तराईका जिल्लाहरुमा शीतलहर सुरु भएसँगै कठ्याङ्ग्रिँदो चिसोका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ । आर्थिक अवस्था कमजोर भएका तराईका मुसहर र डोमजस्तो पिछडिएका समुदायका लागि शीतलहर कहर मात्रै होइन काल बनेर आउँछ ।
प्रदेश २ मा बहुआयामिक गरिबीदर झन्डै ४८ प्रतिशत छ भने निरपेक्ष गरिबी २२ प्रतिशत छ । कसरी दुई छाक खाने भन्ने समस्यामा रहेका गरिबहरुलाई यतिबेला कसरी न्यानो लुगा लगाउने भने चिन्ता पनि थपिएको छ ।
सप्तरीको मलेठ गढियास्थित मुसहरबस्तीका वृद्ध गोनर सदा दम्पती घर र न्यानो लुगा अभावले चिसो सिरेटो चल्ने गोठमा सुत्न बाध्य छन् । छिमेकी दशनीदेवी पनि परालको ओछ्यानमा नाती बुहारीसँगै सुत्छिन् । उनीहरुसँग शीतलहर थेग्न ओछ्याउने र ओड्ने भरपर्दो लुगा छैन ।
छिन्नमस्ता गाउँपालिका–३ का ७० वर्षीय हलेश्वर मरिक जिविकोपार्जनका लागि बाँसको छिटी बनाउन व्यस्त छन् । बिहान बेलुकाको छाक टार्न बाँसका सामग्री बनाउने पुख्र्यौली पेसा उनले ७० वर्षको उमेरमा पनि छाडेका छैनन् ।
रोगी शरीर घिसार्दै काममा भिडेका उनलाई यतिबेला समस्या भएको छ, पुसको ठण्डीले । चिसोले हात कठ्याङ्ग्रिएर काम गर्न नसक्ने भएपछि छेउको घुरमा केही बेर हात सेकेर फेरि कामलाई निरन्तरता दिन्छन् ।
पाँच वर्षअघि जवान छोरो सन्तोषको पोखरीमा डुबेर शंकास्पद मृत्यु भएपछि दुई वर्षको नाती रुपेशको पालनपोषणको जिम्मा पनि उनकै काँधमा आईपरेको छ ।
वृद्ध अवस्थामा आफू, बालक नाती र परिवारका अन्य सदस्यलाई ठण्डीबाट कसरी जोगाउने भन्ने चिन्ताले उनी पिरोलिएका छन् ।
छिन्नमस्ता गाउँपालिका–६ का डोम (मरिक) परिवारमा पनि उस्तै समस्या छ । बसोबासको राम्रो व्यवस्था नभएको, गरिबीका कारण पोषिलो खाने कुरा खान नपाएको तथा गतिला लुगा समेत नरहेका कारण परालको घुर बालेरै पुसको ठण्डी कटाउनुपर्ने उनीहरुको बाध्यता छ ।
ऐलानी जग्गामा झुप्रो बारेर बसेका १२ घर डोम परिवारका ५० जनाको एउटै चिन्ता छ–यसपालीको ठण्डीमा बाँचिन्छ कि बाँचिदैन ।
‘कुनै कुनै वर्ष त यस्तो ठण्डीमा ओड्ने लगायतका राहत दिन्थे पनि’, ६५ वर्षीय सिफैत मरिकले भने–‘यसपाली त अहिलेसम्म कोही सोध्नसम्म आएनन् ।’
उनले भने, ‘वृद्धवृद्धा र बालबालिकालाई पुसको ठण्डीले बढी सताएको छ ।’ चुनावका बेलामा हुलका हुल उम्मेदवार अनेक आश्वासन लिएर भोट माग्न आउने गरेको तर आफूहरु यतिबेला ठण्डीले बिचल्ली पर्दा कोही सोध्न समेत नआएकोमा बस्तीका सबै मरिकहरु आक्रोश पोख्न थालेका छन् ।
टोल नजिकै रहेको गाउँपालिकाको जनप्रतिनिधिको बसोवास रहेको भएपनि आफूहरु ठण्डीले तड्पिरहँदा समेत कसैले वास्ता नगरेको स्थानीय वीरेन्द्र मरिकले बताए ।
‘चुनावको बेला मात्र सम्झिने अरु बेला मर्न लाग्दा पनि चासो नराख्ने जनप्रतिनिधिको के काम ?’, उनले भने, ‘हामी दलितहरुलाई खाली भोट बैंकको रुपमा प्रयोग गर्दै आएका छन्, हाम्रो समस्यामाथि कसैलाई चासो छैन ।’
यस्तै समस्या गोनर र हलेश्वरको मात्र नभई सप्तरीका अधिकांश गरिब विपन्न बस्तीको छ । जिविकोपार्जनको एक मात्र आधार मजदुरीबाट दुई छाक टार्न मुश्किल भएको अवस्थामा कसरी न्यानो लुगा खरीद गर्ने दुखेसो उनीहरुको छ ।
सरकारी तथ्यांकअनुसार दुई छाक टार्न नसक्ने व्यक्तिको संख्या सप्तरीमा मात्रै एक लाखको हाराहारीमा छ । तर उनीहरुलाई शीतलहरबाट जोगिन न्यानो लुगा प्रदान गर्न सरकारी स्तरबाट कुनै अग्रसरता भएको देखिँदैन ।
दिगो विकास लक्ष्य पूरा गर्न पनि हरेक नागरिकलाई गाँसबास र कपाससम्म पहुँच हुनुपर्छ । विपन्नको समस्यामा सरकार गम्भीर नभएकै कारण अहिले शीतलहर थेग्न धेरैलाई मुस्किल छ ।
शीतलहरको समस्या नयाँ होइन । वर्सेनि आउने शीतलहरको कहरबाट गरिब विपन्न वर्गलाई कसरी जोगाउने भन्नेतर्फ सरकार गम्भीर नभएको स्थानीयको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु