होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपामा जन्मिएको नयाँ वर्ग
राजनीति

नेकपामा जन्मिएको नयाँ वर्ग

  • नागरिक रैबार
नेकपामा जन्मिएको नयाँ वर्ग

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा सरकारका पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस मसिन खरिदमा ७० करोड रूपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भयो । अडियो सार्वजनिक भएपछि पनि उनले ‘खाएको बिष लाग्छ, नखाएको लाग्दैन’ भन्दै मिडियामा बोले ।

कञ्चनपुरको एक कार्यक्रममा उनले अडियोबारे सोध्ने पत्रकारलाई ‘१–२ दिन मजा लिनुहोस्’ भन्ने जवाफ दिए । तर, त्यसको केही घन्टाभित्रै उनले राजीनामा दिए ।

बाँस्कोटाले के भने भन्दा पनि बाँस्कोटा कुन वर्गका लागि राजनीतिमा आएका थिए ? कुन वर्गमा दरिँदै थिए उनी ? भन्ने प्रमुख प्रश्न हो ।

विज्ञापन

बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको तर ‘नैतिकताको आधारमा’ राजीनामा दिएको भनिरहँदा आफूलाई कम्युनिस्ट भन्नेहरूले पनि उनको समर्थन गरिरहेका छन्, जुन सबैभन्दा लज्जाको विषय हो अझ कम्युनिस्टका लागि ।

कम्युनिस्ट घोषणापत्रमा कार्ल माक्र्सले लेखेका छन्, ‘कम्युनिस्ट सिद्धान्तलाई एक शब्दमा भन्ने हो भने निजी सम्पतिको अन्त्य हो ।’ तर, बाँस्कोटा भने निजी सम्पति जम्मा गर्न कमिसन माग्दै थिए । जुन कुरा बाहिर आयो, लोकले थाहा पायो अनि राजीनामा दिएर पनि नैतिकता बच्छ र ?

लाग्छ, कार्ल माक्र्सलाई आदर्श मान्ने नेपाली कम्युनिस्टहरू कार्ल माक्र्सलाई नै गिज्याइरहेका छन् ।

अझ नेकपाका नेताहरू भने कमिसन खाएर, भ्रष्टाचार गरेर भए पनि पुँजीपति हुने लाइनमा छन्, जुन कुरा बेलाबेला अडियो भिडियोबाट सार्वजनिक भइरहन्छन् ।

अडियो सुनेपछि पनि नेकपाका कार्यकर्ताहरू विश्वास गर्दैनन् कि हाम्रा नेताहरूले भ्रष्टाचार गरेका होलान्, कमिसन मागेका होलान् भनेर । किनकि विचरा तल्लो तहका कार्यकर्तालाई के थाहा कसरी कम्युनिस्ट पार्टीमा नयाँ वर्ग जन्मिन्छ भनेर ।

यदि कम्युनिस्ट पार्टीमा पनि नयाँ वर्ग जन्मिन्छ भन्ने थाहा पाएका कार्यकर्ता हुन्थे भने पुँजीपतिको पक्षपोषण गर्ने र आफैँ पुँजीपति बन्ने होडमा रहेका नेताले यसरी खुला रूपमा हिँड्ने हिम्मत गर्दैन थिए ।

थाहा पाउँदा त्यसको डटेर विरोध गर्थे भने आज यिनै नेताहरू जनप्रेमी, जनताका नेता बनिरहेका हुन्थे नकि कुनै विदेशी कम्पनीका एजेन्टले औँलामा नचाउँदा नाच्ने । अझ एजेन्टले नसोधेर अडियो बनाएको भन्दै एजेन्टलाई नै गाली गर्दै छन् विचरा कम्युनिस्ट कार्यकर्ताहरू !

कुनै पनि पार्टीमा नयाँ वर्ग जन्मिनका लागि कुनै बाजा बजाउनुपर्दैन रहेछ । नयाँ वर्ग पार्टीभित्रबाटै जन्मिन्छ । पार्टीमा नयाँ वर्ग लामो प्रक्रिया पार गरेर जन्मिन्छ । यसलाई समयमा नै निगरानी गरेन भने सिंगो पार्टीलाई नै सिध्याउँछ । नयाँ वर्ग जन्मिएपछि पार्टी र सङ्गठन नै सकिन्छ । र, उक्त सङ्गठनप्रति आमनागरिकको विश्वास र भरोसा पनि सकिन्छ ।

युगोस्लाभियाका कम्युनिस्ट पार्टीका नेता मिलोवान जिलासले ‘नयाँ वर्ग’ नामक पुस्तक लेखेका छन् । उक्त पुस्तक लेख्ने मिलोवान पनि युगोस्लाभिया कम्युनिस्ट पार्टीका दोस्रो वरीयताका नेता थिए । उनीभन्दा माथि जोसेफ ब्रज टिटो थिए ।

मिलोवान युगोस्लाभियाका उपप्रधानमन्त्रीसमेत भएका थिए । तर, उनले प्रमुख नेतृत्वसँगै पार्टीभित्र जन्मिएको नयाँ वर्गका बारेमा कुरा उठाउन थालेपछि विवाद बढेको थियो । उनले पछि कम्युनिस्ट पार्टी नै छाडेका थिए ।

हो, नेपालमा पनि यो नयाँ वर्गका बारेमा सुषुप्त रूपमा बहस हुन थालेको छ । गत १५ देखि १९ माघसम्म राष्ट्रियसभागृहमा बसेको नेकपाको केन्द्रीय कमिटीको बैठकमा नेताहरूको सम्पति छानबिन गर्नुपर्ने माग उठाए केही युवा नेताहरूले । यसको जिम्मा अनुशासन आयोगलाई दिइएको छ । तर, नेकपामा यो काम होला भनेर ती माग गर्ने युवा नेताहरूलाई पनि विश्वास भने छैन ।

नेकपामा नयाँ वर्ग जन्मिएको मात्र होइन, जबर्जस्त रूपमा स्थापित भएको छ । नयाँ वर्गले नेकपालाई नै निल्ने अवस्था आइसकेको बताउँछन् एक केन्द्रीय सदस्य ।

पार्टी भनेको एक विचारको समूह हो । यो समूहले राजनीतिक रूपमा आफ्नो विचारधारा लागू गर्छ । समाजलाई आफ्नो विचारधाराअनुसार ‘गाइड’ गर्छ । पार्टीहरू देशको विशिष्ट अवस्थामा जन्मिन्छन् । यसको समय सीमा हुँदैन ।

नयाँ वर्ग जन्मिएपछि त्यसले पार्टीलाई विस्तारै आफ्नो कब्जामा लिन्छ । पार्टीबाट इमान्दार र निष्ठावान् नेता, कार्यकर्ताहरूलाई पाखा लगाउँछ । कम्युनिस्ट पार्टी आन्दोलनमा हुँदा अथवा क्रान्तिमा हुँदा गरिब वर्गको पक्षमा लड्ने नेताहरू सत्ता प्राप्तिपछि अर्को वर्गमा बदलिन्छन् भन्ने उदाहरण हो बाँस्कोटा काण्ड ।

एक वर्ग कसरी अर्को वर्गमा रूपान्तरण भयो भन्ने कुरा उसको अन्य वर्गसँगको सम्बन्ध र उसको उत्पादनका साधनमाथिको स्वामित्वमा भर पर्छ । कुन व्यक्ति कुन वर्गमा पर्छ भन्ने कुरा उसले प्राप्त गरेका भौतिक र अन्य सुविधाले निर्धारण गर्छन् । यो विश्लेषण पनि कम्युनिस्टहरूको नै हो । यसरी हेर्दा नेकपाका नेताहरूको अन्य वर्गसँगको सम्बन्ध, भौतिक सम्पति र सुविधा हेर्दा सहज रूपमा थाहा हुन्छ कि नेकपामा नयाँ वर्ग जन्मिएको मात्र होइन, स्थापित नै भइसकेको छ ।

यो वर्गले पार्टीलाई आफ्नो बपौती सम्झिन्छ । आफूले मात्र अधिकार पाएको सम्झिन्छ । आफूलाई राजनीतिक रूपमा विशिष्ट सम्झिन्छ । राज्यको ढुकुटीमाथि नै रजाइँ गर्छ । राज्य नै आफ्नो मुठ्ठीमा लिन्छ । राष्ट्रिय सम्पति अपचलन गरेर आफू धनी हुने काम यो नयाँ वर्गले गर्छ ।

यस नयाँ वर्गले पार्टी र सरकारको नेतृत्वलाई पनि आफूअनुकूल बनाउँछ । त्यसकै आडमा राज्यको सम्पति दोहन गर्छ ।

आन्दोलन, क्रान्ति अगाडि कम्युनिस्ट पार्टीको सदस्य हुनुको अर्थ बलिदानी हुन्छ । जब पार्टी सत्तामा पुग्छ, तब पार्टी सदस्यको अर्थ सुविधा प्राप्त गर्ने वर्गमा पर्नु हुन्छ । त्यही व्यक्ति शोषक र मालिक बन्छ अनि अरू कार्यकर्ता र जनतालाई रैती सम्झन्छ ।

त्यही भएर भनेका होलान् विन्स्टन चर्चिलले, ‘कम्युनिस्ट भनेका गोही जस्ता हुन्, यसले मुख बाउँदा हाँस्न खोजेको हो कि तिमीलाई खान खोज्दै छ, थाहा नै हुँदैन ।’

हो, अहिले नेपालका कम्युनिस्टहरूको व्यवहार हेर्दा यी कुन वर्गको काम गर्छन् र कुन वर्गमा रूपान्तरण हुँदै छन् भन्ने नै पत्तो हुँदैन ।

नेतृत्वसँग मिलेर नै यसका नेता र मन्त्रीहरू कमाउ धन्दामा लागेका छन् । जसरी पनि, जोसँग मिलेर भए पनि राज्यकोषमाथिको दोहन नै अहिले सत्तारुढ कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरूको धन्दा भएको छ ।

केही समय पहिला चिनियाँ राष्ट्रपति सी जिनफिङले भनेका थिए, ‘व्यक्तिगत सम्पति थुपार्ने कम्युनिस्ट हुन सक्दैन ।’ यहाँ त जसले सबैभन्दा बढी सम्पति थुपार्छ, त्यो नै कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्छ भन्ने भएको छ । त्यही सम्पति थुपार्नेले चुनाव जितेर मन्त्री बन्छ ।

नेकपाको अहिलेको अवस्था हेर्दा नयाँ वर्गले शासन सत्तामा राम्रोसँग जरा गाडेको छ । यसले सुख, सुविधाको भोग गरीरहेको छ । यो नयाँ वर्गलाई भोक, गरिबी, अभावको पीडा थाह छैन ।

जुन वर्गले साथ दिएर सत्तामा पुगेको हो, त्यो वर्गको अवस्था जान्न र बुझ्न नचाहने भएको छ । जसले हिजो गरिब वर्गका लागि राजनीति गथ्र्यो, आज त्यही राजनीति गर्ने व्यक्ति नयाँ वर्गमा परिणत भएको छ ।

नयाँ वर्गमा परिणत भएका कम्युनस्टिहरू आफूविना पार्टी, सरकार केहीले काम गर्न सक्दैनन् भन्ने दम्भ राख्छन् । उनीहरू आफूले गर्दा नै देश, पार्टी र सरकार सञ्चालन भएका ठान्छन् । यिनीहरू आफू नयाँ वर्गमा भएका बारेमा अरूले थाहा नपाएको सोच्छन् ।

नयाँ वर्ग जन्माउनमा कम्युनिस्ट सरकारको पनि महत्त्वपूर्ण योगदान रहेको हुन्छ । यो नयाँ वर्गलाई सबैभन्दा बढी सहयोग नै सरकारले गरेको हुन्छ । सरकारी सम्पतिको उपभोग, वितरण गर्ने जिम्मा नै सरकारले यही नयाँ वर्गलाई दिन्छ ।

यसबाट जनता सधैँ टाढा रहन्छन् । जनमत र जनबलबाट राज्यसत्तामा पुगेका कम्युनिस्टहरू नयाँ वर्गमा रूपान्तरण भएपछि सरकारी सम्पति जनताका लागि टाढा हुन्छ । यही नयाँ वर्गले सम्पति आफ्नो निजी बनाउँछ । आफूले विशेषाधिकार पाएको सम्झिन्छ ।

अन्ततः कार्ल माक्र्सले नै भनेझैँ वर्गीय चक्र निरन्तर चलिरहन्छ अर्थात् हिजोको मजदुर जब मालिक बन्छ, अन्य मजदुरहरू जन्मिइरहन्छन्, मालिक र शासकहरू पनि हुर्किइरहन्छन् ।

तब कसरी सम्भव छ साम्यवाद ? कसरी पूरा हुन्छ तल्लो, विपन्न र मजदुर वर्गको मुक्ति ? मुक्ति त केही सीमित व्यक्तिको हुन्छ, जो टाठाबाठा छन्, जो केही थोरै पढेलेखेका छन् र जो शीर्ष नेताका वरिपरि घुमिरहन्छन् अनि तस्कर, माफिया र व्यापारीहरूबाट पालित पोषित भइरहन्छन् ।

हो, यस्तै देखिन्छ नेकपाभित्रको टिठलाग्दो दृश्य ।

प्रश्न भने सधैँ जीवित नै छ– जनता र देशको अनि गरिब र विपन्नको मुक्तिका खातिर गरिएको यत्रो बलिदानी आखिर नयाँनयाँ सामन्त र मालिकहरू जन्माउनका लागि मात्र हो ? शिलापत्रबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार