१० भदौ, काठमाडौं । सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको पनि ३ वर्ष पुगिसकेको छ । तर अझै पनि नेपालमा यो खेल र खेलाडीहरुको स्तर माथि उठ्न सकेको छैन । भलिबलको आˆनै कभर्ड हलसम्म छैन ।
नेपालले झण्डै ८ दशकदेखि भलिबल खेल्न थालेको इतिहास भए पनि अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको करिब साढे चार दशकअघि हो । यो बीचमा नेपालको अन्तर्राष्ट्रिय उपलब्धि एक स्वर्ण, एक रजत र चार कांस्यमा सीमित छ । महिला टिमले करिब ३ दशकको इतिहासमा गतवर्ष एक स्वर्ण र एक रजत जितेको थियो । यसअघि महिला टिमले नै सागमा ३ पटक कांस्य जितेको थियो । पुरुष टिमको अवस्था त निकै दयनीय छ।
नेपालका लागि भौगोलिकरुपमा सुहाउँदो र ७७ वटै जिल्लामा खेलिने खेल हो भलिबल । त्यसैले पनि राष्ट्रिय खेल बन्न सफल भयो । यो खेल नेपालका कुना-कन्दरासम्म लोकपि्रय पनि छ । यद्यपि, भलिबल नेपालमा कसरी भित्रियो र गाउँ-गाउँसम्म पुग्यो भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।
वि.सं. १९९० को दशकमा बेलायतबाट भलिबल नेपाल भित्रिएको पाइन्छ । बि्रटिस आर्मीमा भर्ती भएर तालिमप्राप्त नेपालीहरुले यो खेललाई नेपाल भित्र्याएको तथ्य भेटिन्छ । वि.सं. १९९९ अर्थात सन् १९४२ मा राजधानीको त्रिचन्ऽ कलेजमा छात्रहरुले जनस्तरमा पहिलो पटक भलिबल खेलेको २०३८ सालको बृहत राष्ट्रिय खेलकुदपछि प्रकाशित पुस्तकमा उल्लेख छ । त्यही तथ्यलाई आधार मान्ने हो भने पनि नेपालमा भलिबल खेल्न थालिएको करिब ८ दशक पुग्न लाग्यो ।
त्यसपछि सन् १९४५ तिर काठमाडौं उपत्यकाबाहिर विराटनगर, धरान, पोखरा आदि ठाउँहरुमा फाट्टफुट्ट भलिबल खेल्न थालिएको थियो । त्यसबेला प्रतियोगिताहरु प्रहरी र शाही सेनामा मात्र आयोजना हुने गर्थे । संस्थागतरुपमै भलिबलको विकास गर्न त्यहीबेला पहल नभएको होइन । सन् १९४५-५० को अवधिमा नेपाल भलिबल संघको स्थापना गरिएको थियो भन्ने चर्चा सुनिए पनि यस बारेमा अहिले पूरा जानकारी भेटिएको छैन ।
सन् १९५० को दशकमा वीरगञ्ज र विराटनगरमा पनि भलिबल खेल्न थालियो । वि.सं. २०१७ अर्थात सन् १९६० को दशकमा राष्ट्रिय खेलकुद परिषदले भलिबल खेलको विकासको लागि विशेष चासो राखेको र युवा तथा खेलकुद महोत्सवमा पनि भलिबललाई समावेश गरेको जानकारी बृहत राष्ट्रिय खेलकुदपछि प्रकाशित सामग्रीमा उल्लेख छ ।
यसरी हेर्दा प्रजातन्त्रको पुनरोदयपूर्व नै नेपालमा भलिबलको पूर्वाभ्यास हुन थालेको देखिन्छ । त्यतिबेला संस्थागतरुपमा विकास गर्ने पहलसमेत भएको थियो । तर कतिपय कारणले गर्दा यो अधुरो रहृयो । प्रजातन्त्र प्राप्तिपछि नै नेपालका विभिन्न भागमा भलिबल खेलको विशेष चहलपहल आएको र खासगरी पञ्चायती व्यवस्थापछि मात्र सार्वजनिकरुपमा प्रतियोगितात्मक भलिबल खेल हुन थालेको इतिहास छ ।
