२५ माघ, काठमाडौं । २०७६ चैतदेखि बन्द भएका काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरूले माघ पहिलो साताबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न थाले । अनलाइन कक्षा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीको हकमा प्रभावकारी नदेखिएपछि केही अभिभावककै दबाबका कारण प्राथमिक तहमा अध्यापन गराउने धेरै विद्यालयमा नियमित कक्षा सुरु भएको हो ।
सम्भावित जोखिमको जिम्मेवारी अभिभावकले नै लिनेगरी स्कुल त खुले तर बच्चा पठाउने कि नपठाउने भन्नेमा अझै धेरै अभिभावकहरू अन्योलमा छन् । उनीहरूले सम्बन्धित विद्यालयमा सम्पर्क गरेर सुरक्षा प्रवन्धबारे चासो दिने गरेका छन् । कतिपयले जोखिमको डरले यस वर्ष विद्यालय नै नपठाउनेसम्मको जानकारी दिएको सम्बन्धित विद्यालयले जानकारी दिएको छ ।
गत साउन र भदौ महिनादेखि नै काठमाडौंका केही मन्टेस्वरी स्कुलहरूमा फाट्टफुट्ट विद्यार्थीहरू आउन थालिसकेका थिए । त्यतिबेला कोरोनाको जोखिम उच्च बिन्दुमा पुगे पनि धेरै अभिभावकहरुले काममा जानै पर्ने बाध्यताका कारण विद्यालयलाई अतिरिक्त शुल्क दिएर बच्चा पठाउने गरेका थिए ।
त्यस्तै अभिभावकहरूले बच्चालाई धेरै समय दिँदा आफ्नो रोजगारीमा समस्या सिर्जना भएको भन्दै विद्यालय पठाउन हतारिएको भए पनि अरू अभिभावकहरुमा संशय पैदा भइरहेको सम्बन्धित विद्यालयका अधिकारीहरु बताउँछन् ।
संशयका कारण नै घटे स्कुलमा विद्यार्थी
निजी विद्यालयको छाता संगठन प्याब्सनका अध्यक्ष टीकाराम पुरी प्राथमिक तहमा घटेका करिब २५ प्रतिशत विद्यार्थीहरू जोखिमका कारण नै विद्यालय जान छाडेको सुनाउँछन् । पुरीका अनुसार अधिकांश अभिभावकले यस वर्ष भर्ना नगर्ने र अर्काे वर्षदेखि मात्रै नियमित स्कुल भर्ना गर्छु भन्ने अभिभावकहरुको संख्या पनि धेरै छ ।
पुरी विद्यार्थीको सुरक्षाको लागि सबै निजी विद्यालयहरूले सुरक्षा सतर्कता अपनाएको भन्दै अभिभावकहरूलाई विद्यालय पठाउन हिच्किचाउनुपर्ने अवस्था नरहेको बताउँछन् । यति हुँदाहुँदै पनि यस विषयमा दबाब दिनु उपयुक्त नहुने भन्दै यदि यो वर्ष विद्यालय पठाउन अनिच्छुक अभिभावकले अर्काे वर्ष मात्र विद्यालय पठाउँछु भन्नु पनि स्वाभाविक र जायज रहेको उनी बताउँछन् ।
त्यसो त यस्तो समस्या सरकारी विद्यालयमा पनि छ । माघ पहिलो सातादेखि स्कुल खुलेको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतम पनि प्राथमिक विद्यालयका बच्चाहरूलाई कोरोनाविरुद्धको स्वास्थ्य मापदण्ड लागू गर्नु चुनौतीपूर्ण रहेको बताउँछन् । ठूलालाई सम्झाउँदा सम्झिने भए पनि चन्चले स्वभावका विद्यार्थीहरू भएकाले प्राथमिक तहका बच्चालाई स्कुल पठाउन अभिभावकहरूले नै संशय व्यक्त गर्ने गरेको उनी बताउँछन् ।
कोरोनाकाल अघिसम्म कम्पाउण्डभरि विद्यार्थीले भरिभराउ हुने घट्टेकुलोस्थित सिटी मन्टेस्वरी स्कुलमा आजभोलि दिनभरि सुनसानप्रायः हुने गरेको छ । कुल २१२ जना विद्यार्थी रहेको सो स्कुलमा २५ प्रतिशतले विद्यालय छाडे भने ९० जना मात्रै स्कुल आउने गर्छन् ।
त्यस्तै, बाफलको संस्कार स्कुलले कक्षा एक र दुईमा कक्षा सञ्चालन गरिरहेको छ । करिब ३ दर्जन विद्यार्थी रहेको स्कुलमा अहिले मुस्किलले २० जना विद्यार्थी मात्रै आउने गरेका छन् । बाँकीले स्कुल पठाउने कि नपठाउने भन्ने दोधारमा देखिएको बताउँछिन् विद्यालयकी प्रधानाध्यापक पूजा गौतम ।
‘अझै पनि धेरै अभिभावकहरू जोखिमका कारण बच्चालाई स्कुल पठाउने कि नपठाउने भन्ने दोधारमा छन् । तर हामी भने ढुक्कसँग विद्यालय पठाउन आग्रह गर्छौं,’ उनले भनिन् । गौतम बच्चालाई घरमा राख्दाभन्दा स्कुल पठाउँदा जोखिम कम हुने बताउँछिन् ।
स्कुल आउँदा उनीहरू विद्यालयको निगरानी र नियन्त्रणमा हुन्छन् तर घरमै बस्दा कोसँग खेल्छन् र कहाँ जान्छन् भन्ने थाहा नहुने भएकाले पनि सुरक्षित हिसाबले विद्यालय पठाउनु उपयुक्त हुन्छ भन्ने उनको मत छ ।
मन्टेस्वरी तहको स्कुलको लागि तोकिएको अन्तर्राष्ट्रिय मापदण्डले एउटा कक्षाकोठामा विद्यार्थी राख्दा एउटा शिक्षकले सबै विद्यार्थीले सोधेको जिज्ञासाको तत्कालै उत्तर दिन सक्ने जति मात्रै हुनुपर्छ भनेको छ । यसको अर्थ एउटा कक्षा कोठामा बढीमा ६ जनादेखि आठ जनाभन्दा धेरै हुनुहुन्न भन्ने मान्यता हो । यही मापदण्डलाई पालना गर्ने हो भने कोरोनाको जोखिम पनि कम हुने सिटी मन्टेस्वरीकी प्रधानाध्यापक पुष्पा रिजालको तर्क छ ।
के भन्छन् जनस्वास्थ्य विज्ञ ?
जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित अब विद्यालयमा बच्चा पठाउन कुनै द्विविधा लिनुपर्ने अवस्था नरहेको बताउँछन् । अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि १५ वर्ष मुनिका बच्चालाई कोरोना भाइरस सरे पनि त्यसबाट प्रसार हुने सम्भावना कम भएको र विद्यालयबाट कोरोना सरेको भन्ने तथ्यांक पनि कम भएकाले अब विद्यालय खोल्न र विद्यालयमा बच्चा पठाउन कुनै द्विविधा हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।
ग्रामीण भेगका विद्यालयहरुमा जोखिम अत्यन्त न्यून रहेको र काठमाडौंकै विद्यालयमा पनि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न सक्ने अवस्था रहेको उनी बताउँछन् । ‘मापदण्ड र त्यसमा पनि मास्क त अनिवार्य नै हुन्छ । त्यसैले मास्क लगाइदिने र निकाल्न नदिने हो भने अरू धेरै चिन्ता लिनु आवश्यक छैन ।’
मुखमा मास्क अड्याउनु नै चुनौती
काठमाडौंका झण्डै आधा दर्जन मन्टेस्वरी स्कुलमा जाँदा अधिकांशको समस्या एउटै थियो, बच्चाको मुखमा मास्क अड्याउन नै मुस्किल भयो ।
सिटी मन्टेस्वरीकी प्रधानाध्यापक रिजाल बच्चाको चन्चले स्वभावका कारण मुखमा मास्क अड्याउनै समस्या रहेको बताउँछिन् । कोरोनाको जोखिम नबढोस् भनेर एउटा कक्षामा ६ देखि ८ जना मात्रै राखेर पढाउन थालेको भएपनि यो चुनौती आफूहरुमाझ रहेको उनी बताउँछिन् ।
डा. दीक्षित बच्चालाई सम्झाएर हुन्छ कि उनीहरूलाई नियमित निगरानी गरेर हुन्छ मुखबाट मास्क खोल्न दिनै नहुने बताउँछन् । तर बच्चाको हकमा मास्क लगाउने नियमलाई पालना गर्न सकियो भने अरू विषयलाई गौण मान्न सकिने उनी बताउँछन् ।
फेसबुक प्रतिक्रियाहरु