नेकपा (एकीकृत समाजवादी) मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो।
तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरुलाई कारबाही गरी सांसद पदमुक्त गरेको थियो।
वैशाख २ गते फ्लोर क्रस गरेका उनीहरुलाई मुख्यमन्त्री शाहीले वैशाख ४ गते मन्त्रीमा नियुक्त गरेका थिए।
मन्त्री नियुक्त भएलगत्तै सांसद पदबाट मुक्त भएपछि मुख्यमन्त्रीले पुनः वैशाख १५ गते सोही मन्त्रालयहरुमा नियुक्त गरेका थिए। सांसद् पदमा नरहेको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ।
सोही अनुसार उनीहरु आजदेखि स्वतः मन्त्रीबाट पदमुक्त हुन्छन्। कर्णाली प्रदेश सरकारमा मन्त्री रहेका तीनजना मुक्त भएपछि नेकपा एकीकृत समाजवादीले सोही मन्त्रालयमा दावी गरेको छ।
कर्णाली प्रदेश सभामा समाजवादीका तीन मात्र सांसद छन्। रुकुम पश्चिमकी देवी ओली, मुगुका चन्द्र बहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया समाजवादीका सांसद् हुन्। यदि समाजवादीको दावी कार्यान्वयन भएमा उनीहरु नै मन्त्री हुनेछन्।
आजदेखि खाली हुने कर्णाली प्रदेशका मन्त्रालयहरुमा नेकपा एकीकृत समाजवादीले दावी गरेको छ।
फेसबुक प्रतिक्रियाहरु