वि.सं. २०२० पछि भलिबलको माहोल गर्माएको थियो । कलेजहरुमा भलिबल खेल्न थालियो । २०२६ सालमा देशभर भलिबल खेलको विकास र प्रचार-प्रसारका निम्ती भौतिक सुविधा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषदले अञ्चल र जिल्ला विकास खेलकुद समितिहरुलाई भलिबल, नेट सुविधा आदि प्रदान गरेको थियो ।
२०२८ सालदेखि जापानको स्वयंसेवक सेवा संघको सहायतामा नेपाली खेलाडीहरुलाई भलिबल प्रशिक्षण प्रदान गर्ने सुन्जी यानागिती नेपाल आएका थिए । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा भलिबल प्रशिक्षण भएको थियो । २०२७ सालतिर त्रिभुवन विश्वविद्यालयले अन्तर कलेज भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।
२०२९ सालसम्म शाही सेना, प्रहरी, त्रिभुवन विश्वविद्यालय र युवा तथा खेलकुद महोत्सवमा भलिबल खेल प्रतियोगितात्मक रुपमा खेलिदै आएको पाइन्छ । २०३० सालमा राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा प्रथम राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको थियो । जसमा नेपालका १३ अञ्चलले प्रतिस्पर्धा गरेका थिए । बाग्मती पहिलो र गण्डकी दोस्रो भएको थियो ।
त्यसपछि भलिबल खेलप्रति जनताको अभिरुचि बढ्यो । त्यसैलाई मध्यनजर गर्दै अनुपशमसेर राणाको अध्यक्षतामा नेपाल भलिबल संघको स्थापना भयो । त्यसपछि भलिबलले झन् गति लिन थाल्यो । २०३१ सालको दोस्रो राष्ट्रिय प्रतियोगितामा १४ वटै अञ्चलले सहभागिता जनाए । पहिलो संस्करणमा तेस्रो भएको नारायणी दोस्रोमा च्याम्पियन भयो । राष्ट्रिय प्रतियोगिताले निरन्तरता पायो । भलिबल गतिविधि बढ्यो ।
दुई वर्षपछि नै नेपालले पाकिस्तानमा गएर पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो । चीन र रुसको भ्रमण गर्यो । २०३५ सालमा नेपालको पुरुष भलिबल टिमले एसियन गेम्स नै खेल्यो ।
काइजे अजाममार्फत अन्तर्राष्ट्रिय डेब्यु
राष्ट्रिय प्रतियोगिता सुरु भएको दुई वर्षपछि नै नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पायो । राष्ट्रिय प्रतियोगिता भएको एक वर्षपछि मात्र नेपाल भलिबल संघको औपचारिकरुपमा स्थापना भयो । अनुपशमसेर जवरा त्यसको अध्यक्ष बने ।
उनै अनुपको प्रयासमा सन् १९७६ अर्थात वि.सं. २०३३ सालमा नेपालले पाकिस्तानमा गएर काइदे अजाम मोहम्मद अली भलिबल प्रतियोगिता खेल्यो । लाहोर र पेशावर गरी दुई स्थानमा प्रतियोगिता भएको थियो । पाँच टिम सहभागी दुवै प्रतियोगिता नेपालले कुनै खेल जित्न सकेन । तर त्यहाँको दर्शकको माया र भलिबल खेल्ने नयाँ शैली एवं कलाको बारेमा नेपालले सिकेर आयो ।
उक्त प्रतियोगिताको कप्तान ऋषिराज आचार्य पोखरेल थिए । प्रतियोगिता खेलेका र खेलाडी जीवनपछि अहिलेसम्म कोचको भूमिका सम्हालिरहेका कपिल किशोर श्रेष्ठको स्मरणमा अझै ताजा छ त्यो प्रतियोगिता ।
‘नेपालको सेतो ड्रेस हरेक दिन मैलिने हुनाले राति धोएर सुकाएर भोलिपल्ट लगाएर खेल्नुपर्थ्यो,’ उनी सम्झिन्छन् ।
त्यतिबेला नेपाली टिमको प्रशिक्षणका लागि जापानी प्रशिक्षक आएका थिए । तर पाकिस्तान जाने बेला भने नेपालकै प्रशिक्षक प्रचण्डबहादुर सिंह टिमसंग गए । टिममा जम्मा ८ जना खेलाडी एकजना व्यवस्थापक थिए । कुल १० जनाको टोली अमृतसर हुँदै पाकिस्तान पुगेको थियो ।
नेपाली टिमको कप्तानमा ऋषि राज आचार्य थिए । श्रेष्ठका अनुसार टिममा रेशम गुरुङ, मधुसुदन राना, प्रकाशबहादुर सिंह, रवीन्ऽ श्रेष्ठ, प्रदीपबहादुर सिंह, महेन्ऽलाल श्रेष्ठ थिए । भलिबलको तेस्रो राष्ट्रिय प्रतियोगिता सकिएको थियो र त्यसैको प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको थियो । टिम कोचमा प्रचण्डबहादुर सिंह थिए भने मधुशमसेर राना म्यानेजर थिए ।
‘भलिबलको राष्ट्रिय प्रतियोगिता तेस्रो संस्करणसम्म भएपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका थियौँ । त्यतिबेला छोटो समय भएकाले धेरै खेलाडीलाई बोलाउन पाइएन,’ श्रेष्ठले भने ।
प्रतियोगितामा ५ टिमको सहभागिता थियो । पेशावर र लाहोरमा गरी दुई ठाउँमा प्रतियोगिता भएको थियो । पाकिस्तान ए र पाकिस्तान बीसँगै चीन, श्रीलंका र नेपाल सहभागी थिए । दुवै ठाउँमा राउण्ड रोविनमा खेल भएको थियो ।
नेपालले ८ खेल खेलेको थियो । नेपाली टिममा सबै खेलाडी युवा थिए । नेपालको लागि त्यो अन्तर्राष्ट्रिय खेलको अनुभव लिने र केही सिक्ने मौकाको रुपमा मात्र रहेको श्रेष्ठले बताए ।
‘अरु ४ वटै टिम नेपालभन्दा धेरै राम्रा थिए । हामी अरु टिमका खेलाडीभन्दा युवा थियौं,’ श्रेष्ठले चार दशकअघिको टिमबारे भने, ‘कति टेक्निकहरु हामीले सिकेकै थिएनौँ । ˆलोटिङ सर्भिस र अट्याक कम्बिनेसन हामीले त्यहीँ गएर थाहा पाएको हो ।’
अरु टिममा ५ जना स्पाइकर, १ जना सेटर हुन्थे । नेपालले भने त्यो बेला ४ जना स्पाइकर र २ जना सेटर खेलाएको थियो । नेपालले दुई ठाउँमा गरेर ८ खेल खेल्यो । नेपालले कुनै सेट नजिति सबै खेल हार्यो ।
‘हामीले कुनै पनि सेट जितेनौं, तर पाकिस्तानको अफिसियल र पब्लिकले धैरै माया दिए । युवा खेलाडीहरु अरुको अगाडि केटाकेटी जस्तै भए,’ श्रेष्ठले पुरानो क्षण सम्भिmए, ‘प्रमुख अतिथिले त्यतिबेला हामीलाई खुबै सान्त्वना दिएका थिए ।’
नेपाली खेलाडीको औसत उमेर नै त्योबेला २० वर्षभन्दा कम थियो । कप्तान ऋषिराज र मधुसुदन मात्रै उमेरले २० कटेका खेलाडी थिए । ‘आउटडोर खेल भएकोले दर्शकहरु खेलाडीको नजिकै हुन्थे । खेल सकिनेबित्तिकै दर्शकहरु हामीसँग हात मिलाउन र अटोग्राफ माग्न आउँथे,’ श्रेष्ठले भने ।
नेपाली खेलाडीले पाकिस्तानमा माया पाउने अर्को कारण भाषा पनि थियो । नेपालीहरु हिन्दीमा बोल्न जान्दथे, जुन पाकिस्तानीहरुले पनि बुझ्थे । ‘हामीले उनीहरुले बुझ्ने भाषा बोल्ने भएकोले पनि हामीलाई उनीहरु माया गर्थे,’ श्रेष्ठले भने, ‘चीन र श्रीलंकाका खेलाडीहरुले भने बुझ्थेनन् ।’
पाकिस्तानमा खेलेको अर्को वर्ष नै नेपालले चीन र रसियामा गएर भलिबल खेल्नुका साथै प्रशिक्षण गरेको थियो । हरिहर श्रेष्ठको कप्तानीमा नेपाली टोली चीन गएको थियो । तर पछि त्यहाँ रेशम गुरुङको कप्तानीमा नेपालले खेलेको टोलीका सदस्य रेशमले बताए । चार दशक पुरानो भइसकेकोले त्यो बेलाको धेरै कुराहरु अहिले उनीहरुले बिर्सिसकेका छन् । यस्तै इतिहास जोगाउनु नयाँ पुस्ताको दायित्व हो र चुनौती पनि छ ।
‘हामी बर्मा हुँदै चीन गएका थियौँ । चीनको कुमिङबाट विभिन्न प्रान्त हुँदै बेइजिङ पुग्यौँ,’ टोलीका सदस्य हरिहर श्रेष्ठले सम्भिmए । हामी १९७८ मा थाइल्याण्डमा हुने एसियन गेम्सको तयारीका लागि चीन गएका थियौँ ।
चीनमा नेपालले कति खेल खेल्यो भन्ने एकिन नभए पनि नेपालले केही खेल जितेको पनि थियो । नेपालले चीनका विभिन्न प्रान्तहरु घुम्दै प्रशिक्षण समेत गर्ने अवसर पायो । त्यही वर्ष नेपालले रसियामा पनि गएर खेल्यो ।
‘रसिया त्यतिखेर विश्वकै बलियो टोलीमध्ये एक थियो । त्यहाँ खेल्न पाउनु र प्रशिक्षण गर्न पाउनु हाम्रो लागि राम्रो अवसर थियो,’ श्रेष्ठले भने ।
पहिलो आधिकारिक प्रतियोगिता
अन्तर्राष्ट्रिय भलिबल खेलेको अर्को वर्ष नै नेपालले अफिसियल टुर्नामेन्ट खेल्न पायो । १९७८ मा थाइल्याण्डमा भएको आठौं एसियन गेम्स नेपालको पुरुष भलिबल टिमले खेलेको पहिलो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।
त्यस प्रतियोगितामा नेपालले समूह चरणमा जापान, कुवेत, युएई र बंगलादेशसंग खेलेको थियो । सबै खेलमा हार व्यहोरे पनि नेपालले त्यसबाट धेरै सिक्ने मौका पायो ।
पुरुष टोलीको ऐतिहासिक पदक
चार दशकपछि मात्र नेपालले अन्तर्राष्ट्रियस्तरमा सफलता हात पार्न थाल्यो । हुन त यो बीचमा नेपालले धेरै प्रतियोगिताहरु खेल्यो । केही खेल जित्यो पनि, तर उपाधि जित्न सकेको थिएन । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खलेको ४० वर्षपछि मात्रै नेपालको पुरुष टोलीले तेस्रो हुँदै कांस्य पदक जित्न सफल भयो । यो बीचमा नेपालले एसियन गेम्स एसियन च्याम्पियनसीपदेखि सागसम्म खेल्यो । तर कुनैमा नेपालले सफलता हात पार्न सकेन ।
सन् २०१७ मा माल्दिभ्समा भएको चौथो संस्करणको सेन्ट्रल जोनमा चार टिम मात्र सहभागी थिए । अघिल्लो दुई टुर्नामेन्टमा नेपालले राम्रो खेल्दाखेल्दै पनि फाइनलसम्म पुग्न सकेको थिएन । यसपटक चार टिम मात्र रहेकोले एउटालाई हराए मात्र पनि तेस्रो हुने पक्का थियो । उक्त संकस्करणमा नेपालले माल्दिभ्सलाई दुई पटक पराजित गर्दै तेस्रो स्थान हात पार्यो । नेपालको पुरुष भलिबलमा नेपालले पहिलो पटक कांस्यपदक जितेको थियो ।
महिलामा ऐतिहासिक स्वर्ण
पुरुषको पाँच संस्करण भइसक्दा महिलाको सेन्ट्रल जोन भएको थिएन । नेपालले सन् २०१७ मा श्रीलंकामा खेलेको वर्ल्ड च्याम्पियनसिप छनोट नै पछिल्लो टुर्नामेन्ट थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रियस्तरमा खेल्न पाएको थिएन ।
