१६ चैत, काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले अनलाइनखबरसँग भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई होल्ड गरिसकिएको छ ।’
सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोखरेलले बताए । ‘पक्राउ गरेर राख्दा झन् जोखिम बढ्न सक्ने सम्भावना हुन्छ’, उनले भने, ‘ अब सामाजिक दुरी कायम गरेर सम्बन्धित स्थानमा प्रहरी जवानहरुले उहाँहरुलाई प्रशिक्षण दिनुहुनेछ ।’
यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको उनले जनाए । सरकारले कोरोना (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । जसको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो । यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो । अनलाइनखबरबाट
फेसबुक प्रतिक्रियाहरु