दाम्पत्य जीवन कसरी सुखमय बन्छ ? कसरी उनीहरुलाई खुशी र आनन्द मिल्छ ? किनभने कतिपय दाम्पत्य सम्बन्ध त्यति प्रेमिल हुँदैन । उनीहरुबीच विश्वास र प्रेमको अभाव हुन्छ । त्यही कारण यस्तो दम्पतीबीच मनमुटाव एवं कलह भइरहन्छ ।
जब दम्पतीबीच कलह हुन्छ, त्यो उनीहरुमा मात्र सीमित रहँदैन । त्यो कलहले सबैभन्दा बढी उनीहरुकै अबोध बालबच्चालाई पिरोल्छ । आमाबुवाको झगडा उनीहरुका लागि ठूलो यातना जस्तै हुन्छ । यसले उनीहरुमा मानसिक पीडा थपिदिन्छ ।
यसैगरी दम्पतीको झगडाले उनीहरुका आमाबुवा, परिवारका सदस्यलाई समेत दुःख दिन्छ । पारिवारिक माहौल बिग्रिन्छ । घर वास्तवमा घर जस्तो रहँदैन ।
त्यसैले दम्पतीबीचको सम्बन्ध प्रेमिल र विश्वासले भरिपूर्ण हुन जरुरी हुन्छ । जब दम्पती खुसी हुन्छन्, त्यसको सकारात्मक प्रभाव उनीहरुको घर परिवारमा पर्छ । यसले घरलाई नै स्वर्ग बनाउँछ । दम्पतीबीच सुख र खुसी चाहिँ के कुराले ल्याउँछ ?
यसका लागि भौतिक सुख सुविधा, सम्पति महत्वपूर्ण हुँदैन । धनीमानी परिवारमा पनि दम्पतीबीच कलह र असमझदारी हुन्छ । किनभने यो आर्थिक, भौतिक भन्दा पनि भावनात्मक कुरा हो । श्रीमान र श्रीमतीबीचको सम्बन्ध सुमधुर भइरहनुमा उनीहरुको भावनात्मक स्थितिले भूमिका खेल्छ । उनीहरुको बोली–व्यवहार, आचारण, सोच चिन्तन, समझदारी आदिले दाम्पत्य जीवनलाई सुखमय बनाइरहन्छ । अतः यसका लागि श्रीमान र श्रीमती दुवै एकअर्काको परिपूरक हुनुपर्छ ।
समझदार
दाम्पत्य जीवनलाई सुखमय बनाइरहनका लागि पहिलो शर्त हो, समझदारी । घर व्यवहार चलाउने कुरामा कतिपय मतभेद हुनसक्छ । व्यावहारिक कुराहरुमा उनीहरुले एकअर्कालाई साथ दिनुपर्छ । एकअर्काको काँध थाप्नुपर्छ ।
मान्छे सबै कुरामा पोख्त र सर्वगुणले सम्पन्न हुँदैनन् । मान्छेमा कमजोरी हुन्छ । श्रीमानले अपेक्षा गरेजस्तै श्रीमतीमा सबै गुण वा दक्षता नहुन सक्छ । श्रीमतीले अपेक्षा गरेजस्तै श्रीमान सर्वगुणले सम्पन्न नहुन सक्छ । मान्छेको यो स्वाभाविक प्रकृतिलाई दुवैले बुझ्न र स्विकार गर्न जरुरी छ ।
कुनै पनि कुरामा आफ्नो मात्र निर्णय सही भन्ने, आफुलाई मात्र सर्वोपरि ठान्ने गल्ती गर्नुहुँदैन । एकअर्काको कमजोरी र क्षमतालाई बुझेर व्यवहारिक तालमेल मिलाउनुपर्छ ।
उत्तरदायी
हरेक कुरामा उत्तरदायी एवं जिम्मेवार बोध गर्नुपर्छ । परिवार वा श्रीमान्÷श्रीमतीका खातिर आफूले निर्वाह गर्नुपर्ने उत्तरदायित्व के हो ? बुझ्नुपर्छ ।
परिवारमा हरेक सदस्यको आ–आफ्नै जिम्मेवारी हुन्छ, उत्तरदायित्व हुन्छ । विवाह गरेपछि त्यस्ता उत्तरदायित्व थप बढ्छ । आफुले कसलाई कस्तो व्यवहार गर्नुपर्ने, कसको लागि के काम गर्नुपर्ने सबै कुरा बुझ्नुपर्छ । कुनै पनि समस्या, अप्ठ्यारमा भाग्ने होइन, त्यसलाई आफ्नो दायित्व सम्झेर सल्टाउने प्रयास गर्नुपर्छ ।
संस्कार
हरेक परिवारको आफ्नै संस्कार हुन्छ । त्यही संस्कारले नै परिवारलाई एकढिक्का बनाइराख्छ । यसले ठूलालाई श्रद्धा गर्न, सानालाई माया गर्न सिकाउँछ । सबैको काम र कर्तव्य बोध गराउँछ । आपसी माया र सद्भाव कायम गर्छ । त्यसैले पारिवारिक संस्कारलाई दुवैले अँगाल्नुपर्छ ।
संस्कारले परिवारलाई पथभ्रष्ट हुन दिंदैन । यसले एकअर्काप्रति उत्तरदायी, जिम्मेवार, विनयी, विनम्र बनाउन अभ्यास गराउँछ ।
त्यसैले घर–परिवारको संस्कारलाई पालना गर्नुपर्छ । यसले अनुशासित जीवनशैलीमा बाँच्न सिकाउँछ । जब परिवारका सदस्यहरु अनुशासित हुन्छन्, तब परिवारको लय मिल्छ ।
उत्साहित र रमाइलो
धेरै गंभीर वा संवेदनशील हुँदा पनि आपसी सम्बन्ध राम्रो हुँदैन । जीवनलाई सरल रुपमा लिने र साधरण हिसाबले जीवनयापन गर्ने प्रयास गर्नुपर्छ । परिवारमा रमाइलो माहौल बनाइराख्नुपर्छ । सानो प्राप्तिमा खुसी हुने, रमाउने बानीको विकास गर्नुपर्छ । ख्यालठट्टा, मनोरञ्जनलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ ।
फेसबुक प्रतिक्रियाहरु