‘हाम्रा बच्चाहरुको आनीबानी फेरिए । चौबिसै घण्टा मोवाइलमा झुन्डिन्छन् । गेम खेल्छन्, टिकटक बनाउँछन्, फेसबुक चलाउँछन्। मोबाइलमा उनीहरुलाई यति लिप्त भए कि, खाना खान भुल्छन् । दिसा–पिसाब गर्न अल्छी मान्छन् । रातभर सुत्दैनन् । किताब पढ्ने, घर–परिवारसँग घुलमिल हुने, बाली–बगैंचामा रमाउने, साथीभाई–आफन्तसँग कुराकानी गर्ने प्रवृत्ति हरायो ।’
अभिभावकको साझा गुनासो हो यो । पछिल्लो समय दुईकुरा एकसाथ आइपरेको छ । एकातिर मोवाइल, वाइफाई जस्तो प्रविधिको सर्वत्र पहुँच बढेको छ । अर्कोतिर कोरोना सन्त्रासले विद्यालय जाने अनुकुलता छैन । घरभित्रै थुनिएर बस्नुपर्ने स्थिति छ । यस्तो अवस्थामा बालबालिकाका लागि मोवाइल र इन्टरनेट ‘बाँदरलाई भर्याङ’ भनेजस्तै भएको छ ।
आजको युगमा प्रविधिसँग एकाकार हुनु नराम्रो होइन । अहिले प्रविधिको विकास तिब्र रुपमा भइरहेका छन् र विश्व समुदाय त्यससँगै फड्को मारिरहेका छन् । प्रविधिको बद्लिदो स्वरुपलाई आत्मसात गर्दै र अभ्यस्त हुँदै जानुको विकल्प छैन ।
तर, हाम्रा बालबालिकाको हकमा यस्तो भएको छैन । उनीहरु प्रविधिको अधिकतम् सदूपयोग गर्ने भन्दा पनि त्यसलाई केवल मनोरञ्जनको साधनको रुपमा मात्र प्रयोग गरिरहेका छन् । उनीहरुले यसबाट नयाँ कुरा सिक्ने, बुझ्ने, जान्ने, अभ्यास गर्ने पनि गरिरहेका छैनन् । बरु, नयाँ कुरा जान्ने, बुझ्ने र सिक्ने उमेरबाट विमुख हुँदैछन् । यो उमेर चरणमा उनीहरुले जे–जति कुरा सिक्नुपर्ने हो, सो सिकिरहेका छैनन् ।
अहिलेका बालबालिकाहरुमा व्यवहारिक ज्ञान र अनुभव न्यून छ । मोवाइलसँगको अति घनिष्ठताले उनीहरुलाई आफ्नै दुनिया, परिवार र समाजबाट टाढा राख्दैछ । यसको असर उनीहरुमा दीर्घकालिन रहनेछ र भोलिका दिनमा उनीहरुले धेरै व्यावहारिक संकट झेल्नुपर्ने स्थिति आउनसक्छ ।
बालबालिकाले यस्तो संकट निम्त्याइसकेका छन् । अब यसबाट कसरी उनीहरुलाई मुक्त गराउने ? कसरी उनीहरुलाई व्यवहारिक जीवनमा फर्काउने ? अहिलेका अभिभावकका लागि टाउको दुखाइको विषय हो ।
कति अभिभावक छन्, जो बालबालिकालाई खुसी तुल्याउन मोवाइल, ल्यापटप दिने गर्छन् । बालबालिका पनि मोवाइल, ल्यापटप पाएमा दंग पर्ने गरेका छन् । त्यसैले उनीहरुले कुनै काम गर्नु परेमा आमाबुवासँग मोवाइल वा ल्यापटप दिनुपर्ने सर्त अघि सार्छन् ।
छोराछोरीबाट काम लिनका लागि यस्ता सर्तहरु पालना गर्न बाध्य छन् आमाबुवा । कतिपय आमाबुवा त यस्ता पनि छन्, जसले दुधे बच्चालाई पनि मोवाइलको लत लगाइदिएका छन् । मोबाइलमा भिडियो देखाएर, गीत सुनाएर खेलाउने गर्छन् । भुलाउने गर्छन् । मोवाइलमा गीत बजाएपछि मात्र कतिपय बालबच्चाले भात खान मान्छन्, सुत्ने गर्छन् ।
मोवाइलप्रतिको बढ्दो आशक्तिले बालबालिकाको व्यवहारिक जीवन ध्वस्त मात्र भएको छैन, मानसिक रोगी समेत बनाउँदैछ । यसैको साइड इफेक्ट, उनीहरु खुलेर बोल्न सक्दैनन्, रमाउन सक्दैनन् । एकान्तमा बस्न रुचाउँछन्, एकोहोरिन्छन् ।
यसरी मोबाइल एवं इन्टरनेटको लतमा फस्दै गएका बालबालिकालाई कसरी सही बाटोमा हिँडाउने ? यसमा अभिभावकले आ–आफ्नै तौर तरिका अपनाउने गरेका छन् । कतिले गाली गरेर, कुटपिट गरेर पनि बालबच्चालाई यस्ता लतबाट छुटाउने प्रयास गर्छन् । कतिपयले अकै कुरामा लोभ देखाएर, फकाई–फुल्याई गरेर बालबच्चालाई मोवाइलबाट टाढा राख्ने यत्न गर्छन् ।
यद्यपि यी सबै प्रयास त्यती प्रभावकारी भएको पाइदैन ।
किनभने अभिभावकले आफ्ना बालबालिकालाई बदल्ने यत्न त गर्छन् तर आफै भने बद्लिदैनन्। जब उनीहरु घरमा हुन्छन्, अक्सर मोवाइलमै व्यस्त हुन्छन् । बुवाआमाको शैलीलाई नै बालबालिकाले पच्छ्याउने हो ।
अतः बालबालिकाको बानी–व्यवहार बदल्नका लागि जरुरी छ, अभिभावक स्वयंले आफूलाई बदल्नु । जब उनीहरु घरमा आउँछन्, तब मोवाइलमा व्यस्त हुने होइन । बरु, मोवाइलमा बिताउने समय बालबालिकालागि दिनुपर्छ । सो समयमा बालबालिकासँग रमाउनुपर्छ । खेल्नुपर्छ ।
जब जब फुर्सद मिल्छ, मोवाइल, टिभी, ल्यापटपमा होइन, घरधन्दा वा बाली बगैंचाको काममा लाग्नुपर्छ । यसमा बालबालिकालाई पनि सामेत गर्नुपर्छ । चाहे खाना तयार गर्दा होस् वा घरको सरसफाई गर्दा, बालबालिकालाई सहभागी गराउनुपर्छ । त्यसका अतिरिक्त बालबालिकासँग छुटै समय निकालेर खेल्ने, कुराकानी गर्ने अभ्यास गर्नुपर्छ । पारिवारिक संस्कार र मूल्यबारे पनि उनीहरुलाई सिकाउनुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु