होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुगमका बजेट चिल्ला सडकमा, दुर्गमका बजेटजति गोरेटो बाटोमा
समाचार

सुगमका बजेट चिल्ला सडकमा, दुर्गमका बजेटजति गोरेटो बाटोमा

एक किलो नुन किन्न सय रुपैयाँ

  • नागरिक रैबार
सुगमका बजेट चिल्ला सडकमा, दुर्गमका बजेटजति गोरेटो बाटोमा

मनाङ- साउन २४ । मनाङको नार्पाभूमि गाउँपालिकाले ६० प्रतिशत भन्दा बढी पूँजीगत रकम गोरेटो–घोडेटो बाटो निर्माणमा खर्च गर्ने भएको छ । गण्डकी प्रदेशमै सडक संजाल नपुगेको पालिका हो, नार्पाभूमि । तल्ला क्षेत्रमा चिल्ला सडक निर्माणको प्रतिस्पर्धा चलिरहँदा नार र फु गाउँमा गोरेटो बाटो बनाउनै भ्याई नभ्याई छ ।

उनीहरुका लागि मोटर चढेर गाउँ पुग्ने सपना आकाशको फल जस्तो छ । त्यसैले पालिकाको अधिकांश बजेट समेत गोरेटो बाटोमा खर्च गरिएको हो । यो वर्ष ७ करोड पूँजीगत खर्च छ । वर्षेनी अधिकांश रकम गोरेटो बाटोमा खर्च हुने गरेको पालिकाले जनाएको छ ।

‘मान्छे हिड्ने बाटो पनि राम्रो छैन । सडकको कुरा धेरै पर भयो । घोडेटो बाटो बनाउन ठूला पहाड फोड्नुपर्छ,’ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डित भन्छन्,‘उत्तरी गाउँलेलाई दुख छ ।’ गएको बर्खामा यी बाटोहरु पूरै ध्वस्त भएका छन् । ‘अहिले त पानी नै आएको हो । कति पुराना मान्छेले पनि यसअघि पानी परेको थाहा पाएका रहेनछन्,’ उनले भने, ‘जलवायू परिवर्तनकै असर हुन सक्छ । ४ वर्ष लगाएर बनाएको बाटो सबै बग्यो ।’

विज्ञापन

यो वर्षको बजेटमा पनि अधिकांश रकम बाटोमै खर्च गरिएको उनले सुनाए । कोतोदेखि मेतासम्मको बाटोका लागि ५० लाख र क्याङदेखि फूसम्मको बाटोका लागि २० लाख रुपैयाँसमेत गरी पालिकाबाट ७० लाख विनियोजन भएको छ ।

वडाका पैसा पनि सबै बाटोमै लगाइएको कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का सदस्य सोनाम लाक्पा शेर्पाले बताए । ‘४ नम्बर वडालाई ६० लाख रुपैयाँ बजेट परेको थियो । ३० लाख बाटोको ट्रयाक खन्ने निर्णय भएको छ । ५ नम्बरले पनि बाटोमै लगायो,’ उनले भने, ‘अरु वडाले पनि धेरै पैसा मान्छे हिड्ने बाटोमै लगाएका छन् । हामीलाई मान्छे हिड्ने बाटो नै सबैभन्दा ठूलो विकास हो ।’

उनका अनुसार वडा नम्बर १ ले १८ लाख, २ ले ५० लाख, ३ ले १० लाख र ५ ले २२ लाख रुपैयाँ बाटो बनाउनमै खर्च गरेका छन् । त्यसबाहेक काठेपुल निर्माण र पर्खाल निर्माणमा थप पैसा खर्च भएको छ । खच्चड हिड्ने बाटो समेत नभएकोले त्यहाँका स्थानीयलाई हेलिकोप्टर मार्फत खाद्यान्न ओसारेर वितरण गरिएको छ ।

सडक संजाल नपुगेकोले नार र फु क्षेत्रमा ढुवानी निकै महंगो पर्छ । तल्लो क्षेत्रको तुलनामा यी गाउँहरुमा ८ गुणासम्म मुल्य बढी छ । एक पोका नुनको मुल्य १ सय रुपैयाँ भन्दा बढी पर्छ । ढुवानीका कारण दैनिकी महंगो परेको स्थानीय सोनाम तेजे लामाले बताए ।

‘खच्चडमा ल्याउँदा एक किलोको ६० रुपैयाँ पर्छ । महंगो साह्रै छ,’ उनले भने,‘मान्छेलाई लगायो भने एउटैले १० हजार रुपैयाँसम्म भाडा लिन्छन् । अनि कसरी चल्छ ?’

पालिकाले कोतोदेखि सडक निर्माणको काम सुरु गरेको छ । तर भीमकाय भीर भएकोले बजेटको उपयोग खासै हुन पाएको छैन । प्रदेश सरकारले पहिलो कार्यकालभित्रै सबै पालिकामा सडक संजाल पुर्‍याउने दावी गरेपनि नार्पाभूमिमा सडक संजाल पुग्ने संकेत देखिँदैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार