धनगढीः बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने बुवा अझै नियन्त्रणमा आएका छैनन्।
आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महरा अझै नियन्त्रण बाहिर रहेका हुन्।
उनले शनिबार साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार महराले श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि गोली चलाएका थिए।
प्रहरी निरीक्षक धामीले भने, ‘गोली लोड गरेको बन्दुक लिएर फरार भएका महराले जो अगाडि आउँछ उसैलाई सुट गरिदिने चेतावनी दिएपछि प्रहरी समेत संसकित र सतर्कताका साथ काम गरिरहेको छ। उनको खोजी कार्य पनि जारी छ।
छोरीको हत्या गरेका महराले आफ्नै घरमा आगजनी समेत गरेका छन्। पुर्चाैडी नगरपालिका–१० का वडा अध्यक्ष जीतबहादुर बिष्टका अनुसार महराले शनिबार राति आफ्नो २ वटा घर मध्ये १ वटा घरमा आगजनी गरेका हुन्।
महराका २ श्रीमती छन्। कान्छी श्रीमती सँग विवाद भएको थियो। आफ्नी आमाको पक्ष लिएपछि मृतक बेलमतीमाथि महराले गोली प्रहार गरेको वडा अध्यक्ष बिष्टले दिनेशखबरलाई बताए।
हाल सो क्षेत्रमा प्रहरी परिचालन गरिएको र महराको खोजीकार्य भइरहेको बताइएको छ। तर हालसम्म नियन्त्रण बाहिर रहेको बिष्टको भनाइ छ।
बैतडीमा एकपछि अर्को आपराधिक घटना थपिएको छ। बैतडीकै दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या घटनाको अनुसन्धानले पूर्णता नपाउँदै गोली काण्डको अर्को घटना थपिएको हो। यी २ घटनापछि नेपाल प्रहरीकै ध्यान यतिबेला बैतडीमा कन्द्रित भएको छ। सुरक्षा अधिकारीहरु बैतडी आउनेक्रम जारी छ।
फेसबुक प्रतिक्रियाहरु