पोखरा — सेती नदीमा हामफाल्न खोज्दा जालीमा अड्किएकी १७ वर्षीया किशोरीलाई प्रहरीले जेठ १८ मा पोखराको केआई सिंह पुलबाट उद्धार गर्यो । मानसिक रूपमा विक्षिप्त रहेकी उनलाई वडा प्रहरी कार्यालय बगरले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा पठायो ।
एक महिनासम्मको मनोसामाजिक परामर्शपछि किशोरी बल्ल बोल्न सक्ने भएकी छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानबाटै आफू पटकपटक यौन हिंसामा परेपछि आत्महत्याको प्रयास गरेको उनले खुलासा गरेकी छन् ।
उनी ४ वर्षअघि पोखराको बाटुलेचौरमा कोठा भाडामा लिएर दाइसँग बस्दै आएकी थिइन् । अध्ययनका लागि पोखरा झरे पनि पढाइलाई निरन्तरता दिन सकिनन् । फेसबुकमार्फत रजिन सुनारसँग उनको चिनजान भयो । उनले आफू प्रहरी भएकाले सुखसँग पाल्ने भन्दै अनेक प्रलोभन देखाए । २०७६ चैत २७ मा किशोरीका दाइ कोठामा नभएको मौका पारी रजिन उनलाई भेट्न पुगे । त्यसै दिन दुई जनाबीच शारीरिक सम्बन्ध भयो ।
आफूलाई पीडा भएपछि रुन कराउन खोज्दा रजिनले धम्क्याए । त्यसपछि पनि उनले पटकपटक यौन हिंसा गरिरहे । २०७७ वैशाख २३ मा रजिनले पत्नीकै हैसियतमा टीकाटालो गरी किशोरीलाई घरमा भित्र्याए । आफू व्यस्त हुनुपर्ने भएकाले पोखराबाट घर ओहोरदोहोर गर्न नमिल्ने बताउँदै उनले केही समयपछि पहिलेकै डेरामा बस्न लगाए । २०७७ भदौमा किशोरी पहिलोपल्ट गर्भवती भएको थाहा पाएपछि रजिनले गर्भपतन गर्न दबाब दिए । किशोरीले नमानेपछि पेट र छातीमा लात्ती बजारे । त्यसैको असरले गर्भ खेर गयो ।
खटपट बढेपछि गत पुसमा सामान्य कागज गरेर दुवै छुट्टिए । त्यसपछि पनि रजिनले भेट्न छाडेनन् । किशोरीको पेटमा फेरि गर्भ बस्यो । फागुनमा रजिनकै यातनाले दोस्रोपल्ट गर्भ खेर गयो । वैशाख २६ मा रजिनले उनलाई डेराबाट आफ्नो घरमा लगे । भोलिपल्टै डेरामै ल्याएर छाडिदिए । कार्यालयको समय मिलाएर पटकपटक डेरामा पुगेर उनले शारीरिक सम्पर्क राखिरहे । किशोरी पुनः गर्भवती भइन् । रजिनले फेरि गर्भपतनको लागि दबाब दिए । यसपल्ट भने बालिकाले माइती र आफन्तबीच आफूहरूबीचको सम्बन्ध सार्वजनिक गर्नुपर्ने, विवाह दर्ता गर्नुपर्ने अडान लिइन् । रजिनले उल्टै बालिकालाई कुटपिट गर्दै सम्बन्धबारे आफन्तलाई खबर गरे जेलमा सडाउने धम्की दिए । प्रहरी संगठनमा ठूलो पदीय हैसियतका व्यक्तिसँग पहुँच भएकाले बालिका र उनका आफन्तले केही गर्न सकेनन् । रजिनले अर्कै केटीसँग बिहे गर्ने तयारी गरे । २९ गते बिहे गर्ने पक्का भयो ।
आफूमाथि यौन हिंसा गरेर अर्कैसँग बिहे गर्ने तयारी गरेपछि किशोरी झनै विक्षिप्त भइन् । जेठ १८ मा केआई सिंह पुलबाट हामफाल्दा बीचमै जालीमा अड्किएपछि प्रहरीले उनको उद्धार गरेको हो । कोपिला नेपालको संरक्षणमा एक महिना लामो मनोपरामर्शपछि उनीसँग प्रहरीले बयान लियो । उनकी आमाले रजिनविरुद्ध जाहेरी दिन खोजे पनि कास्की प्रहरीले दिन मानेन । मानवअधिकार आयोगको पत्र र विभिन्न अधिकारीवादी संघसंस्थाको दबाबले ५ दिनपछि असार ३० मा २५ वर्षीय रजिनविरुद्ध करणीसम्बन्धी गम्भीर कसुरमा जाहेरी दर्ता भएको छ ।
जाहेरीमा उल्लेख भएअनुसार रजिनको करणीबाट बसेको गर्भ फाल्ने व्यवस्था गरिदिन बालिकाले कोपिला नेपाललाई आग्रह गरिन् । उनकै चाहनाअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको सल्लाहबमोजिम औषधिको प्रयोगबाट गर्भपतन भयो । आफ्नो परिवारको कमजोर आर्थिक अवस्था र परिस्थितिको गलत फाइदा उठाउने नियतले छोरीमाथि यौन हिंसा गरी आत्महत्या गर्न बाध्य पारेको उनको भनाइ छ । ‘११ वर्षअघि बुढा बेपत्ता भए,’ उनले भनिन्, ‘ज्याला मजदुरी गरेर छोराछोरी पढाउँदै आएकी थिएँ । छोरीलाई धाकधम्की देखाएर प्रहरीले अत्याचार गरेछन् । जसरी पनि कारबाही हुनुपर्छ ।’
कोपिला नेपालकी महिला तथा बालबालिका विभाग प्रमुख क्षमता खड्काले अहिले पनि किशोरीको स्वास्थ्यमा समस्या रहेको बताइन् । ‘उनीमाथि भएको घटना सम्झिएर बेलाबेलामा झस्किने, डराउने, रुने गर्छिन्,’ उनले भनिन्, ‘मनोसामाजिक परामर्शकै क्रममा छिन् ।’ जाहेरी दिएको दिन पीडक जिल्ला प्रहरी कार्यालयभित्रै रहे पनि पक्राउ नपरेको उनको भनाइ छ । प्रहरी प्रवक्ता एवं डीएसपी सुवास हमालले रजिन प्रहरीको सम्पर्कमा नआएको बताए ।
‘बिहे गर्छु भनेर १० दिनको बिदा लिएर गएको हो,’ उनले भने, ‘आइतबार बिदा सकिन्छ । त्यसपछि पनि सम्पर्कमा नआए खोजी गर्छौं । पक्राउ पुर्जी जारी भइसकेको छ ।’ अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ ले प्रहरीबाटै निकृष्ट अपराध भएको बताउँछिन् । मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरको महलले यस्तो कार्य दण्डनीय भएको उनको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु