काठमाडौँ — नेकपा (माओवादी केन्द्र) संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामा माग गरेको सांसद वर्षमान पुनले जानकारी दिए । उनले भने–‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन । राजीनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’
माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे ।
बेठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ । बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष दाहाललाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको उनले बताए । त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए ।
संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधिसभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । पार्टी परित्याग गरेका सांसदहरुसँग अन्तिम छलफल गर्नका लागि मंगलबार नै माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले जानकारी गराए ।
फेसबुक प्रतिक्रियाहरु