गत असार २९ गते संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्राकृतिक प्रकोप, राहत तथा उद्धार लगायतका विषयमा भएको छलफलमा अधिकांश सांसदको भनाइ एउटै थियो, ‘गाउँघरमा डोजर इन्जिजिनयरले विकास गर्न थाले । विकासका नाममा जथाभावी मुसाले कोतरे जसरी पहाड कोतरेर सडक बनाउन थाले । यसले बाढी र पहिरोको जोखिम बढायो ।’
सांसदहरुले जुन तर्क गरेका छन्, पहाडी क्षेत्रमा ठ्याक्कै त्यस्तै भएको छ । गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना वेपत्ता पारेको प्रकोप माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले सानो बस्ती तहसनहस पारेको थियो ।
घटनास्थलभन्दा माथिल्लो भागमा डोजरले बाटो खनिएको थियो र खनिएको माटोको लेदोयुक्त बाढी र पहिरोले तल्लो भागमा क्षति पु-याएको थियो । ऊर्जा तथा सिंचाई मन्त्रालयका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदी प्राकृतिक प्रकोप नियमित हुने घटना भएपनि मानवीय क्रियाकलापका कारण धेरै ठूलो परिणाममा हुन थालेको बताउँछन् ।
नेपालमा वर्षेनी बाढी पहिरो जस्ता प्रकोपका घटना हुने गरेका छन् । जसका कारण धेरै जनधनको क्षति हुने गरेको छ । अघिल्ला केही वर्ष भन्दा यो वर्ष तुलनात्मक रुपमा केही बढी वर्षा भएको छ । पहाडमा बाढी र पहिरोका कारण धेरै जनधनको क्षति पनि भएको छ । अवैज्ञानिक विकास नीतिका कारण हरेक वर्ष बाढी पहिरो र डुवानका कारण क्षति हुने गरेको छ ।
सांसद प्रेम सुवालको भनाइ छ, ‘ठाउँमा आफूखुसी जमिन प्लटिङ गर्ने प्रवृत्तिका कारण पनि प्रकोपलाई सहयोग पुग्ने गरेको छ । भूमाफियाहरुले खोला किनार कब्जा गर्ने, जनप्रतिनिधिहरु डोजरका मालिक र ठेकेदार भएका छन् । जग्गा दलालले खोला कब्जा गर्दा बाढी बस्तीमा पस्न थालेको छ । स्थानीय तहका जनप्रतिनिधिलाई डोजर विकास रोक्न निर्देशन नदिएसम्म प्राकृतिक प्रकोपको घटनामा कमी आउँदैन ।’
गृह मन्त्रालय अन्तर्गत रहेको विपत व्यवस्थापन प्राधिकरणका गत जेठ ३२ गतेदेखिको प्राकृतिक प्रकोपको घटनामा पहिरोबाट १ सय १४ जनाले ज्यान गुमाएका छन् । ४६ जना वेपत्ता र ९१ जना घाइते भएका छन् । बाढीबाट ३ जनाको मृत्यु र ५ जना वेपत्ता भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले रातोपाटीलाई जानकारी दिए । यस्तै एक महिना अवधिमा चट्याङबाट १७ जनाको मृत्यु भएको छ । वैशाखदेखि हालसम्म चट्याङबाट ४७ जनाको मृत्यु भएको छ ।
भूगर्भविद् श्रीकमल द्धिवेदीका अनुसार नेपालमा ८० प्रतिशत हाराहारी पहाडी भूभाग पर्छ । जमिन उचाइलिएर बनेको पहाड भएका कारण हरेक वर्ष पानी पर्दा कमजोर स्थानमा त्यसले असर पार्ने गर्छ । नेपालको भूवनोट उचालिने र धसिने क्रमबाट बनेको हुँदा भारी मात्राको वर्षाले त्यसलाई असर गर्ने गरेको छ ।
यो वर्ष गएका केही वर्षको तुलनामा अधिक मात्रामा वर्षा भएको छ । अहिले प्राकृतिक विपत्तिको घटना बढ्नुमा मानवीय क्रियाकलाप पनि एउटा कारणको रुपमा आएको द्विवेदी बताउँछन् । भूगर्भविद् द्विवेदीकै शब्दमा प्राकृतिक प्रकोप बढ्नुको कारण र रोकथामका उपायहरु यी हुन् :
डोजरे विकासले बाढी पहिरो बढायो
अहिले जसरी पहाड कोतरेर सडक बनाउने चलन छ, त्यसले पहिलो र बाढीको प्रकोप बढाएको छ । प्राकृतिक रुपमा हुने घटनालाई मानवीय क्रियाकलापले अझ थप ग-यो । पहिरो जानुका अन्तरनिहीत कारणमा जमिनको चट्टान कमजोर हुँदै जानुपनि हो । मौसमका कारण चट्टान खिइँदै गएको हुन्छ । यो वर्ष धेरै पानी परेको छ । जमिनको चिराबाट पानी छिर्दापनि पहिरो जाने हुन्छ । धेरैजसो बाढीसँगै पहिरो जाने घटना पनि भएका छन् ।
यो वर्ष सिन्धुपाल्चोकमा धेरै बाढी र पहिरोको घटना भए । आफू त्यहाँ नपुगेपनि धेरै साथीहरुसँग कुरा गर्दा यसवर्ष त्यहाँ धेरै बाटो बनाइएको थियो । माटो कटान गरेर खोल्साहरुमा फ्याँक्ने, बाटोबाट माटो जथाभावी फ्यालेर बाटो बनाउने जुन अभ्यास छ, त्यही माटो बाढीसँगै बगेर आएर ठूलो क्षति भएको पनि देखिन्छ ।
पहाडमा बाटो बनाउने अभ्यास नै गलत छ । सुख्खायाममा जथाभावी डोजर चलाएर बाटो बनायो, माटो तलतिर फ्याँकिदियो । त्यो माटो बगेर तलतिर जान्छ र बाढीले बगाएर लगेपछि तल्लो भागहरुमा प्रकोपको अवस्था ल्याँउछ ।
बाटोमा भित्तामा पानी निकासको कुलो नबनाउने, बाटोको छेउ किनारको सुरक्षा नगर्ने, खाली माटो खनेर मात्र बाटो बनाएर त हुँदैन । बाटो बनाएपछि ड्रेन, कल्भर्टजस्ता सवै संरचना चाहियो । पहाडको जमिन काटेर मात्र बाटो बनाउन हामी लागिपरेका छौँ । अहिले गाउँमा तिनतिरबाट जबरजस्ती सडक पु-याइएको छ ।
पहाडमा बाटो निर्माण गर्ने जुन मोडल छ त्यसले पनि प्रकोपलाई बढाएको छ । पहाडी क्षेत्रमा पहिरो आउँछ, त्यो स्वाभाविक नै हो तर डोजरे विकासले प्रकोपलाई बढाउने काम गरेको छ ।
डोजरले पहाड कोतर्ने र छोडिदिने चलन भएको छ । पहाडी क्षेत्रमा रुख विरुवा घाँसपात भनेको जमिनको छाला हो । त्यो छालालाई कोतरेर छोडेपछि शरीरमा इन्फेक्सन त हुन्छ । बोट विरुवाले समातेर राखेको माटो डोजरले कोतरेर छोडेपछि बर्षातमा त्यो माटो त खोलातिर आउँछ ।
अहिले धेरैजस्तो प्रकोपको घटना सडक निर्माणसँग जोडिएको छ । माथिल्लो भागमा सडक छ । सडक बनाउँदा फ्याँकेको माटो बगेर आउँदा पनि धेरै प्रकोप बढ्ने गरेको छ ।
यसरी गर्न सकिन्छ प्रकोप नियन्त्रण पूर्वतयारी
पहाडमा सडक पूर्वाधार निर्माण गर्दा एकदमै प्राविधिक मापदण्ड पूरा गरेर मात्र गर्नुपर्छ । नेपालमा डोजर एक्साभेटर चलाउनेले बाटो खन्ने, जनप्रतिनिधिले यहाँबाट सुरु गरेर त्यहाँ पु¥याइदे भन्ने चलन छ । वडा, नगरको त्यसरी निर्देशनमा बाटो बनाउने हैन । मुख्य कुरा भूगर्भविद्, इन्जिनियर चाहिन्छ ।
नेपालमा सडक निर्माण गर्दा प्राविधिकहरुको प्रयोग भएको छैन । स्लोभ प्रोटेक्सन गर्ने, कल्र्भट, ड्रेन बनाएर सडक बनाउने चलन नै छैन । पहाड खोस्रिने जुन चलन छ यसले त धेरै भूक्षयको प्रकोप निम्त्याँउछ । भविष्यमा सवै प्राविधिक पक्षको संलग्नतामा मात्र सडक निर्माण गर्नुपर्छ । अलिकति धेरै पानी पर्नेवित्तिकै प्रकोप बढिहाल्यो । पानी पर्ने समय अझै साउन र भदौ महिना बाँकी नै छ । जमिन भिजेको छ, अझै पानी पर्ने संभावना छ, अझै क्षति हुने अवस्था देखिएको छ ।
कतिपय पहिरो प्रकृति आफैले पनि मिलाउँदै गइरहेको हुन्छ । जमिन चिरा चिरा परेको भौगोलिक अवस्था भएको स्थानमा सचेतता अपनाउनुपर्ने हुन्छ । अहिले जहाँजहाँ जोखिम छ, त्यहाँबाट सुरक्षित स्थानमा सरेर आफ्नो ज्यान बचाउनुपर्छ ।
पहिलो त प्राकृतिक जोखिम आउनै नदिने गर्नुपर्छ । भेल जता पायो उतैबाट बग्नेगरी छोडनुभएन । जथाभावी सडक बनाउने प्रक्रिया रोक्नुप¥यो । यसवर्ष पानी ठूलो परेको छ तर २०५० सालको जस्तो २४ घण्टामा ५ सय ३९ मिलिमिटर जस्तो पानी परेको भने होइन । त्यति ठूलो पानी प¥यो भने त तहसनहस नै हुन्छ । न बाटो रहन्छ न घर गाउँ खेत बारी रहन्छ । कमजोर भूबनोट भएको ठाउँमा छेकबार बनाउँने रोकथाम गर्ने विधि अवलम्बन गर्नुपर्छ । बस्तीहरु जोगाउने खालका संरचनाहरु बनाउँनुपर्छ ।
हाम्रोमा प्राकृतिक प्रकोप सावधानीबारे धेरै महत्त्व दिने चलन छैन । त्यसले गर्दापनि बढी क्षति बेहोर्नुपर्ने हुन्छ । प्रकोप रोकथामका लागि जल उत्पन्न प्रकोप न्यूनीकरण विभाग थियो अहिले त्यो नै भंग गरिएको छ । भौतिक संरचनादेखि प्राविधिक टिमसहित जाइकाले सहयोग गरेको थियो । अहिले प्राविधिकपनि सबै लाखापाखा लागेका छन् । सरकारले पनि महत्त्वपूर्ण ठानेन होला समाजले पनि महत्त्व दिएनन् होला ।
नदी तथा प्रकोपसम्बन्धी कानूनको आवश्यकता
खोला मिच्ने, खोलाको छेउमा भौतिक संरचना निर्माण गर्ने समस्या पनि छ । त्यसले गर्दा पनि प्रकोपबाट क्षति बेहोर्नुपर्ने अवस्था छ । यसलाई रोक्नका लागि नदीसम्बन्धी कानून बनाउनुपर्छ । नदी कस्को भन्ने कुनै अवधारणा छैन । नदीमा जसले जे गरेपनि हुने भएको छ । जसले एक्साभेटर लगेर खोतलेपनि भएको छ । नदीमा जे गर्न पनि त्यतिकै छाडा छोडेर हुँदैन ।
मानौँ कसैले कुनै ठाउँमा आफ्नो जग्गा सम्याउन डोजर लगेर खन्यो । त्यो खनेको कारणले गर्दा पहिरो गएर क्षति भयो भने त्यसलाई कारवाही गर्ने दोषी ठह¥याउने कानूनको व्यवस्था हुनुप¥यो ।
उसको कारणले गर्दा घरमा क्षति भयो वा मानवीय क्षति भयो भने उसले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हुनुप¥यो । अहिले त्यस्तो अवस्था छैन । अहिलेको ऐनले अलिकति बोलेको भएपनि तर ब्यवहारमा हेर्दा त्यो कार्यान्वयन हुन सकेको छैन ।
प्रकोप न्यूनीकरण वा रोकथामका लागि कसले हेर्ने ? यहाँ कुनै यससम्बन्धी निकाय चाहियो । खोलामा जसले जे गरेपनि हुने हो त ? हैन नि। गिटी झिक्ने, खोला कोतर्ने, बाटो बनाउँदा माटो खसाल्ने जस्ता काम पनि गर्नुभएन । हाम्रो सामाजिक अभ्यासपनि त्यस्तै नै छ हामी त्यति वास्तापनि गर्दैनौँ । प्रकोप आइसकेपछि मात्रै धेरै कराउँछौँ । यी सबै कारणहरुले गर्दा नै अहिले हुनुपर्ने भन्दा बढी प्राकृतिक प्रकोपका घटनाहरु बढिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु