काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न चुनावसम्मै गठबन्धन कायम रहने र चुनावी तालमेल हुने बताउँछन् । तर कांग्रेसकै कतिपय नेताहरू चुनावमा तालमेल गर्न नहुने बताउँछन् ।
प्रचण्डकै गृहजिल्ला चितवनमा कांग्रेस जिल्ला सभापतिले कांग्रेसकै चुनाव चिह्न रुखमा मतदान गर्ने अडान राखेका छन् । जसले गर्दा प्रचण्ड चिन्तित भएको अभिव्यक्ति आइसकेको छ । यस्तो बेला प्रचण्डको इच्छा अनुसार देशैभर चुनावी तालमेल होला ?
कांग्रेस पार्टीभित्र विगतको निर्वाचनको अभ्यास र पार्टीभित्र बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै गएको छ ।
नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धेरै स्थानमा अन्य दलसँग तालमेल गरी आफ्ना उम्मेदवारलाई फिर्ता गराएको थियो भने सोही कारण कांग्रेस नेता कार्यकर्ता अन्य दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य भएका थिए ।
‘त्यसबेला कतिपय स्थानमा तालमेल गरिएका दलबाटै घात हुँदा कांग्रेसका शीर्ष तहका नेताहरू समेत पराजित हुन पुगेको अवस्था बन्यो,’ कांग्रेस स्रोतले भन्यो । सोही परिणामबाट पाठ सिक्दै अहिले भने कांग्रेसले देशभर तालमेल नगरी आवश्यकता हेरेर मात्रै अन्य दलसँग तालमेल गर्ने नीति अघि सार्ने तयारी गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालीन आवश्यकता हेरेर निर्वाचनमा तालमेल हुने कि नहुने निधो हुने बताए । पौडेलले जनकपुरमा आयोजित नेता कार्यकर्तासँगको भेटमा आगामी निर्वाचनमा तालमेल गर्ने अवस्था नरहेको बताएका छन् ।
एक कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले निर्वाचनमा देशभर नभई केही स्थानमा मात्रै आवश्यकता हेरेर अन्य दलसँग चुनावी तालमेल हुने सम्भावना रहेको बताएका छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् ।
‘चुनावी तालमेलका विषयमा पार्टीभित्र एकमत छैन, फरक–फरक धारणा आइरहेका छन्, देशैभर तालमेलको सम्भावना त नहोला, केही स्थानमा हुनसक्छ,’ उनले भने ।
कांग्रेसका युवा नेता गगनकुमार थापाले पनि केही दिनअघि धादिङ र चितवनमा आयोजित कार्यक्रममा कांग्रेस कोहीसँग तालमेल गरेर नभई एक्लै आफ्नै तागतले निर्वाचनमा होमिने तर्क गरेका छन् ।
उनले आगामी निर्वाचनमा कुन निर्वाचन चिह्नमा मत हाल्ने भनेर अल्मलिन पर्ने अवस्था आउन नदिने भन्दै आफ्नै दलको चिह्न रुखमा मतदाताले मतदान गर्न पाउने बताएका छन् ।
हाल कांग्रेससहित, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले केन्द्रीय सत्ता सहयात्रामा गठबन्धन गरिरहेका छन् । यी दलहरूबीच नै आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल हुनसक्ने देखिएको छ ।
‘शीर्ष नेताहरू उठ्ने निर्वाचन क्षेत्रमा आवश्यकता हेरेर तालमेल हुनसक्छ, बाँकी स्थानमा यसपटक तालमेल गर्नुहुन्न भन्ने विषय पार्टीभित्र उठिरहेको छ, यसपटकको तालमेल पहिलेजस्तो हुन्न,’ कांग्रेस सभापतिनिकट एक नेताले भने ।
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले नेपाली कांग्रेस माधव नेपाल र प्रचण्डको बुइँ चढ्न नहुने तर्क गरेका छन् । काठमाडौंमा बीपी स्टडी युथ केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावी तालमेल गर्न नहुने मत राखे ।
उनले आगामी दिनमा कांग्रेस एक्लै लडाइँ लड्न सक्ने हुनुपर्ने बताएका छन् । उनले भने, ‘अब अरुसँग घाँटी जोडेर होइन, एक्लै जनतामाझ जानुपर्छ ।’
कांग्रेसको महाअधिवेशन केही सीमित नेताको लागि नभई समग्र पार्टीका नेता कार्यकर्ता र आमनेपालीको सरोकारको विषय भएको उनले बताए । उनले भने, ‘नेपाली कांग्रेसको महाअधिवेशन समयै गरेर युवालाई उच्च तहसम्म नेतृत्वमा ल्याउनुपर्नेमा विभिन्न बहानामा महाअधिवेशन सारिनु गलत भएको छ ।’
फेसबुक प्रतिक्रियाहरु