नेपालमै २०१९ मा भएको पाँचौ पुरुष सेन्ट्रल जोनबाट बंगलादेशमा पहिलो संस्करणको महिला सेन्ट्रल जोन गर्ने निर्णय भयो । सेप्टेम्बरमा भएको पाँच देश सम्मिलित टुर्नामेन्टमा नेपालले लिग चरणको चार र फाइनल गरी पाँचवटै सेट जितेर डेब्युमै उपाधि उचाल्यो । अको रमाइलो पक्ष के रहृयो भने नेपालले फाइनलसम्म कुनै सेट गुमाएन र नतिजा १५-० थियो ।
सेन्ट्रल जोनमा अपराजित रहँदै ऐतिहासिक स्वर्ण जितेपछि नेपालले धेरै खुशी मनाउन पाएन । कारण १३औं सागमा स्वर्ण जित्ने लक्ष्य थियो । तर घरेलु मैदानमा स्वर्णको निकै नजिक पुगेर पनि नेपाल बन्चित रहृयो । नेपालले पहिलो पटक भारतलाई सेटमा त हरायो तर पूरै खेल जित्न सकेन । प्रतिस्पर्धात्मक खेलमा दर्शकको साथ पाएको नेपाल अन्तत भारतसंग ३-२ को सेटमा पराजित भयो ।
दर्शक र घरेलु कोर्टको उत्साहजनक साथ पाएको नेपाल आफैं सम्हालिन सकेन । केही गल्तीले गर्दा स्वर्ण गुमाउन बाध्य भयो । यद्यपी नेपालले सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनल पुग्दा नै सागमा ऐतिहासिक रजत पदक पक्का गरिसकेको थियो ।
अब के ?
सबैभन्दा ठूलो प्रश्न नै यहि हो । अब के त ? फुटबल र क्रिकेट जस्तै नेपाल भलिबल संघको आˆनै अफिस छैन । आˆनै कभर्डहल छैन । ग्रास रुट छैन । भलिबल खेलाडी उत्पादन गर्ने एकेडेमी छैन । स्कुल लेभलबाट खेलाडीहरु उत्पादन हुन सकेका छैनन् । राष्ट्रिय टिमको लागि खेलाडी उत्पादन गर्ने न्यु डायमण्ड अर्को जन्मन सकेको छैन ।
संघको चुनाव कोभिड १९ का कारण रोकिएको छ । सरकारले भलिबलमा दिने बजेट कम छ । भलिबल संघ अहिले जग्गाको खोजीमा भौँतारिरहेको छ । तर नेपाल सरकारले कभर्डहलका लागि जम्मा ५० लाख मात्र छुट्याएको छ । त्यतिले कति काम होला ।
घरेलु प्रतियोगिताहरु दर्जन भन्दा बढी हुन्छन् । संघले मात्र वर्षमा महिला र पुरुषको लिग र राष्ट्रिय प्रतियोगिता गरी ६ प्रतियोगिता गर्छ । तर त्यसमा सत्रैँ विभागीय टोलीहरुको दबदबा हुन्छ । नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । अब भलिबलको विकासमा पूर्वाधार र ग्रासरुटबाटै खेलाडी विकास गर्नु अत्यन्त जरुरी छ ।
पूर्व खेलाडी हरीहर श्रेष्ठले ३० को दशकमा नियमित रुपमा राष्ट्रिय प्रतियोगिता भएको र खेलाडीहरु पनि पनि धेरै राम्रो रहेको बताए । त्यो बेला खेलेका मध्ये दिपक सापकोटा नेपालका उत्कृष्ट खेलाडीमा गनिन्छन् । एसियन गेम्स खेल्न जाँदा जापानको एक पत्रिकाले समेत उनलाई एसियाको टप १२ खेलाडीको सूचीमा राखेको थियो ।
त्यो बेला सरकार र राष्ट्रिय खेलकुद परिषदबाट भलिबलले धेरै सहयोग पाएको हरिहर श्रेष्ठले बताए । तर बीचमा भने राजनीतिक व्यवस्थाको परिवर्तन हुँदा भलिबलमा ब्रेक लागेको उनको बुझाई छ । पछिल्लो समय भने महिला र पुरुष टिमको प्रदर्शनमा सुधार हुँदै गएको भन्दै उनले खुशी व्यक्त गरे ।
फेसबुक प्रतिक्रियाहरु