निमेन्द्र शाही १ जेठ, वैशाख बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन ।
कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु समय छानामाथिसम्मै धुवाँ आउने घरहरूमा अहिले त्यो देखिन छाडेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लगाइएको निषेधाज्ञाका कारण यहाँका स्थानीयको घरमा अन्न सकिएको छ । अन्न सकिँदा चुलो बल्न छाडेको छ । चुलो नबल्दा घरबाट धुँवा आउँदैन ।
‘घरमा १३ जनाको कबीला छ । गराको गहुँ काँचौ छ । चैत्रको महिनाको भोक घरका कट्टा भाडा रित्तिसके,’ बिरे सार्की दुःख पोख्छन्, ‘ज्यादारी गरेको आजको पैसाले आजकै छाक, भोलिको पैसाले भोलिको छाक टार्ने हामीलाई मर्नुन बाँच्नुको दोसाँदामा पुगाएको छ ।’
उनी भन्छन्- ‘गाउँका योजनामा काम गरी छाक टार्ने गरेका थियौँ, सरकारले चैत्र ११ गतेबाट घरबाहिर ननिस्कनु भन्यो । काम पनि रोकियो हाम्रो घरमा भएको केही दिन हातमुख जोड्यौँ । अब चुलो बाल्न पाएका छैनौँ । अरुलाई कोरोनाले मार्ने भयो हामीलाई भोकले मार्ने भयो ।’
सरकारले २०६५ मा हलिया मुक्तिको घोषणा गर्यो । सोही घोषणाअनुसार सूदुरपश्चिम र कर्णली प्रदेशका पहाडी जिल्लाका हलिया पनि मुक्त भए । मुक्त भएपछि ज्यालादारी गरी गुजारा चलाउँदै आएकाहरूलाई निषेधाज्ञाले समस्या पारेको छ ।
मुक्त हलिया रंगी बिक भन्छन्- सरकारले लकडाउन गरेपछि दैनिक ज्यालादारी गरेर खानेहरूलाई निकै गाह्रो भएको छ ।
बुढीनन्दा नगरपालिका- १ को तिथिचौरमा १५ हलिया परिवारलाई व्यवस्थापन गरिएको छ । सरकारले घर बनाइदिएको छ । यो बस्तीका सबै दैनिक ज्यालादारी गरेर परिवार पाल्छन् । तर, १४ दिनसम्म निषेधाज्ञाका कारण ज्यालादारी गर्न नपाउँदा यहाँका हलिया परिवारको खाने कुरा सिद्धिएको छ ।
‘१५ जनाको कबिला छ । कहाँ लिएर पाल्नु ? कहीँ जाँन पाइने भए पुराना साहुँलाई गुहारेर हातमुख जोड्ने बाटो हुन्थ्यो,’ मुक्त हलिया चन्द्रे लुहारले भने, ‘बाहिर निस्किए कारबाही हुँन्छ घरभित्र बसौँ भने खाने केही छैन । फर्साद भएको छ ।’
सरकारले जुकोट, वाई, बाधुको पिपलडाली, कोल्टीको बिरसैन लगायतका ठाउँबाट ‘क’ बर्गका १५ हलिया परिवारलाई बुढीनन्दा नगरपालिका- १ को थिपिचौरमा घर बनाइदिएको छ । घर बने पनि खान नपाएपछि केही परिवार घर छोडेर पुरानै गाउँमा साहुको काम गर्न गए । हाल ७ परिवार थिपिचौमा बस्दै आएका छन् । उनीहरू कोल्टी बजारमा दैनिक ज्यालादारी गर्छन् ।
‘कहिलै कोल्टी बजारमा दाउरा बेचेर दाल चामल किनेर खायौँ कहिले कसैको खेतमा काम गरेर पोर्सो बोकेर दैनिकी चलाइरहेका थियौँ । कोल्टी बजार बन्द भयो न दाउरा लिन जाँन पायौँ, बजार बन्द छ दाउरा बिक्री गर्न पाइदैन,’ चन्दया लुहारले भने, ‘खेतबरीको काम सबै बन्द भएपछि भोकै बस्नु परेको छ ।’
हरिकवलका मुक्त हलिया धन बिकलाई पनि समस्यामा पारेको छ । ‘गाउँ वरपर योजना आयो भने ढुङ्गा गिट्टी कुटेर र काम नपाएको बेला दाउरा बेचेर जमाएको अन्नपात छाटरेको थियो, गाउँमा अहिले हाहाकार छ,’ उनले भने, ‘लकडाउन भएपछि छाक टार्ने माध्यम नै बन्द भयो । घरमा नुन, तेल र चामल जस्ता खानेकुरा सकिएको छ ।’
बाजुरामा कुल १ हजार ३ सय ५३ मुक्त हलिया छन् । तीमध्ये ‘क’ वर्गमा १ सय ३२, ‘ख’ वर्गमा २ सय ४६, ‘ग’ वर्गमा १ सय ५० र ‘घ’ वर्गमा ८ सय २५ गरि जम्मा १ हजार १ सय ८९ जनालाई सरकारले परिचयपत्र वितरण गरेको जिल्ला हलिया मुक्ति समाजको तथ्यांक छ ।
फेसबुक प्रतिक्रियाहरु