होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन
समाचार

विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन

  • नागरिक रैबार
विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन

१ असोज, वीरगञ्ज । २९ भदौमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको टोली आकस्मिक विद्यालय अनुगमनका लागि वीरगञ्ज–१७ अलौस्थित श्रीमान टोला प्राविमा पुग्यो । बिहान ११ बजे नै विद्यार्थीहरु घरतिर लागिरहेका थिए । विद्यार्थीलाई बोलाएर सोध्दा शिक्षक कोही छैनन् त्यसैले पढाइ भएन भन्ने जवाफ आयो ।

शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णसहितको टोली विद्यालय पुग्दा एक जना शिक्षक र कार्यालय सहयोगी मात्रै रहेछन् । भएका एक जना शिक्षक पनि मोबाइल फोनमा व्यस्त । विद्यालयको भवन पनि संरक्षण नभएको पाइएको प्रमुख कर्ण बताउँछन् ।

‘विद्यालयमा दुई/दुई कोठा भएका तीन वटा भवन छन् । तर संरक्षणको अभाव देखिएको छ,’ उनले भने, ‘एउटा भवन कामै नलाग्ने गरी जीर्ण नै रहेछ, अर्को भवन काम लाग्ने छ तर झ्याल ढोका नै रहेनछ, एउटा भवनका दुईवटा काम लाग्ने त्यसमा पनि एउटामा इँट्टा राखिएको रहेछ ।’

विज्ञापन

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई बोलाउँदा नआएपछि शैक्षिक प्रशासन महाशाखाले लिखित स्पष्टीकरण सोधेको छ । विद्यालयको खाता रोक्का गरेर स्पष्टीकरण सोधिएको कर्णले बताए ।

मनियारीस्थित आधारभूत विद्यालयमा भौतिक सुविधा राम्रो र पर्याप्त शिक्षक दरबन्दी भए पनि अध्यापन राम्रो नभएकाले विद्यार्थी संख्या कम देखिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

अनुगमनका क्रममा ४ कक्षाका विद्यार्थीले एबीसीडी पढ्न नसकेको शैक्षिक महाशाखा प्रमुख कर्ण बताउँछन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय बर्वा गोग ३ मा अनुगमन टोली पुगेपछि प्रधानाध्यापक विद्यालय खोल्न आइपुगेका थिए ।

वीरगञ्जमा कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय खुलेका छन् । महामारीको समयमा संरक्षण नगर्दा अधिकांश विद्यालयको भौतिक अवस्था नराम्ररी बिग्रिएको स्थानीयले बताएका छन् ।

स्रोत साधन कम हुँदा पनि विद्यालय राम्रो

शैक्षिक प्रशासन महाशाखाका अनुसार आधा दर्जन भन्दा बढी विद्यालयको अनुगमनको क्रममा कतिपय विद्यालयले स्रोत साधनको अभावमा पनि राम्रो काम गरेको पाइएको छ । विन्दवासिनी प्रावि बर्वा गोग १ को विद्यालय भवन मर्मतसम्भार भइरहेको छ । ३ वटा कोठा प्रयोग गर्न नपाएको अवस्था छ । तैपनि विद्यालय व्यवस्थित रुपमा सञ्चालनमा रहेको पाइएको छ । शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्ण बताउँछन् ।

शैक्षिक प्रशासन महाशाखाले आधारभूत विद्यालय इटियाही, आधारभूत विद्यालय जगरनाथपुर लगायत ६ वटा विद्यालयको आकस्मिक स्थलगत अनुगमन गरिसकेको छ । जगरनाथपुरको विद्यालयमा शिक्षक कम भए पनि अध्यापन र भौतिक सुधार राम्रो देखिएको छ । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा निमावि दरबन्दी एउटा मात्रै छ । तैपनि खानेपानी, शौचालयको राम्रो व्यवस्था गरिएकोे, सीसीटीभी पनि सञ्चालनमा रहेको र विद्यार्थीको राम्रो उपस्थिति देखिएको ‘आकस्मिक अनुगमन’ टोलीले जनाएको छ ।

बिहान एक/डेढ घण्टा विद्यालय अनुगमनमा खर्च गर्ने नीति आफूले लिएको शैक्षिक महाशाखा प्रमुख कर्णले बताए ।

‘विद्यालयको वास्तविक स्थिति पत्ता लागोस् भन्ने उद्देश्यले थाहै नदिइकन अनुगमनमा निस्कने गरेका छौं,’ उनले भने, ‘विद्यालय सञ्चालनमा रहे नरहेको, शिक्षक, विद्यार्थीको उपस्थिति र भौतिक अवस्थाको बारेमा हेर्ने गरेका छौं ।’

शैक्षिक महाशाखामा कार्यरत अन्य कर्मचारीलाई पनि बेलुका १ घण्टा विद्यालय निरीक्षणमा निस्कन निर्देशन दिइसकेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार