नागरिक रैबार/बाजुरा २२ असार । बाजुराको त्रिवेणी नगरपालिका-४ का ४१ वर्षिया शारिरीक रुपमा असक्त टेक साउँदलाई बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले उनको घरमै पुगेर नागरिकताको प्रमाण पत्र प्रदान गरेका छन् ।
साउँदको शारिरीक अवस्थाले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बाजुरा जान समस्या भएपछि उनलाई घरमै पुगेर सहायक प्रजिअ भण्डारीले नागरिकता प्रदान गरेको बताईएको छ ।
४१ वर्षको उमेरमा नागरिकता प्रदान गरेका उनी पारिवारीक समस्याले गर्दा सानैदेखि कामको सिलसिलामा भारतमा बस्दै आएका थिए । उनी कोरोना महामारीका कारण एकवर्ष अगाडी घरमा आएका थिए । पहिला भारतमै बढी जाने भएकोले नागरिकता बनाउन उनले पाएका थिएनन् ।
पाँच महिना पहिले जंगलमा घाँस काट्न गएको समयमा रुख ढलेर टेक साउँदको ढाडमा लागेर ढाड भाँचिएको हो । शारिरिक रुपमा अशक्त भएपछि बर्षातमा बोकेर सदरमुकाम लिन गाह्रो भएकाले सबै काजजातहरु जिल्ला प्रशासन कार्यालयमा इमेल गरे पछि सहायक प्रमुुख जिल्ला अधिकारीले सोमबार घरमै आएर नागरिकताको प्रमाण पत्र दिएको त्रिबेणी नगरपालिकाका ३ का वडा अध्यक्ष मीन बहादुर भण्डारीले बताएका छन् ।
टेक साउँदका १ छोरा १ छोरी श्रीमती र बुढा आमा बुवा छन् । बिबाह दर्ता र श्रीमतीको नागरिकता पनि बनेको छैन् । अब वडा कार्यालयमा बिबाह दर्ता गरेर श्रीमतीको नागरिकता बनाउन पहलमा लागेको वडा अध्यक्ष भण्डारीले बताए ।
फेसबुक प्रतिक्रियाहरु