वसन्तपुरमा कविता वाचन, बलात्कार र यौन हिंसाविरुद्ध महिलाको आन्दोलन, त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन भइसकेका छन् । कवि सरिता तिवारीले भनिन्, ‘खोकनादेखि माडीको कुसुम खोलासम्मका महिला उत्पीडनका सबैखाले आन्दोलनलाई एकताबद्ध गरेर हामी यहाँ आएका छौं ।’
फेसबुक प्रतिक्रियाहरु