दसैं-तिहारजस्तो दर्शक तान्ने बेलामा पनि नेपाली निर्माता फिल्म रिलिज गर्न हच्किएको भन्दै आलोचना भएको थियो।
दसैं फूलपातीको समयमा सोभित बस्नेतको ‘डाँडाको वर पीपल’ले दर्शक नपाएपछि निर्माताहरु हच्किएका थिए। तिहारमा बलिउड फिल्म ‘सूर्यवंशी’ले नेपाली दर्शकसमेत तानेपछि उनीहरुमा उत्साह बढेको छ।
अहिलेसम्मको अवस्थामा सबैभन्दा पहिला पुस २ मा निर्देशक निकेश खड्काको ‘चपली हाइट ३’ सार्वजनिक हुनेछ। त्यसपछि सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ माघ १९ देखि हलमा हेर्न पाइने छ। ‘लप्पन छप्पन–२’ फागुन १३, ‘ए मेरो हजुर–४’ चैत २५ र ‘चिसो मान्छे’ले अर्को वर्षको बैसाख २० लाई रिलिज डेट बताएका छन्।
लकडाउनअघिदेखि नै चर्चामा आएको ‘प्रेम गीत ३’ को रिलिज डेटको भने अहिलेसम्म अत्तोपत्तो छैन। ‘प्रेम गीत ३’लाई छेतेन गुरुङ तथा सन्तोष सेनले संयुक्तरुपमा निर्देशन गरेका हुन्।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ।
नेपाली र हिन्दी भाषाामा डबिङ गरिएको खबरले समेत चर्चा कमाएको प्रेमगीत ३ लाई धेरैले हलमा दर्शक तान्ने सम्भावना बोकेको फिल्मका रुपमा लिएका छन्।
फिल्म हलमा कहिले आउँला त?
निर्देशक/निर्माता सेनले भने, ‘फिल्म रिलिज गर्ने डेटबारे सरसल्लाह भइरहेको छ। दुई हप्ताभित्र रिलिज डेट सार्वजनिक गर्ने तयारी छ।’सेनले कोरोना महामारीलाई सदुपयोग गर्ने निर्देशकमा पर्छन्। महामारीको समयमा महिनौं भारतको मुम्बईमा बसेर हिन्दी भर्सन तयार पारेका हुन्।
महामारी र लकडाउनकै कारण प्रेमगीत ३ को पोस्ट प्रोडक्सन र फिल्मको बजार बिस्तारका लागि लामो समय दिन पाएको उनको भनाइ छ। लकडाउन नभएको भए यो फिल्म नेपाली भाषामा मात्र बन्ने थियो।
प्रेमगीत ३ गत वर्ष फागनु २७ सार्वजनिक हुने मिति तय भइसकेको थियो। कोरोनाका कारण फिल्म प्रदर्शन हुन सकेन। लगत्तै चैत ११ देखि लकडाउन सुरु भएको थियो।
‘हिन्दी भाषामा डबिङलगायत प्राविधिक काम सकिइसक्यो। मुम्बईमा दक्षिण भारतीय फिल्म किन्ने वितरकले प्रेमगीत ३ को हिन्दी कपिराइट किनिसकेको छ। छिटै नेपाल, भारतसँगै वर्ल्ड प्रिमियर गर्दैछौं,’ निर्देशक सेनले बताए।
फेसबुक प्रतिक्रियाहरु