मानव विकास सुचकाँङ्कमा पुछारमा रहेको वाजुरा जिल्ला साँच्चिकै पुछारको जिल्ला हो वा हैन त्यो त समिक्षाको विषय होला तथापी अर्को सरकारी तथ्याङ्क सार्वजनिक नभए सम्मका लागी अमिलो मन गरेर भए पनि बाजुरा पुछारको जिल्ला हो भनेर स्वीकार्नु वाहेक हामी बाजुरा वासीसँग अर्को विकल्प छैन ।
बाजुरा पुछारको जिल्ला हुनुमा कुनै एक पक्ष मात्रै दोषी वा कुनै एकको मात्रै जिम्मेवारी हो भन्ने कुरा हैन यसमा हामी सवै बाजुरावासी र बाजुराको विकासका लागि लागेका सवै उत्तिकै जिम्मेवार छौं । लामो समय सम्म केन्द्रिय राज्यसत्ताको विभेद, राज्यका संयन्त्रहरुमा पहुँचयोग्य उपस्थिति नहुनु, न्युन विनियोजित विकास वजेट, देशको राजधानी देखि करिव एक हजार किलोमिटर टाढा हुनु, अलिकति कमाउन साथमा वढुवा खान र कतिपय वाध्यात्मक अवस्थामा मात्रै हाँजिर भएर १०५ वजाउने सरकारी संयन्त्रका हामी कर्मचारी र वुढो गोरु जस्ता सरकारी कार्यालय, गास, वास र कपास सवै राजनीतिनै हो भने जसरी गरिने अस्वस्थ राजनीतिक क्रियाकलाप, कछुवाको गतिमा हिड्ने वाजुराको विकास, वहुदल पछि लामो समय सम्म होस्तेमा हैसे मात्रै गर्ने निरीह राजनीतिक नेत्तृत्व, पढाउन भन्दा वढी राजनीति गर्न पाए औधि खुसी हुने शिक्षक, पढेर भन्दा चिट र गेसपेपरको भरमा पास हुन खोज्ने विद्यार्थी, गुणस्तरीय काम गरेर दिगो विकास गर्न छोडेर कमाउने मौका यहि हो भने जसरी व्यक्तिगत विकास गर्न कम्मर कस्ने निर्माण उपभोक्ता समिति, विवेक र विचार सुन्य हनुमानधारी राजनीतिक कार्यकर्ता, दश वर्षे राजनीतिक द्धन्द, दर्गम तथा विकट भौगोलिक वनावट, अत्यन्तै कम खेती योग्य जमिन, न्युन सिंचाई सुविधा, परम्परागत तथा निवार्हमुखी कृषि पेशा, आफुले हग्ने चर्पि समेत सरकारले वनाई दिए हुन्थ्यो भन्ने मान्यता भएका नागरीक, आफुसँग भएको सम्पत्ति पनि लुकाएर सरकारी गणकलाई गलत तथ्याङ्क दिएर गरिवको सुचीमा अटाउन सफल हुनेखाने वर्ग, आफुसँग भएका रैथाने जौ कोदो फापर चिनो कागुनो जस्ता वालीहरुको पोषिला परिकार वनाएर खानु भन्दा कुहिएको चामलका लागि लाईन वस्ने भाते जनता, निर्वाचनको वेला एक छाक मासुभातको साथमा विजुली पानीको मिठो स्वादमा तिरिमिरी झ्याँईको रन्कोमा हरिलठैत नेता र नेत्तृत्व छान्ने मतदाता, नागरिकको सेवा र जिल्लाको विकास गर्छु भनेर आफ्नो र आफ्ना वरीपरीकाहरुको सेवा र विकासमा तल्लिन जनप्रतिनिधि, मौका पायो कि चौका हान्नै पर्ने र जसरी पनि कमाउनै पर्ने मानसिकता वोकेका सामाजिक उत्तरदायीत्व रत्तिभर पुरा नगर्ने व्यापारी, कम गुणस्तरको काम गरी सरकार र नागरीक दुवैलाई ठग्ने महान् ठेकेदार, पैसामा चलाएमान र स्वार्थ केन्द्रित पत्रकारीता, वेरोजगारीको कोरा सर्टिफिकेट भिराउने क्याम्पस, भनसुनका भरमा जागिर खानुपर्ने जागिरे, अनुदानमुखी अल्छि र गफाडी किसानहरु, सय रुपैयाको कामलाई हजारको वनाउँदै चिरिच्याट फुटोको भरमा विकास गरेको दावी गर्ने गैर सरकारी संस्था सवैको थोरै धेरै भूमिका रहेको कुरा प्रष्ट नै छ भने हामी सवैका आ आफ्ना गलत व्यवाहार, प्रवृति र संस्कारले यी र यस्ता क्रियाकलापहरु विस्तारै घट्दै जानु पर्नेमा दिदानुदिन वढ्दै गईरहेका छन् त्यसैले एक पटक सवै बाजुरा वासीले वाजुरालाई सधै पुछारको जिल्ला वनाईरहने वा आफ्ना क्रियाकलापहरुमा सुधार गर्ने भन्ने विषयमा सोच्न र सोही अनुसार व्यवहार परिवर्तन गर्न आवश्यक छ त्यसैले प्रसस्तै अवसर र सम्भावना भएको हाम्रो जिल्ला सधै पुछारको जिल्ला आखिर कहिले सम्म ? अहिले सम्म सधै अरुलाई दोष दिदै आफु उम्किदै आएका हामी सवै बाजुरा वासीले यो प्रश्न एक पटक आफैलाई सोध्न जरुरी छ अव ।
अहिले सम्म वाजुरालाई गरिवी र अभावको जिल्लाका रुपमा परिचय दिदै आयौं यो कुनै अकाट्य र धुव्रसत्य कुरा हैन त्यसैले अव हाम्रै पालामा हाम्रै पुस्ताले वाजुरालाई गरिवि र अभावको जिल्लाको परिचयलाई अवसर र सम्भावनाको एक समृद्ध जिल्लाको रुपमा परिचय निर्माण गरी वाजुरावासी भएकोमा गर्व गर्ने अवस्थाको सृजना गर्न सकिन्छ यसका लागी हामी सवैले आ आफ्नो तर्फवाट मेहनतका साथ ईमान्दार र लगनशिल भएर लाग्नु पर्छ । यसका लागी केही गर्न सकिने मुख्य सम्भावनाका क्षेत्रहरुलाई यहाँ प्रस्तुत गर्न चाहान्छु ।
- कृषिको व्यवसायीकरणः रातारात हामी ठुल ठुला उद्योग कलकारखाना स्थापना गरेर बाजुराको समृद्धि हाँसिल गर्न सक्दैनौं तसर्थ पहिलो सम्भावनाको क्षेत्र रोजगारी सृजना गर्न सकिने र आर्थिक समृद्धिको प्रमुख आधार भनेको कृषि नै हो त्यसका लागी कृषिका सवै क्षेत्रमा हात हालियो भने असफल भईन्छ यस मध्ये भौगोलिक सम्भाव्यता भएका प्राविधिक हिसावले उपयुक्त र वजारीकरणको समेत राम्रो सम्भावनाका आधारमा स्याउ, ओखर, कागती र किवीको व्यवसायीक खेती, पछिल्लो समयमा शहरीया उपभोक्ताले महङ्गो मुल्य तिरेर भए पनि स्वाद फेर्नका लागी खाने रैथाने वालीहरु जौ सिमी कोदो फापर चिनो कागुनो को व्यवसायीक खेती, १५०० मिटर भन्दा माथिको लेकाली क्षेत्रमा चैत्र देखि कार्तिक सम्म सजिलै गर्न सकिने वेमौसमी तरकारी खेती जुन समयमा उत्पादित तरकारी तराईका जिल्लाहरुमा राम्रो मुल्यमा वेच्न सकिन्छ भने अन्य समयमा हाम्रो यहाँ उत्पादित तरकारी वजारमा प्रतिस्पर्धि हुन सक्दैन भने लेकाली क्षेत्रमा उत्पादन गर्न सकिने रायो मुला केराउ लगायतका तरकारीको वीउ उत्पादन राम्रो सम्भावनाका क्षेत्रमा हुन् भने कमसल जमिनमा हुने भटमास र वदाम खेती पनि उत्तिकै सम्भावनाका वाली हुन् । यी क्षेत्रहरुमा सरकारी तथा गैर सरकारी क्षेत्रको लगानीमा वृद्धि गरि कृषकहरुले पनि सोही अनुसार आ आफ्नो क्षेत्रमा के को सम्भावना हुन सक्छ त्यसको व्यवसायीक खेतीमा लाग्न सक्यो भने त्यसवाट रोजगारी सृजना हुनुका साथै कृषि जन्य वस्तुको विक्रि तथा निर्यातवाट करोडौं करम जिल्लामा भित्र्याउन सकिने सम्भावना रहेको छ । सधै आयात मात्रै हुने हाम्रो जिल्लामा गत आर्थिक वर्षमा मात्रै पहिलो पटक जिल्लावाट स्याउ, सिमी, कोदो, मकै, कागती लगायतका कृषि उपजहरु करिव १ करोड वरावरको निर्यात भएको अवस्था छ । यस वर्षालाई फलफूल वर्षको रुपमा घोषणा गरी ५ लाख फलफूल विरुवा रोप्ने योजना रहेको छ यसमा सहभागी वनौं । सडक कोरीडोरमा उखु र केरा जस्ता नगदे वालीको प्रवर्द्धनका लागी अनुदानका कार्यक्रम संचालनमा रहेकोले त्यसमा सहभागी वनौं, प्रत्येकको घरमा भएका जङ्गली मेलका वोटहरुलाई नास्पाती वनाई उक्त नास्पातीको प्रसोधन गरि विभिन्न पेय पदार्थ तयार गरि विक्रि गरौं ता कि स सानो काम सँगै हामी आम्दानी र रोजगारीसँग पनि जोडिने छौं ।
- गैर काष्ठ वन पैदावार तथा जडिबुटीको व्यवसायीक खेतीः खेर गएको जमिनको सदुपयोग हुने, महङ्गो मुल्यमा वेच्न सकिने, विशेष गरी लेकाली क्षेत्रको वाँझो जमिनको अधिकतम सदुपयोग हुने र वजारसँग प्रतिस्पर्धा गर्न सकिने अर्को व्यवसाय भनेको गैरकाष्ठ वन पैदावार र जडिवुटीको व्यवसायीक खेती नै हो । अधिकाँश लेकाली भेग विभिन्न जडिवुटीका लागी उपयुक्त छन् भने राष्ट्रिय, सामुदायीक, नीजि तथा कवुलियति वनलाई आर्थिक उपार्जनसँग जोड्ने गरी कार्यक्रम संचालन गर्नुपर्छ र अव ढिलो नगरी व्यक्तिगत लगानी सहित व्यवसायीक खेतीका लागी नीजि क्षेत्र पनी यसमा संलग्न हुनुपर्छ । यसका माध्यमवाट पनि रोजगारी सृजना गर्न सकिने र निर्यात मार्फत राम्रो पैसा आर्जन गर्न सकिने सम्भावना प्रसस्त रहेको छ ।
- पर्यटनः बाजुराको अर्को मुख्य सम्भावना भएको क्षेत्र भनेको पर्यटन हो । यो कुरा सवैले वुझेको र महशुस गरेको कुरा हो तथापी यसमा न त गतिलो कुनै योजना नै वनाउन सकिएको छ न त कुनै पुर्वाधार नै तयार गर्न सकिएको छ त्यसैले योजनावद्ध तरीकाले भौतिक पुर्वाधारको निर्माण गरी वाजुराको पर्यटनको सम्भावनालाई अधिकतम उपयोग गर्नुपर्छ । यसका लागी खप्तड छेडेदह हुँदै वडिमालीका नाटेश्वरी र वुढीनन्दालाई सके सम्म वाह्रै महिना नभए कम्तिमा ६ महिना निरन्तर जोड्ने गरी केही निश्चिच स्थान सम्म पक्की सडक मार्ग र वाँकि स्थानमा व्यवस्थित पैदल मार्ग निर्माण गर्नुपर्छ । यी स्थानहरुका विचमा पर्ने आटिचौर, ढम्कने, पाण्डुसैन, पैमा जस्ता वस्तिहरुमा होम स्टेको विकास गरिनुपर्छ भने छेडेदह नजिक, मार्तडी, कोल्टी र पिलुचौरमा सुविधा सम्पन्न होटेलहरुको निर्माण गर्नुपर्ने देखिन्छ ।हामीले व्यापक प्रचार प्रसार तथा आवागमनलाई सहज वनाउदै हाम्रा धार्मिक, प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरु वाटनै हाम्रो समृद्धि सम्भव छ । यसवाट प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा हजारौंको संख्यामा रोजगारी सृजना हुनुका साथै विभिन्न व्यवसाय सँगै हाम्रो यहाँको कृषि उपज पनि सजिलै विक्रि हुँदा कृषकहरु समेत निकै लाभान्वित हुने देखिन्छन् । पर्यटन पुर्वाधार निर्माणका नाममा बडिमालीका सडकका नाममा मात्रै हाल करिव १० वटा जति सडकमा डोजर कुदायको अवस्था छ । ति सडकहरु मालिका सम्म कहिले पुग्ने हुन् र पर्यटक कहिले त्यो सडकमा हिड्ने हुन् त्यो त थाहा छैन तर ति प्राविधिक मापदण्ड विना डोजर कुदाईएका सडकहरुले केही कार्यकर्ताहरुको जीविका चल्ने र पहिरोका कारण मानव वस्ति थप जोखिममा हुने चाँहि पक्का हो त्यसैले अत्यन्तै ठुलो सम्भावना भएका यी पर्यटकिय स्थानहरको विज्ञहरु मार्फत गुरुयोजना तयार गर्न लगाई सोही अनुसार भौतिक पुर्वाधारहरुको निर्माण सँगसँगै पर्यटन व्यवसायमा निजी लगानी पनि आकर्षिक हुनुपर्दछ । विभिन्न स्थानवाट वडिमालीका केवल कारको पनि उत्तिकै सम्भावना रहेको कारण सार्वजनिक नीजि साझेदारीमा नाटेश्वरी देखी वडिमालीका केवल कार निर्माण गर्न सकियो भने छोटो रुट, यातायातको सुविधा पुर्याउन सकिने र दुईवटा धार्मिक स्थललाई समेत एकसाथ जोड्न सकिने भएकोले थप आकर्षणको केन्द्र वन्न सक्छ यस तर्फ पनि उत्तिकै ध्यान दिन जरुरी छ । त्यसका साथसाथै वार्जुकोट दरवार, कुँडिकोट दरवार, कालाजग्रा, पोरखे लेक, कर्णाली नदी लगायतका पर्यटिकय सम्भावना भएका महत्वपुर्ण स्थानहरुको उचित विकास गरि उपयोग गर्न पनि ढिलो गर्नुहुँदैन ।
- जलविद्युतः जिल्लामा सवै स्थानमा विजुली वत्ति पुगेको अवस्था छैन भने विजुली पुगेका ठाउँहरुमा समेत स साना माईक्रो हाईड्रोले काम चलाईरहेको अवस्था छ । देशकै प्रमुख सम्पत्तिकारुपमा रहेको जलस्रोतलाई उपयोग गर्न सकिएको छैन भने गाउँमा संचालनमा रहेका स साना माईक्रोहाईड्रोको चर्को मर्मत खर्च, समुदायलाई आर्थिक भार, प्राविधिक व्यवस्थापनको कमी, महङ्गो संचालन खर्चका कारण पनि वाजुरामा ठुला हाईड्रो प्रोजेक्टको निर्माण गरि सेवा विस्तार गर्नुका साथै यहाँको जलस्रोतको उपयोग मार्फत रोजगारी सृजना गर्न सकिने भएकोले त्यस तर्फ ध्यान जान जरुरी छ । यसका लागि कर्णाली, वुढीगंगा, दानसाँगु, मालागाड, र कवाडी खोलामा सम्भाव्यता अध्ययन गरी कम्तिमा एउटा ठुलो हाईड्रो प्रेजेक्ट संचालन गर्ने गरि काम अगाडी वढाउन आवश्यक छ । हाल सम्म वाहिर जतिसुकै हल्ला गरिएपनि यस कार्यका लागि बाजुरामा कुनै ठोस पहल हुन सकेको छैन सरकारी र निजी दुवै क्षेत्रवाट । पुरै देशभरी थुपैं हाईड्रोपावरका प्रोजेक्ट तयार भई लगानी खोजिरहेको अवस्थामा हाम्रो जिल्लामा भने यति धेरै सम्भावना हुँदा हुँदै पनि कुनै प्रोजेक्ट तयार गर्न सकिएको छैन अव ढिलो गर्नु हुँदैन यसका लागी सम्वन्धित पक्षको समयमै ध्यान जओस र हाम्रो नेतृत्व पनि यस विषयमा नतिजा निश्किने गरी काममा लागिपरोस र अवको केही वर्षमा मेगा हाईड्रो प्रोजेक्ट निर्माण होस ।
- बाजुरा सामुदायीक अस्पतालको निर्माण तथा संचालनः जिल्लामा एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गरी बाजुरावासीलाई न्युनतम स्वास्थ्य सेवा सस्तो, गुणस्तरीय र भरपर्दो किसिमले आफ्नै जिल्लामा प्राप्त गर्ने अवसरको सुनिश्चितताका लागी उपयुक्त ठाउँको खोजिगरी सार्वजनिक नीजि साझेदारीको अवधारणामा बाजुरा सामुदायीक अस्पताको निर्माण गर्न अति आवश्यक छ । राज्यको यहि स्वास्थ्य नीति कायम रहे सम्म सरकारी अस्पतालवाट खासै ठुलो सेवा प्राप्त गर्न सकिने कुरामा विश्वस्त हुन सकिने प्रायाप्त आधार छैन त्यसैले यदि नागरीकले पैसा खर्च नै गर्नुपर्ने भए आफ्नै जिल्लाको आफ्नै लगानीमा निर्मित सामुदायीक अस्पतालमा किन खर्च नगर्ने । यसवाट धेरै जनाको रोजगारी सृजना हुने, सानो उपचारकार लागि धनगढी धाउनुपर्ने अवस्थाको अन्त्य हुने र सस्तो र सुलभ सेवा आफ्नै ठाउँमा प्राप्त भएपछी सेवाको नाममा लुट मच्चाईरहेका हाम्रा नीजि अस्पातालवाट जिन्दगीभर लुटिन वाट वच्न सकिन्थ्यो कि । हरेक वाजुरावासीको जन्मिने वित्तिकै कम्तिमा एक शेयर रहने गरी लगानी जुटाउन शुरु गर्ने र सार्वजनिक नीजि अवधारणामा लगानी क्रमश वढाउँदै सवै स्थानिय तहहरुको शेयर लगानीमा निर्माण गरी संचालनमा ल्याउन सके स सानो स्वास्थ्य समस्याका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनुको साथै नागरीकले ठुलो राहतको महशुस गर्ने थिए । हाल वाजुरा देखि धनगढीको करिव १२ घण्टाको लामो यात्राका क्रममा नै जटिल र ठुलो समस्या भएको विरामीले वाटोमा ज्याउन गुमाउनु परेको अवस्थालाई सवैले मनन् गर्न जरुरी छ भने वजुरेली जनताका नाममा अरु ठुलो काम केही गर्न नसकिएता पनि यत्ति एउटा काम गर्न सकियो भने पुरै जिल्ला वासीका लागी युगौ युग सम्मको उपलव्धि सावित हुनेछ ।
- सरकारी तथा गैर सरकारी क्षेत्रमा प्राप्त रोजगारीका अवसरमा निश्पक्ष प्रतिस्पर्धाः भनसुनका आधारमा जागिर खाने र जागिर खुवाउन सहयोग गर्ने दुवै थरीलाई धेरथोर फाईदा हालकै प्रणालीवाट भए पनि जिल्लाको जनशक्तिलाई अव्वल वनाउन, पढ्ने वानीको विकास गराउन, ईमान्दारीता, मेहनत र लगनशिलताको सम्मान गर्न, पहुँच नहुनेहरुका लागी पनि क्षमताका आधारमा जिल्लामा प्राप्त हने रोजगारीका अवसरमा सहभागिता गराउन र सवै युवा जनशक्तिमा एक खालको सिनर्जी पैदा गर्न हाल जिल्ला भित्र प्राप्त हुने सरकारी तथा गैर सरकारी क्षेत्रका रोजगारीका अवसरहरुलाई निश्पक्ष, पारदर्शि र विश्वसनिय वनाउन सकियो भने दावाका साथ भन्न सक्छु अवको आउने ५ वर्षमा वाजुराको जनशक्ति जिल्ला भित्र र जिल्ला वाहिरको प्रतिस्पर्धामा अव्वल रहने छ आजको जुन सरकारी सेवामा प्रवेसको प्रतिशत करिव ३०० प्रतिशतले वृद्धि हुने छ । हामीले जहिले गुल्मी स्याङ्जाका यति जनाले लोकसेवा पास गर्यो भनेर उदाहरण दिएर नाक फुलाईरहँदा हामीले हाम्रो जिल्लामा युवाहरुलाई कत्तिको पढ्ने वानीको विकास गरायौं, अनि मेहनत गरेर पढ्यो भने जिल्ला भित्र र वाहिर दुवै ठाउँमा सजिलै अवसर प्राप्त हुन्छ भन्ने कुरामा आज स्कुल कलेज पढ्दै गरेको एक युवाको विश्वास जित्न सक्यौं की सकेनौं भन्ने कुरा महत्वपुर्ण हो । अपवाद् वाहेक आज पनि हरेक वाजुराको युवामा म वाजुरा जस्तो दुर्गम जिल्लाको हुँ, मेरो आफ्नो कोही छैन, नेता चिनेको छैन, म गर्न सक्दैन होला भनेर छाति साँघुरो पार्नुपर्ने संस्कारमा ठुलो युवा जनशक्ति हुर्केको अवस्थामा हामी केवल शिक्षित वेरोजगार युवा उत्पादन गरिरहेका छौं यसको अन्त हुनु आवश्यक छ । जस्तै उदाहरणका लागी मान्छे कम्प्युटर चलाउन जान्दैन तर उ कम्प्युटर अपरेटरको जागिरे छ वस हामीले विकास गरेको यहि संस्कार र संस्कृतिले केही कार्यकर्ता त तयार गरियो तर अधिकाँश युवाहको हिम्मत, सोच र क्षमतामा विर्को लगाउने काम भयो । अर्को कुरा आजका दिनमा जतिपनि राजनीतिक विवादहरु छन् ति सवै विवादको केन्द्रविन्दु भनेको यहि मेरो मान्छे र तेरो मान्छे भन्दै भनसुनका भरमा जागिर खुवाउने संस्कृतिकै वरीपरी घुमेको देखिन्छ भने यहि पद्धतिमा शिक्षक भर्ना गर्दा शैक्षिक क्षेत्रको गुणस्तर खस्किनुको प्रमुख कारण हो भन्नेमा सायद कसैको दुईमत नहोला । पढ्दा र सुन्दा राम राज्यमा मात्रै सम्भव हुन सक्ने जस्तो देखिने यो महत्वकाँक्षि कुरामा यदि हामी सवैले हिम्मत गरेर ईमान्दारीताका साथ लोक सेवा आयोगको जस्तै निश्पक्षताका साथ रोजगारीको अवसर प्राप्त हुने कुराको जिल्लामा सुनिश्चितता गर्न सकियो भने १० वर्षमा मात्रै जिल्लाको रोजगारीकोको दर उल्लेख्यरुपमा वृद्धि हुने छ भने अधिकाँश गाउँका राजनीतिक विवादहरु स्वतः अन्त भएर जानेछन् ।अन्ततवगत्वा बाजुरा पनि गुल्मी स्याङ्जाको हाराहारीमा पुग्ने दिन धेरै टाढा हुने छैन यसका लागी उचित वातावरण र संस्कारको विकास गर्न आवश्यक छ ।
- राजनीतिक गतिविधिमा सम्यमता र उच्चतम राजनीतिक सस्कारः राजनीति देशको मूल नीति हो यसवाट जो कोही पनि अछुतो रहन सक्दैन । एउटा सचेत नागरीक हुनुको हैसियतले पनि राजनीतिलाई नजिकवाट वुझ्नुपर्छ र आफ्नो मताधिकारको सहि प्रयोग गरी आफुलाई मन परेको योग्य उम्मेदवार चुन्न पाउनु पर्छ यो नै राजनीतिको मूल धर्म र मर्म हो तर वाजुरामा आफ्नो ज्यान सम्म दाउँमा लगाएर राजनीतिका नाममा हत्या, हिंसा फैलाउने सामाजिक द्धन्द सिर्जना गर्ने, कतिपय अवस्थामा दाजुभाई विचमा पनि पानी वारावारको स्थिती सिर्जना हुने जस्ता एकदमै तल्लोस्तरका क्रियाकलापहरु देख्न र सुन्न पाईन्छ यसले गर्दा हामी बाजुरावासीले राजनीतिलाई वुझ्न नसकेको प्रष्ट हुन्छ । एकपटक सवैले आ आफ्ना विगत पल्टाएर हेर्यौ भने आखिर राजनीतिका नाममा हामी जो जो जुन जुन क्रियाकलापमा संलग्न भयौ त्यस वापत आखिर के पायौं त ? त्यसैले निर्वाचनको अघिपछि गरी ३ महिना आ आफ्नो विचारसँग सम्वद्ध राजनीतिक दल वा उम्मेदवारका विषयमा समालोचनात्म ढङ्गले तर्क पेश गरेर छलफल र वहस गरौं वाँकि समय राजनीतिक आस्थाकै कारण अनपेक्षित क्रियाकलापहरु वन्द गरौ र सभ्य समाजको निर्माण गर्न उच्चतम राजनीतिक संस्कारको विकास गरौं । यस्तो संस्कारले जिल्लाको गरिमा र उचाई झन वढ्नेछ भने अहिले हामीले गर्ने तल्लो स्तरका क्रियाकलाप र हर्कतका कारण जिल्लाको गरिमालाई दिनानुदिन घटाईरहेको छ । एकपटक विचार गरौं न अव त हामी पनि एक्काईसौ सताव्दीका सचेत नागरीक हुनुको नाताले हामी ज जसका लागी राजनीतिक आस्थाका आधारमा लडाँई र झगडा गरिरहेका छौं के तिनिहरु पनि आपसमा हामीले जस्तै लडिरहेका छन् उनिहरु त केवल आफ्नो स्वार्थ र सत्ता स्वार्थका लागि एक आपसमा गला मिलाईरहेका छन् भने जावो हामी एक मत दिने भोटरलाई आकाशै खस्न लाग्या जसो चिन्ता र चाँसो अनि पानी वारावार यो भन्दा मुर्खतापुर्ण काम अर्को के हुन सक्छ र ? आजका दिनमा राजनीतिका नाममा जे जे गरिरहेका छौ त्यो हामी सवैको एक अवुझपन हो यसमा जति छिटो सुधार गरेर राम्रो राजनीतिक संस्कार स्थापित गरी राजनीतिक गतिविधिहरुमा सम्यमता अपनाउन सकियो उति छिटो व्यक्तिको र जिल्लाको विकासमा योगदान पुग्ने कुरा निश्चिचत छ किनकि आज पनि अस्वस्थ राजीतिक क्रियाकलापका कारण धेरै जसो विकास निर्माणका कामहरु अलपत्र परेको अवस्था छ भने सामजिक द्धन्द उत्कर्षमा छ ।
- ससाना गर्न सकिने कामवाट शुरु गरौं (Small doable things): अङग्रेजीमा एउटा भनाई छ Small doable things अर्थात स सना गर्न सकिने काम गरौं । यो सुन्दा केहि पनि हैन जस्तो लागे पनि यसको अर्थ र महत्व धेरै नै छ । जव हामी कुनै कुरा राम्रो वनाउने भन्यौं भने फलानो ले गरेन ढिस्कानोले गरेन हामीले गरि के हुन्छ र भन्ने मानसिकता हामी सवैमा व्याप्त छ तथापि ठुलो कामको जिम्मा कुनै अरुले लिए पनि स साना गर्न सकिने कामको जिम्मा त हामीले पनि लिनुपर्यो नि त्यसैले त्यही स साना गर्न सकिने कामवाट शुरु गरौं ता कि समग्र जिल्ला त एकै चोटी वन्न नसक्ला तर हरेक घर राम्रो वन्न सक्छ यस्ता क्रियाकलापले जसको फलस्वरुप जिल्लाको सामग्र अवस्था राम्रो हुन गई हाम्रो पुछारको अङ्क गणनामा पक्कै पनि सुधार आउँछ । यसमा सरकारको भर नपरी हामी सवै नागरीकले आफ्ना लागी गर्न सकिने केही स साना तर महत्वपुर्ण कामहरु गर्न सक्छौं । जस्तैः आफु वस्ने घर र गोठ अलग गरौं, चर्पि सफा राखौं, जुठ्यान र चाङ वनाउ, गोठेमल राख्ने व्यवस्थित खाडल वनाउ, घर नजिक फूलहरु रोपौं, करेसावारी वनाउ जसवाट उत्पादित स्वस्छ र सफा तरकारीको नियमित उपभोग गरौं, घरमा आफुले पनि राम्रो सस्कार तथा व्यवाहार अपनाउ र आफ्ना सन्ततीहरुलाई पनि उक्त कुरा सिकाउ, फोहोर फाल्ने खाडल तयार गरी फोहोरहरु खाल्डोमा राख्ने वानी वसालौ, गाउँमा वा टोलमा फोहोर मलाई भनेर लेखेका कन्टेनरहरु राखौ र फोहोर उक्त कन्टेनरमा मात्रै राखौं, खाली ठाउँमा फलफूलका वोटहरु रोपौं जसले हामीलाई सिजन अनुसारका फलफूल खान दिन्छ, सभ्य भाषाको प्रयोग गरौ, अरुलाई सम्मान गर्ने संस्कारको विकास गरौ, त्यसै गरी ईमान्दार, लगनशिल र मेहनती वनौं ता कि आज दुनियाका सवै जसो विकसित भनिने देशहरु त्यसैको जगमा उठेका हुन् न कि दिनभरी चौतारामा गफ चुटेर वेलुकी घरमा गास वासका लागि मात्रै जाने वानीले वनेका हैनन् । यी माथिका स साना कामका लागी सरकारले कुनै ठुलो योजना दिईरहनु पर्दैन र ठुलो वजेटको पनि आवश्यकता पर्दैन । यी सवै काम हामी सवैले सजिलै आफ्नै पहलमा गर्न सकिने तर आज सम्म नगरेका कामहरु हुन् त्यसैले शुरुवात आफैवाट गरौं त्यो पनि स सना गर्न सकिने कामवाट बाजुराको समृद्धिको शुरुवात गरौं । अरुले गरेन भनेर रोईलो गर्नुभन्दा पहिले आफुले आफ्ना लागी गर्न सकिने स साना कामहरु गरौं र सभ्य समाजको निर्माणको योगदान पुर्याउँ ।
- विकासमा चाँसो राखौं, गुणस्तर र अनियमिततामा सम्झौता नगरौः हरेक वर्ष करिव ३ अर्व रुपैया जिल्लामा विकास वजेटको रुपमा प्राप्त हुन्छ त्यो वजेटवाट हाम्रै वरीपरी उदघाटन पछि पानी नचुहिने धारो, गाडी नगुड्ने सडक, साँचो हस्तान्तरण नगर्दै चुहिने सार्वजनिक घर, खेल खेल्न नमिल्ने खेल मैदान, सजिलै दिशा गर्न नसकिने सार्वजनिक शौचालय, आफ्नै वच्चावच्ची च्यापिने कम गुणस्तरको स्कुल, पानी चुहिने सिंचाई कुलो लगायतका विकास हरु दिनहुँ जसो हामी सवैले देखिरहेका छौं र त्यसका कुनै न कुनैरुपमा हामी आफै उपभोक्ता पनि वनिरहेका छौं तथापी त्यसको वारेमा वसैले पनि वोल्न सकिरहेका छैनौं किनकि त्यो निर्माण गर्ने ठेकेदार वा उपभोक्ता समिति कुनै दल विशेषको मान्छे, तेरो वा मेरो मान्छे वा गाउँको कुनै ठुलो पैसावाल मान्छे हो । यसरी वर्षेनी अरवौं पैसा विकासका नाममा खर्च भईरहँदा के साँच्चै पैसा अनुसारको राम्रो गुणस्तरको काम भईरहेको छ त पक्कै पनि छैन यसमा हामी सवैले मेरो तेरो नभनी यस्ता भ्रष्टारका विरुद्ध वुलन्द आवाज उठाउनुपर्छ ता कि हामीले तिरेको करवाट नै उक्त विकास वजेट गाउँमा आएको हो उक्त विकास वजेट कसैको खल्तिको दान या उपहार हैन त्यसैले आफ्नो ठाउँमा हुने विभिन्न विकासका योजनाहरुमा चाँसो राखौं र यसमा हुने अनियमिततालाई वन्द गरौं गुणस्तरीय कामको सुनिश्चितता गरौं । ता कि जुन विकासका पुर्वाधारहरु लामो समय सम्म प्रयोग गर्न सकियोस । जिल्लाको सवै भन्दा ठुलो रोगको रुपमा विकास भईरहेको योजनाको नाममा खाउँवादी प्रवृत्तिलाई पुर्णतया अन्त गर्न आवश्यक छ र योजना खाने काम बन्द गरौं, योजनाको निर्माण गर्ने काम गरौं। यसमा कसैले कसैसँग सम्झौता नगरौ यसो गर्दा केही वर्षमा वाजुराको फेरीएको रुप अवश्य देख्न पाईनेछ ।
- सवैले आ आफ्नो जिम्मेवारी ईमान्दारीताका साथ पुरा गरौः हामी सवैले ईमान्दारीताका साथ आफ्नो काम आफै गर्यौ भने जिल्ला आफै वन्छ । यो अति नै आदर्शवादी वाक्य भयो तर हामी सवैले सँच्चिकै यो कुरालाई मनन् नगर्दा सम्म दुध पोखरी वनाउने योजना अन्तिममा पानी पोखरी वनेको कथा जस्तै हुने वाहेक केहि पनि हुन सक्दैन । त्यसैले राजनीतिक दल, नेता, जनप्रतिनिधि, कार्यकर्ता, शिक्षक, कर्मचारी, विद्यार्थी, ठेकेदार, व्यापारी, व्यवसायी, वुद्धिजिवी, पत्रकार, कलाकार, प्रोफेसर, नागरीक, जनता सवैका हाम्रा आ आफ्ना परिभाषित जिम्मेवारीहरु छन् ति जिम्मेवारीहरुलाई ईमान्दारीताका साथ लगनशिलता पुर्वक कुनै पनि वहानावाजी नगरी पुरा गर्ने प्रण गरौं यसो गर्यो भने सवैले आ आफ्नो काम राम्रो गर्न सकियो भने राम्रो काम वन्छ र राम्रो कामको नतिजा पनि राम्रै हुन्छ तसर्थ उदाहरणका लागी यो देशको प्रधानमन्त्री के पि ओलीले देश त खत्तमै पार्यो भन्नु भन्दा पहिले मैले यो देश सपार्न कति भूमिका निर्वाह गरे र आफ्नो जिम्मेवारी सही तरीकाले पुरा गरे कि गरेन भन्ने कुरा वढी महत्वपुर्ण हो । यहाँ त एउटा चिया पसलेले चिया कसरी मिठो वनाउने ग्राहकलाई कति किसिमका चियाको स्वाद दिने र ग्राहकलाई सन्तुष्ट पारी राम्रो व्यापार कसरी गर्ने भन्नेमा ध्यान दिनु र सिपको विकास गर्नुपर्नेमा आफ्नो जिम्मेवारी पुरा नगर्ने त्यही चिया पसले देश कसले विगार्यो भन्ने वहसमा विहानै देखि जुटिरहेको हुन्छ । यस्तो कुनै एउटा पेशामा लाग्नेको मात्रै हैन सवै तिरको कुरा हो । यसले हाम्रो पेशागत दक्षता लाई राम्रो वनाउने भन्दा अरुलाई गाली गर्नमा र अरुको पेशा माथि औला ठड्याउनमा वढी रमाईलो मान्न थाल्यौं । हाम्रो यहि सस्कार र प्रवृत्तिले गर्दा उदेश्य दुध पोखरी वनाउने राखे पनि अँध्यारोमा गएर त्यति धेरै दुधमा मैले एक वाल्टि पानी मिसाउँदा के फरक पर्छ भन्ने मानसिकता आज पनि व्याप्त नै छ भने अन्तिममा त दुध पोखरी हैन पानी पोखरी नै वन्ने पक्का छ । त्यसैलै कुरा दुध पोखरीको वा पानी पोखरीको किन नहोस सवैमा हामी सवैको उत्तिकै भुमीका रहने गर्छ त्यसैले आफुलाई प्राप्त जिम्मेवारी ईमान्दारीका साथ जिल्लाको हित हुने गरी पुरा गरौं सवै भन्दा वढी जनप्रतिनिधिहरु नै जिम्मेवार वनौं यसो भयो भने हाम्रो समृद्धि धेरै टाढा छैन ।
- अन्तमा यो जिल्ला हाम्रो हो हामीले नै वनाउने हो न कि भाडामा विदेशवाट वा वाहिरवाट जिल्ला वनाउन कोही आउने वाला छैन ।अर्को कुरा जिल्ला वनाउने भनेको कुनै एउटा सामान्य योजना वनाए जस्तो डिजाईन स्टिमेटका आधारमा ठेक्का सम्झौता पश्चात भटाभट भै हाल्ने जस्तो सजिलो पक्कै पनि हैन । समग्र क्षेत्रमा राम्रो गर्न सकियो भने मात्र जिल्लाको पहिचान वदलिने हो । हाम्रो प्रदेश भन्दा वाहिर कतै अर्को ठाउँमा घर कता हो नि भनेर परिचय दिदा बाजुरा हो भन्न हिचकिचाउनु पर्ने र लाजै पचाएर भए पनि धनगढी सम्म भन्नुपर्ने अवस्थाको अन्त गर्ने तपाँई हाम्रै पुस्ताले हो । हामी गरि खाने पुस्ता हौं र त्यो गरिखाने समयमा उभिएका छौं । अव पनि ढिला गरियो भने फेरी एक अर्को पुस्ताले दुःख र अभाव झेलीरहने छ उ पनि पुछारको जिल्ला वासी भनेर मन अमिलो वनाईरहने छ त्यसैले आउनुहोस बाजुरा गरिवि र अभावको जिल्ला हैन अवसर र सम्भावनाको जिल्ला हो यसका लागी हामी सवैले हातेमालो गरौं ईमान्दारीताका साथ जनता देखि नेता सम्म सवैले आफ्नो जिम्मेवारी पुरा गरौं ता कि हाम्रो समृद्धि हाम्रै हातमा । यस वर्षको अविरल वर्षाका कारण भएको ठुलो क्षतिको छिटै पुर्ननिर्माण गरौं, पिडितलाई राहतको व्यवस्था गरौं, जोखिममा रहेका वस्तिहरुको उचित व्यवस्थापन गरौं, सदरमुकाम सम्मको सडक संजाललाई सूचारु वनाउँ र मार्तडी कोल्टी पिलुचौर सडकलाई छिटो भन्दा छिटो स्तरोन्नती गरौं, कोभिड १९ र यसवाट परेको असरसँग जुध्न उपयुक्त योजना तर्जुमा गरि अगाडी वढौं । स्थानिय सरकारहरु संघियताको मर्मलाई वुझेर सिंह हैन सेवकमा रुपान्तरीत हुन कन्झुस्याई नगरौ किनकि हाम्रो दैलो र आँखा अगाडीको सरकार भनेको नै तपाईँहरु हो । त्यसैले हामी सवै मिलेर कोसिस र पहल गरौं जिल्ला वनाउन र अव ढिलो नगरौं यदि यसो गरिएन भने अरु त केही फरक पर्दैन तर वाजुरा पुछारको जिल्ला अनि हामी पुछारको जिल्लाका जिल्ला वासी आखिर कहिले सम्म ?
- लेखक मीनप्रसाद जैशी कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी हुन ।
फेसबुक प्रतिक्रियाहरु