नागरिक रैबार/बाजुरा २६ जेठ। जिल्लाको गौमुल गाउँपालिकाको वडा नं.६ सटेडा स्थित ग्वाडामा १५ रोपनि खेतियोग्य बाँझो जग्गामा ३०० बोट किविका विरुवा रोपी बगैचा स्थापना गरिएको छ ।
सटेडाका २० घरधुरीले गाई भैसिको चरन गौचरमा परिणत गरेको बाँझो जग्गालाई तहाँ रहेका सुनौलो कृषक समुह र साहारा कृषक समुहका सदस्यहरुले सामुहिक रुपमा किविको खेतीको शुरु गरेका हुन् ।
गौमुल गाउँपालिका वडा नं. ६ किवि खेतिका साथै अन्य फलफुलको पनि राम्रो सम्भावना भएको क्षेत्र हो । यहाँ सुन्तला जात, ओखर र स्याउको पनि बगैचा स्थापना गरी वडाका सम्पुणर् कृषकहरुलाई राम्रो आम्दानीको श्रोतको रुपमा विस्तार गर्ने वडाध्यक्ष प्रकाश रोकायाले जानकारी गराएका छन ।
गौमुल गाउँपालिका कृषि विकाश शाखा घट्मुना बाजुराले फलफुल विकाश कार्यक्रम अन्तरगत किवि बगैचा स्थापनाका लागि परिक्षण स्वरुप १५ रोपनि जग्गामा ३०० विरुवा रोप्न लगाईएको शाखाका प्राविधिक सहायक एवं शाखा प्रमुख दिपेन्द्र सार्कीले बताएका छन ।
सामान्यतया रोपेको ३ बर्षमा फल उत्पादन सुरु हुने किवि फल आ.व २०७६/२०७७ मा फलफुल बगैचा स्थापनाका लागि रोपेका विरुवा १.५ बर्षमै फल्न सुरु भएका छन शाखाका प्राविधिक रमेश विकले बताएका छन ।
ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना-तेस्रो चरणको करिव ५ लाख ५० हजार र गौमुल गाउँपालिका कृषि विकाश शाखाको ३ लाख लागतमा किवीको बगैचा स्थापनाका लागि थाक्रा व्यवस्थापन गरी बगैचा सुदृढिकरण गरिएको हो ।
कार्यक्षेत्र भित्रका सवै समुह समितिहरुलाई व्यावसायिक फलफूल खेती गरी आत्मनिर्भर बनाउन परियोजना निरन्तर सहयोग गरिरहने ग्रामिण जलश्रोत व्यवस्थाप परियाजना बाजुराका सल्लाहाकार पदमसिंह बिष्टले जानकारी गराएका छन ।
शिल्का बहुउपयोगी किवि खेति प्रवर्द्धन उपभोक्ता समितिले किवि खेती बगैचामा थाक्रा व्यवस्थापन गर्ने कार्यको अनुगमन गर्ने क्रममा समुदाय मातहतमा रहेका बाँझो जग्गा सदुपयोग गर्न कृषकलाई फलफुलखेती उत्पादनमा व्यावसायिक बनाउनको लागि गाउँपालिका निरन्तर लागि रहने गाउँपालिका उपाध्यक्ष सिता थापाले जानकारी गराएकी थिईन ।
फेसबुक प्रतिक्रियाहरु