प्रकाश विक बाजुरा ७ भदौ बडीमालिका नगरपालिकाले नगर भित्रका बजारहरुमा यस वर्षको तीजमा सामुहिक भेला भएर नाचगान नगर्न आग्रह गरेको भएपनि महिलाहरुले सदरमुकाम मार्तडीमा धुमधामका साथ तीज मनाईरहेका छन् ।
नगरपालिकाले यस अघि गएको बुधबार एक सूचना जारी गर्दै नगरभित्रका महिलाहरुलाई मार्तडी बजार लगायत नगरपालिका क्षेत्रमा हुलहुज्जत र भिडभाड नगरी घरमै सुरक्षित भएर तीज मनाउन आग्रह गरेको थियो । तर नगरपालिका भित्रका महिलाहरुले नगरपालिकाको आग्रहको ख्याल नगरेर सामुहिक भेला भएर तीज मनाईरहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमण बढीरहेकोले परम्परादेखि मनाउँदै आएको हरितालिका तीज यस वर्ष देशैभर सुनशान जस्तै भएको छ भने सदरमुकाम मार्तडीमा भने तीजको आज अन्तिम दिन महिलाहरु सामुहिक भेला भएर तीज मनाईरहेका छन् ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर हुलबाँधेर तीज मनाउन नपाईने भनेपनि यसरी हुलबाँधेर महिलाहरुले तीज मनाएपछि कोरोनाको संक्रमण बढ्न सक्ने उत्तिकै खतरा बढेको छ ।
फेसबुक प्रतिक्रियाहरु