रुकुम पश्चिम – हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनि मनाइँदै छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथमा विभिन्न सचेतनामूलक कार्यक्रम यस दिवसको अवसरमा भइरहेका छन् ।
नेपालमा सामान्यतया नागरिक समाज र राज्यसमेतले दिवसका बेला तामझामसहित कार्यक्रम र अभियान सञ्चालन गरे पनि अन्य बेला भने लैङ्गिक हिंसा विरुद्धका गतिविधिहरु न्यून हुने गरेको छ । कमै हुने केही गतिविधिहरु पनि सहर केन्द्रित हुने गरेकाले गाउँमा हिंसाका घटना बढीरहेको धेरैकाे बुझाइ छ ।
गाउँमा हिंसाका घटनाहरु भइरहने तर हिंसा विरुद्धका सचेतनामूलक कार्यक्रम र्याली, गोष्ठी, सम्मेलन, बहस भने सहर केन्द्रित हुने गरेको गुनासो आम रुपमा छ । लैङ्गिक हिंसा र यसको कानुनी व्यवस्थाबारे नागरिकहरुले प्रष्ट जानकारी नपाउँदा कतिपय हिंसाका घटनाहरु अझै बाहिर आउन सकिरहेका छैनन् ।
हिंसाका घटना गाउँमै बढी हुन्छन्
महिलाहरुको मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य र दिगो जीविकोपार्जनका लागि जिल्लाको मुसिकोट नगरपालिका, बाँफिकोट र त्रिवेणी गाउँपालिकाका केही वडाहरुमा कार्यरत महिला पुनःस्थापना केन्द्र (ओरेक) का जिल्ला संयोजक दीपा धिताल पनि महिलामाथिको हिंसा गाउँमै बढी हुने कुरामा सहमत हुनुहुन्छ ।
उहाँका अनुसार सदरमुकाम केन्द्रित हुने सम्मेलन, गोष्ठी जस्ता सचेतनामूलक कार्यक्रमले गाउँका वास्तविक हिंसा प्रभावित महिला लाभान्वित हुन सकेका छैनन् । त्यसैगरी अन्तर पार्टी महिला सञ्जाल रुकुमका सचिव ब्युझना पुन देवकोटा पनि गाउँमा हिंसा बढी हुने र बजार तथा सहरमा कार्यक्रम केन्द्रित हुने गरेको स्वीकार्नु हुन्छ ।
‘बजार क्षेत्रमा पनि हिंसाका घटना त हुन्छन् नै तर चेतना, अशिक्षा, गरिबीको कारण गाउँमै हिंसाका घटना बढी छन्,’ सचिव पुनले भन्नुभयो, ‘गाउँमा रहेका पीडित महिलाहरुको पहुँचबाट यस्ता अभियान र सचेतामूलक कार्यक्रम निकै टाढा रहेका छन् । ’
सरोकारवाला निकायको ध्यान अलि दुर्गम र पिछडिएको समुदायमा पुग्न नसक्दा र भएका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन नहुँदा गाउँमा बढी हिंसा हुने गरेको उहाँको भनाइ छ । अन्तर पार्टी महिला सञ्जालमा चालु आर्थिक वर्षका आएका २४ वटा हिंसाका उजुरी पनि गाउँबाटै आएकाले गाउँमा बढी हिंसा हुने गरेको प्रष्ट हुने उहाँको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा आर्थिक वर्ष ०७८/०७९ को यस अवधिमा १९ वटा घरेलु हिंसाका उजुरी आएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताउनुभयो । मानसिक तनाव, लालनपालन नगरेको, रक्सी खाएर कुुटपिट गरेको लगायतका घटनाविरुद्ध आएका यी उजुुरी बढी मात्रामा गाउँ, टोलबाटै आउने गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
मुसिकोट नगरपालिकाको कार्यपालिका सदस्य कमला पुनका अनुसार बजारमा भन्दा गाउँमै लैङ्गिक हिंसाका घटना बढी मात्रामा हुने गरेका छन् । लैङ्गिक हिंसाविरुद्ध हुने गतिविधिहरु भने बजार केन्द्रित भएको उहाँको पनि भनाइ छ ।
सहरमा अलि शिक्षित व्यक्तिहरु बस्ने, विभिन्न सरकारी तथा गैर सरकारी निकायको उपस्थिति रहने र बढी मात्रामा गतिविधिहरु बजारमै केन्द्रित हुने भएकोले पनि सचेतनाका कार्यक्रम अब गाउँ केन्द्रित गर्न जरुरी रहेको कुरामा सदस्य पुनले जोड दिनुभयो । कतिपय कार्यक्रमहरु बजेट सक्नका लागि मात्र गरिने आरोप समेत उहाँले लगाउनुभयो । समुदायस्तरका महिलाका पीडा बजारबाट अनुभूति नहुने भएकोले पनि गाउँमा लैङ्गिक हिंसाका घटना बढी मात्रामा भइरहेको उहाँको दाबी छ ।
महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न र जननिर्वाचित संस्थाहरुमा महिलाहरुको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तिकरणलाई तीव्रता दिन मनाइने यस्ता दिवसीय कार्यक्रम उपलब्धिमूलक भए पनि सञ्चालन गर्ने परम्परागत शैलीमा परिवर्तन आउनुपर्ने कुरामा सबै एकमत हुनुहुन्छ ।
स्थानीय सरकारसँग न योजना न त बजेट
जनताको घरमै सिंहदरबार पुगेको अनुभूति दिलाउन सक्ने स्थानीय सरकार समक्ष पनि हिंसा विरुद्धका प्रभावकारी नीति तथा कार्यक्रम छैनन् । दिवस बाहेक जिल्लामा अन्य कुनै प्रभावकारी कार्यक्रम भएको पाइँदैन ।
ईन्सेक रुकुम पश्चिमका प्रतिनिधि मनिषा केसी हिंसाविरुद्धको मुद्दा नेताहरुका चर्का भाषणबाजीमा मात्र सीमित हुने गरेको बताउनुहुन्छ । ‘नारी दिवस र १६ दिने अभियानको बेला कुरा हुन्छन्, भाषण हुन्छन्,’ केसीले भन्नुभयो, ‘स्थानीय सरकारले पनि यस क्षेत्रमा दिवसीय कार्यक्रम बाहेक अरु गर्न सकिरहेको छैन ।’
जिल्लाको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले पनि स्थानीय सरकारले महिला हिंसाविरुद्ध प्रभावकारी कार्यक्रम ल्याउन नसकेको स्वीकार्नुहुन्छ । उहाँले आफूहरुले महिलामाथिको हिंसा सम्बोधन हुुने योजना र बजेट विनियोजनका कुरा उठाउँदा भै त राख्छन् नि ! भन्दै टार्ने गरिएको गुनासो व्यक्त गर्नुभयो । नेतृत्वमा बस्नेहरु नै जिम्मेवारविहीन भइदिँदा स्थानीय सरकारले टोल टोलमा प्रभावकारी कार्यक्रम गर्न नसकेको उहाँको भनाइ छ ।
महिला लक्षित बजेटबाट भवन निर्माण
जिल्लाको बाँफिकोट गाउँपालिकाकी उपाध्यक्ष मनकला पुनले महिला हिंसा विरुद्धको १६ दिने अभियान टोल टोलमा सचेतनाका कार्यक्रम आयोजना गर्दै मनाइरहेको बताउनुहुन्छ । दिवसबाहेक गाउँपालिकाले महिला लक्षित बजेट वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म विनियोजन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । तर, यो बजेट भने वडाहरुमा महिला भवन निर्माणमा खर्च हुने गरेको छ ।
गाउँपालिकास्तरीय महिला सञ्जालले योजना माग गरेर यस अघि ७ वटा वडामा र यस वर्षमा ३ वटा वडामा महिला भवन निर्माण गरेको जानकारी उहाँले दिनुभयो । भवन निर्माणका लागि अन्य योजनाहरुको बजेट पनि हालेको र यी भवनमा आवश्यकता अनुसार महिला नेतृत्व विकासका तालिमहरु सञ्चालन गरिएको उहाँ बताउनुहुन्छ ।
बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुतलगायतका कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । तर हिंसाको कारण खोतल्ने र हिंसा अन्त्यका लागि आवश्यक नीति तथा योजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न अब स्थानीय सरकार गम्भीर रुपले लाग्नुपर्ने सरोकारवालाहरुको सुझाव छ ।
संयुक्त राष्ट्र सङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । रुकुम पश्चिममा पनि दिवसको अवसरमा सरोकारवाला निकाय, पालिकाहरुले अभियानकै रुपमा सचेतनाका कार्यक्रमहरु गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु