नागरिक रैबार/बाजुरा १४ जेठ। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा संचालन रहेको कोरोना भाईरस (कोभिड – १९ ) सम्बन्धी क्वारेन्टाईन मानवबस्ती नजिकै राखेको भन्दै बडीमालिका नगरपालिका ९ का स्थानीयहरुले आज एक सामुहिक भेलाको आयोजना गरि आपत्ती जनाएका छन् ।
कोरोना भाईरस (कोभिड –१९ ) सम्बन्धी क्वारेन्टाईन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को दफा ३ को (क) बमोजिम मानव समुदायको घना बस्तीबाट टाढा रहने व्यवस्था उल्लेखित भएपनि सम्बन्धीत निकायले मापदण्ड विपरित क्वारेन्टाईन संचालन गरेको भन्दै बडीमालिका नगरपालिका ९ माँझगाउँका स्थानीयले आपत्ति जनाएका हुन् ।
बुधबार बडीमालिका नगरपालिका वडा नं. ९ का युवा, बुद्धिजीवि र समाजसेवीहरुको सयुक्त भेलाले बस्ती नजिकै बनाईएको क्वारेन्टाईन र क्वारेन्टाइनमा राखिएका नागरिकहरुकोे लापरवाहीले क्वारेन्टाइन वरीपरिको सिंगो बस्ती नै कोरोनाको उच्च जोखिमममा पर्दै गएकोले बस्तीका स्थानीयहरुलाई सुरक्षित रहन र सजकता अपनाउन आग्रह समेत गरिएको छ ।
भेलाले क्वारेन्टाइन संचालनको विषययमा छलफल गरेर राज्यले तोकेको निर्धारित मापदण्ड अनुसार सिंगो वडालाई कोरोना भाईरसको उच्च जोखिम्बाट बस्तीलाई बचाउन पाँच वटा निर्णय गरेको छ । जसमा बाहिरबाट आएका व्यक्तिलाई यस वस्तीमा आवतजावतमा रोक लगाउने, स्वमसेवक टोलटोलमा खटाउने, आवश्यक स्वास्थ्य सामाग्री माग गर्ने, अवैध घरेलु मदिरा नियन्त्रण गर्ने र मालिका माविको क्वारेन्टाईनलाई बस्ती नजिकबाट टाढा सराउन माग गर्ने निर्णय गरिएको हो ।
क्वारेन्टाइन नजिक रहेका बस्ती भित्रका चार टोलमा ४ जना स्वंय सेवक समेत खटाईने भएको छ । जसमा ओखल ढुंगा टोलमा दल नेपाली, पडावाडा टोलमा गोपाल विक, गैरिबजार टोलमा नरेन्द्र विक, र माझगाउँ भित्र मनोज विकलाई खटाईने भएको हो ।
केहि दिन यता छिमेकी देश भारत तथा स्वदेश भित्रका विभिन्न जिल्लाहरुबाट बाजुरा आउने स्थानीयको संख्या बढेसंगै कोरोना संक्रमणको जोखिम पनि बढ्दै गएको कुरालाई मध्ये नजर गर्दै स्वयम् सम्बन्धीत वडाले नै बढी जिम्मेवार भएर लाग्नु पर्र्नेे दलित अधिकारकर्मी गोरख शार्कीले भेलामा सुझाव दिएका थिए ।
बाजुरामा एकसाता यता मात्र १ हजार बढी नागरिक जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी तथा प्रहरी निरिक्षक दान बहादुर रोकायाले वताएका छन् । मानव वस्ती विच केन्द्रमा संचालनमा रहेकोे मालिका माविको क्वारेन्टाईनमा हाल ९२ जनालाई राखिएको प्रहरीले बताएको छ ।
फेसबुक प्रतिक्रियाहरु