होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसका लागि तीज र माइती कहिल्यै आउँदैनन्
समाचार

जसका लागि तीज र माइती कहिल्यै आउँदैनन्

अन्तरजातीय बिहेका कारण छोरीलाई वर्षौंसम्म ढोका थुन्ने माइतीले गर्दा कैयौं महिलाका लागि तीज आँसु लिएर आउँछ

  • नागरिक रैबार
जसका लागि तीज र माइती कहिल्यै आउँदैनन्

काठमाडौँ — तीजको रौनक सुरु भएपछि सुर्खेतकी राजकुमारी शाहीको मनमा उदासीको बादल डम्म लाग्न थालिहाल्छ । ११ वर्षयता कुनै तीजमा मन खुसी बनाएर नाचेको उनलाई सम्झना छैन । विवाहपछिको कुनै यस्तो तीज छैन, जहाँ माइतीको आँगनमा सुखदुःख साट्ने परम्पराको हिस्सा बनेकी हुन् ।

२०६८ भदौ १३ गते । तीज आउनुभन्दा ठ्याक्कै १० दिन अगाडि अप्रत्याशित घटना भयो । माइती परिवारै उल्टेर दैलेखको तोलीस्थित उनको घरमा मध्यरातमा हमला गर्न आइपुगे । त्यो आक्रमणमा राजकुमारीका ससुरा सेते दमाईमाथि खुकुरी बज्रियो । भोलिपल्टै उपचारका निम्ति सुर्खेत क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनले प्राण त्यागे । श्रीमान् सन्तबहादुर दमाईले राजकुमारीका माइतीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए । जिल्ला अदालत दैलेखले ९ महिनापछि २०६९ जेठ ३० मा मुख्य योजनाकार बिन्दकला शाही, खुकुरी प्रहार गर्ने जीवन शाही र कृष्ण खत्रीलाई जनही २० वर्ष कैद सजाय सुनायो । घटनामा संलग्न अन्य तीनलाई भने जनही ५ वर्षको सजाय सुनाइयो ।

विज्ञापन

सन्तबहादुर दमाई र राजकुमारी शाही ।

कथित तल्लो जातको केटासँग भागेर विवाह गरेपछि परिवारसँग सुरु भएको इबी हत्याको अवस्थासम्मै पुग्ला भनेर राजकुमारीले सोचेकी थिइनन् । त्यसपछि त उनका निम्ति माइतीको ढोका सधैंका लागि बन्द भयो । २०६८ साउन २८ मा भागेर सन्तबहादुरसँग बिहे गरेपछिका प्रत्येक वर्ष राजकुमारीलाई तीज असाध्यै बिझाउँछ ।

कान्तिपुरसँगको टेलिफोन कुराकानीमा उनले भनिन्, ‘सबैजना माइती जान्छन्, आमाले पकाएको खान्छन्, रमाउँछन् । तर मेरो भाग्यमा त्यस्तो रमाइलो लेखेकै रै’नछ ।’ उनलाई त यो चाडै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । आफ्नो विगत थाहा नपाएका साथीसंगीले ‘माइत जान्नौ’ भनेर सोध्दा उनको मन चिरिन्छ । ‘अरू तीजमा रमाइरहेका बेला म भने रोएरै दिन बिताउँछु,’ उनले भनिन् । विष्णु माझीले गाएको पछिल्लो तीज गीत ‘जेलैमा हो जेलैमा’ सुन्नेबित्तिकै उनलाई भक्कानो छुट्दो रहेछ । ‘जतिपल्ट यो गीत सुन्छु, त्यतिपल्ट रुन्छु । चरी जेलैमा भन्दा म पनि जेलैमा छु भनेजस्तो हुन्छ,’ राजकुमारीले भनिन् ।

उनका श्रीमान् सन्तबहादुर अहिले गुल्मीतिर मजदुरी गर्छन् । उनी भने ९ र ५ वर्षका छोरा हुर्काएर एककोठे डेरामा गुजारा चलाइरहेकी छन् । राजकुमारीले तीजपछि आउने सबै चाड खल्लो लाग्ने गरेको अनुभव साटिन् । ‘११ वर्ष नै भयो भाइको हातबाट टीका नलगाएको । त्यति नै वर्ष भयो माइतीमा गएर दसैं नमनाएको,’ उनले सुनाइन् । सुरुसुरुमा छोराहरूले पनि चाडबाडमा ‘मामाघर जाम्’ भनेर हैरान पार्थे । त्यतिबेला राजकुमारीले ‘हाम्रो मामाघर नै छैन बाबु’ भन्दै सम्झाउँथिन् । उनले भनिन्, ‘अहिले त हाम्रा बाबुआमाले अन्तरजातीय विवाह गरेका हुन् भन्ने उनीहरूले बुझेजस्तो लाग्छ ।’

माछापोखरीमा बस्ने अन्नपूर्ण केसीसँग पनि राजकुमारीको जस्तै वर्षौंदेखि माइतीको आँगन नटेकेको तीतो अनुभव छ । २०५६ सालमा आफूले रोजेको केटासँग बिहा गरेपछि उनका निम्ति माइतीको आँगन सधैंका निम्ति बन्द भयो । अनेक रंगीन रहर र सपना सँगालेर उनले बिहे गरिन् तर जीवन सोचेजस्तो भएन । विवाहकै कारण माइतीबाट टाढिएकी अन्नपूर्णको सम्बन्ध श्रीमान्सँग पनि राम्रो रहेन । सात वर्षयता दुई छोराछोरी सम्हालेर बसिरहेकी उनले तीजका बेला ढोका थुनेरै बस्ने गरेको सुनाइन् । ‘तीजका गीत सुन्दा झनै रुन मन लागेर आउँछ,’ उनले भनिन्, ‘तीजको गीतमा माइती जाने, मिठोमिठो दर खाने भन्ने प्रसंग जब आउँछ, मेरा आँखा भरिन्छन्,’ उनले भनिन्, ‘कतिलाई आमा नभएको पीडा छ । तर मलाई त आमा भएर पनि नभएजस्तो छ । माइती भएर पनि नभएजस्तो भएको छ ।’

परिवारको सहमतिबिना अन्तरजातीय विवाह गरेका धेरै हिन्दु महिला माइतीबाट परित्यक्त भएका छन् । दलित अध्येता शिवहरि ज्ञवाली जात व्यवस्थाको मुख्य अवयव भनेकै महिलामाथिको नियन्त्रण रहेको बताउँछन् । ‘जात व्यवस्था र महिलामाथिको शोषण अन्तरसम्बन्धित छ,’ उनले भने, ‘परिवारको सहमतिबेगर र अन्तरजातीय विवाह गरेका महिलाहरूलाई माइतीले प्रतिबन्ध नै लगाएर सजाय दिइरहेका छन् ।’ यस्तो अवस्थामा माइतीले ‘छोरी मरी’ भनेर किरिया नै गरेको घटना पनि उनले सुनेका छन् । ‘हिन्दु समाजमा परिवारसँग बसेर मनाउने तीजजस्ता चाडबाडमा महिलालाई निषेध गरेर वर्षौंसम्म सजाय दिने अभ्यास कायमै छ,’ उनले भने, ‘जन्म दिने बाबुआमा नै आफ्नी छोरीको खुसी खोस्न वर्षौंसम्म तम्तयार देखिने अभ्यासले जात व्यवस्था कति कठोर र महिलाद्वेषी रहेछ भनेर बुझाउँछ ।’

अध्येता ज्ञवालीले भनेजस्तै कथा बालाजुमा बस्ने सुनिता श्रेष्ठको पनि छ । उनले परिवारले खोजेकै केटासँग मागी विवाह गरिन् । तर विवाहको केही वर्षपछि उनी घरेलु हिंसामा परिन् । ‘बिहेपछिका केही वर्ष श्रीमान्ले माइती जान दिएनन् । ‘जब हिंसा भएका कुरा बाहिर ल्याएँ तब माइतीले श्रीमान्कै पक्ष लिएर मलाई बहिष्कार गरे,’ उनले सुनाइन् । करिब १३ वर्षयता उनले माइतीको आँगन टेकेकी छैनन् । अहिले उनको सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

हिंसा भोगेका महिलालाई सेल्टर दिने संस्था रक्षा नेपाल चलाएर बसेकी मेनुका थापाले तीजका बेला रोएर दिन कटाउने कैयौं महिला देखेकी छन् । ‘तीजको धार्मिक र सांस्कृतिक एउटा पाटो होला तर यसको बेग्लै सामाजिक पक्ष पनि छ,’ उनले भनिन्, ‘परिवारसँग विद्रोह गरेका महिलालाई माइतीले अस्वीकार गर्ने र चाडबाडमा ढोका थुन्ने गरेको पनि देखिन्छ ।’

तीजको रमझम सुरु भएपछि एक महिलाले टिकटकमार्फत आफूले माइतीघर टेकेर तीजको दर नखाएको १३ वर्ष भएको कथा सुनाएकी छन् । उनले लेखेकी छन्, ‘मैले आफूखुसी बिहे गरें । त्यो पनि अन्तरजातीय । मेरो बिहेपछि मम्मीबुबाहरू काठमाडौं आएर बस्नुभयो । हामी तीन दिदीबहिनी हौं । तर मम्मीले मेरो २ वटा छोरीहरू मात्रै हो भन्नुहुन्छ रे ।’

टिकटकमा ती महिलाले राखेको यस्तो कथामा सयौं महिलाले प्रतिक्रिया व्यक्त गरे । जसमा केही यस्ता महिला पनि थिए, जसको कथा उनैको जस्तो थियो । कान्तिपुरले टिकटकमार्फत उनीसँग सम्पर्क गरे पनि उनले माइतीको इज्जत जाने भन्दै सबै कथा सार्वजनिक गर्न नसक्ने बताइन् । बुद्धशान्ति नेपाल नामक संस्थामार्फत सक्रिय महिला अभियन्ता बेसमाया लामाले आफ्नै छोरीचेली माइत आए इज्जत जान्छ भन्ने बाबुआमाको हठ पनि देखेकी छन् । ‘तल्लो जातसँग बिहे गरेर मात्रै होइन, हुनेखाने परिवारका छोरी गरिबसँग बिहे गरेपछि माइतीले सधैंका लागि ढोका बन्द गरिदिएका छन्,’ उनले भनिन्, ‘चाडबाडमा रुने महिलाहरू पनि माइतीको इज्जत जान्छ भनेर बोल्छ डराउँछन् ।’

विवाहको समाजशास्त्रबारे दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीमा विद्यावारिधि शोधरत सीपी अर्याल विवाह समाज–निर्मित संस्था भएकाले यसभित्रका अन्तरसम्बन्धित पाटा पनि समाजले नै निर्धारण गर्ने बताउँछन् । हिन्दु वर्ण व्यवस्थामा विवाहलाई जात व्यवस्थाले थप जटिल बनाएको उनको बुझाइ छ ।

‘सामाजिक पुँजी अर्थात् सोसियल क्यापिटल राम्रो भएको कट्टर हिन्दुवादी परिवारलाई अन्तरजातीय बिहे स्वीकार्न अति गाह्रो हुन्छ,’ उनले भने, ‘यसको विपरीत प्रतिष्ठा, मान वा इज्जतजस्ता सामाजिक पुँजी मनग्य भएका परिवार ‘तल्ला जात’ को भए त्यहाँ अन्तरजातीय विवाह टिक्ने गरेको र परिवारले पनि सहजै स्वीकार्ने गरेको अनुसन्धानहरूले देखाएका छन् ।’कान्तिपूरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार