धनगढी : धनगढीमा निर्माण भएको सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको उद्घाटन कार्यक्रममा अमेरिकी सेना आएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको छ। बर्दीधारी अमेरिकी सैनिक धनगढी पुगेर फर्किएको झण्डै एक महिनापछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको हो।
अमेरिकी सैनिक पोशाकसहित उपस्थित भएको भन्दै सांसद भीम रावल, प्रकाशमान सिंह, पुष्पा भुसाल, दीपप्रकाश भट्टलगायतले चासो राखेपछि परराष्ट्र मन्त्रालयसँग यस विषयमा जानकारी माग गरिएको समिति सभापति पवित्रा निरौलाले बताइन्। ‘भवन उद्धघाटन गर्न बर्दीधारी अमेरिकी सेना धनगढी पुगेको हो भन्ने खबर आएको छ,’ उनले भनिन्, ‘मान्यज्यूहरुले चाँसो राखेपछि परराष्ट्र मन्त्रालयसँग मैले जानकारी मागेकी छु।’
किन धनगढी पुगेको थियो बर्दीधारी अमेरिकी सैनिक ?
धनगढीमा निर्माण सम्पन्न भएको सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको उद्धघाटन र रेडक्रसलाई हस्तान्तरण गर्ने कार्यक्रम थियो साउन १ गते। झण्डै ११ करोडको लागतमा निर्माण सम्पन्न भएको रक्त सञ्चार केन्द्रको उद्धघाटन कार्यक्रममा सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड लगायतको उपस्थिती थियो।
सोही कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासको टोली पनि आयो। सोही टोलीमा बर्दीधारी अमेरिकी सैनिक पुगेका थिए। झण्डै एक महिनाअघि कैद गरिएको रक्त सञ्चार केन्द्र उद्धघाटनको तस्बिर अहिले भाइरल भएपछि देशभरी तरंग फैलिएको छ। नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले भने दूतावासको मापदण्ड अनुसार बर्दीधारी अमेरिकी सैनिक धनगढी पुगेको बताए। ‘सुदूरपश्चिम रक्त सञ्चार केन्द्र अमेरिकी जनताको सहयोगमा निर्माण भएको हो,’ उनले भने, ‘बर्दी लगाएर नै कार्यक्रममा उपस्थित हुनुपर्ने उनीहरुको नियम रहेछ। त्यसैले बर्दीसहित कार्यक्रममा पुगेका हुन्।’
अमेरिकी सैनिक बर्दीसहित धनगढी पुगेकोबारे नेपाली सेना भने बेखबर छ। अहिले नेपालमा एमसीसीबारे चर्चा चुलिएको सयममा अमेरिकी सैनिक बर्दीमा देखिएपछि देशभर विरोध भइरहेको छ। हुन त ०७५ माघमा रक्त संचार केन्द्रको भवन शिलान्यास गर्दा पनि अमेरिकी सेना बर्दीसहित धनगढी पुगेको थियो।
फेसबुक प्रतिक्रियाहरु