होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विपद्का बेला निजी अस्पतालको मनपरी शुल्क
समाचार

विपद्का बेला निजी अस्पतालको मनपरी शुल्क

प्रतिवेदन भन्छ– ‘बेड, अक्सिजन र रेम्डेसिभिर औषधि अपर्याप्त छ । शुल्क पनि अस्पतालपिच्छे फरकफरक छ ।’

  • नागरिक रैबार
विपद्का बेला निजी अस्पतालको मनपरी शुल्क

काठमाडौँ — कोभिड महामारीले चौतर्फी असर गरिरहेका बेला केही निजी अस्पतालले भने कमाउधन्दा सुरु गरेका छन् । महामारीका बेला सर्वसाधारणलाई सहुलियत दिनुको साटो चर्को शुल्क असुलेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र प्रहरीसहितको संयुक्त अनुगमनले अस्पतालपिच्छे फरक शुल्क असुल्ने गरेको भेट्टाएको छ ।

संयुक्त अनुगमन टोलीले सोमबार उपत्यकामा रहेका ५ अस्पताल नर्भिक, सहिद मेमोरियल, ब्लुक्रस, बयोधा र नेपाल नेसनल अस्पतालमा अनुगमन गरेको थियो । त्यस क्रममा औषधिको अपर्याप्ततासँगै मूल्य पनि फरकफरक पाइएको हो । ‘महामारीका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत केही सहुलियत दिनुपर्थ्यो, धेरै नाफा नखाएर उपचार सेवा दिनुपर्थ्यो,’ अनुगमनमा सहभागी एक कर्मचारीले भने, ‘यहाँ त उल्टो देखियो । महामारीमा सेवाभन्दा शुल्क असुल्ने धन्दा देखियो ।’

विज्ञापन

ती अधिकारीका अनुसार वयोधा अस्पतालमा अनुगमन गर्दा सरकारसँग कोभिड उपचारको सम्बन्धमा सम्झौता गरेको देखिएन । अस्पतालले सम्झौता नगरी कोभिडका बिरामी उपचार गरिरहेको थियो । बेड शुल्क पनि अत्यधिक थियो । बयोधाले आईसीयू बेड प्रयोग गरेबापत दिनकै १५ हजार ५ सय, भेन्टिलेटरको ९ हजार, परामर्श शुल्कबापत ३ हजार र आईपीसी सेवाको १० हजार शुल्क लिने गरेको ती अधिकारीले जानकारी दिए ।

अनुगमनका क्रममा ब्लु क्रसले कोभिडका लागि ३२ बेड छुट्याएको पाइएको थियो । यो अस्पतालले पनि कोभिड उपचारका लागि स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको थिएन । ब्लु क्रसले जनरल बेड प्रयोगबापत दिनको १० हजार र हाई पेडको १५ हजार रुपैयाँ शुल्क तोकेको ती अधिकारीको भनाइ छ । आईसीयू र भेन्टिलेटर प्रयोग गरेबापत २० हजार र परामर्श शुल्कबापत ३ हजार रुपैयाँ लिने गरेको उनले बताए ।

सहिद मेमोरियल अस्पतालमा पनि सोही प्रवृत्ति देखिएको थियो । अस्पतालले स्वास्थ्य मन्त्रालयसँग कोभिड अस्पतालका रूपमा सम्झौता गरेको भेटिएन । ‘नेपाल नेसनल अस्पतालमा अनुगमन गर्दा पनि कोभिड अस्पतालका रूपमा सम्झौता गरेको पाइएन । क्याबिनको शुल्क ४ हजारदेखि ६ हजार रुपैयाँ लिएको पाइयो । सिंगल क्याबिनको शुल्क ८ हजार रुपैयाँ थियो । आईसीयूको शुल्क १५ हजार र परामर्श शुल्क २ हजार रुपैयाँ लिएको पाइयो,’ ती अधिकारीले भने, ‘नर्भिक अस्पतालको अवस्था पनि उस्तै देखियो । कोभिडका लागि सरकारसँग सम्झौता थिएन । सरकारले तोकेको बेडको शुल्क पनि उसले लागू गरेको देखिएन ।’

बिरामीको चापका आधारमा बेड, अक्सिजन, रेम्डेसिभिर औषधि अपर्याप्त रहेको पनि अनुगमनका क्रममा भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अनुगमन भएकाले थप छानबिनको जिम्मा पनि जिल्ला प्रशासन कार्यालयलाई नै दिइएको ती अधिकारीले जानकारी दिए । सबै अस्पतालको अनुगमनमा तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । अनुगमनबाट प्राप्त रिपोर्टका आधारमा स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी बढी शुल्क लिनेविरुद्ध कानुनी प्रक्रिया थालिने उनको भनाइ छ । ‘रिपोर्टका आधारमा कानुनी प्रक्रिया थाल्छौं,’ उनले भने, ‘अहिले अनुगमनलाई निरन्तरता दिएका छौं । बुधबार पनि अनुगमन हुन्छ ।’

यसअघि संयुक्त बजार अनुगमन टोलीले वैशाख २३ मा सिभिल अस्पताल, केएमसी, ओम, मेडिकेयर, ह्याम्स, मेट्रो र ग्रान्डी अस्पतालमा पनि अनुगमन गरेको थियो । त्यति बेला रेम्डेसिभिर औषधिको आयात, आपूर्ति विवरण, उपलब्धतासँगै सेवा शुल्कमा केन्द्रित अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । त्यतिखेर पनि रेम्डेसिभिर औषधि पर्याप्त नभएको र अस्पतालपिच्छे सेवा शुल्कबारे भिन्नता देखिएको थियो ।

‘कतिपय अस्पतालको नियमन एवम् उपलब्ध सेवा र शुल्कबारेमा थप अध्ययन, छानबिन गर्नुपरेकाले कागजात पेस गर्न आदेश दिएका छौं,’ सेढाईंले भने । ठूला अस्पताल मात्र होइन, फार्मेसीमा अनुगनम गर्दा पनि कैफियत देखिएको उनले जानकारी दिए । कैफियत देखिएका फार्मेसी/औषधि पसललाई कारबाही गरिएको उनले बताए । पछिल्लो समय स्वास्थ्य सामग्रीको माग अत्यधिक बढेकाले अनुगमन पनि त्यही क्षेत्रमा केन्द्रित हुने विभागले जनाएको छ । ‘बुधबार पनि संयुक्त अनुगमन हुन्छ,’ सेढाईंले भने । इकान्तिपुरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि