नागरिक रैबार/बाजुरा १९ मंसिर।सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला हो बाजुरा । बाजुरालाई सडक संजालसंग जोड्न विस २०५१ सालमा अछामको साँफेबगर देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर सडक तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले सिलानास गरेका थिए ।
सडक सिलानास गरिएको २३ वर्षपछि मात्रै बाजुराको सदरमुकाम मार्तडीसम्म पक्की सडक संजाल जोडिएको थियो । सदरमुकाम मार्तडीबाट बस सेवा सूरु भएको पनि झण्डै पाँच वर्ष वितिसकेको छ । सदरमुकाममा बस त पुग्यो तर बसहरु पार्किङका लागि वसपार्क भने अझै बन्न सकेको छैन् ।
बाजुराको सदरमुकाम मार्तडीमा पछिल्लोसमय बढ्दो सवारी चापका कारण पैदल यात्री र आम सर्वसाधारणको आवतजावतमा समस्या भएको छ । सवारीसाधन व्यवस्थापनका लागि जिल्लाको सदरमुकाममै बसपार्क नहुँदा सडक छेउको पार्किङले सर्वसाधारणलाई समस्या भएको हो । जिल्ला सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा वर्षेनि बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको स्थानीय विनोद विकले बताएका छन् ।
सडकछेउमै सानादेखि ठूला सवारीसाधन पार्किङ गरेर राख्दा काम विशेषले घरबाहिर हिँंडेका पैदलयात्रीलाई ज्यान जोगाउनै मुस्किल भएको छ । साँघुरो सडकमै गरिने पार्किङ र त्यसमै दिनुहँ सवारीसाधनको ओहोरदोहोरले विद्यार्थी, साना बालबालिका, वृद्धवृद्धा र बिरामी बढी मारमा परेका छन् ।
बडीमालिका नगरपालिकाको ८ र ९ स्थित पातल भन्ने स्थानमा निर्माण गर्ने भनिएको बसपार्कको काम समेत अहिले अलपत्र अवस्थामा छ । तर बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले भने सदरमुकामको पार्किङ समस्यालाई मध्येनजर गर्दे छिट्टै वसपार्क निर्माणको कामलाई सूर गरिने बताएका छन् ।
मार्तडीमा बसपार्क नहुँदा लामो समयदेखि कारागार, दुनिहाटबजार, डिआरमष्ट लगायतको मुख्य सडक छेउ हाल सवारीसाधनको पार्किङस्थल बन्दै आइरहेको छ । बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क निर्माणका लागि बडीमालिका नगरपालिकाले लाखौ रकम खर्च गरिसकेको छ । तर भौगोलिक समस्यालगायतका विविध कारण देखाउँदै नगरपालिकाले हालसम्म बसपार्क निर्माणमा चासो नदिएपछि बसहरु सडक छेउमै पार्किङ गरेर राख्नु पर्ने बाध्यता रहेको यातायात व्यवसायीको भनाई छ ।
अछामको साँफेबगर हुँदै बाजुरा सदरमुकामसम्मको सडक यातायात जोडिएको एक दशक वितिसक्दा पनि जिल्लामा हालसम्म बसपार्क निर्माण नभएपछि स्थानीय आक्रोसित हुँदै आएका छन् ।
फेसबुक प्रतिक्रियाहरु