नागरिक रैबार/बाजुरा ७ माघ। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नै निजि नगरप्रहरी राख्ने भएको छ । नगरपालिकाले छैटौ नगर सभाबाट नगर प्रहरी सम्वन्धि कार्यविधि २०७६ लाई अनुमोदन गरेपछि नगरपालिकामा यसै वर्ष भित्र नगर प्रहरी राख्न लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत नगरपालिकाले जानकारी गराएको छ ।
नगरपालिकाको छैटौं नगर सभाले नगरपालिकाको सामाजिक शान्ति स्थापनाका लागि नगर प्रहरी सम्वन्धि कार्यविधि, २०७६ र नगर सभाबाटै स्वीकृत दरवन्दी र तह अनुसार नगर प्रहरीको व्यवस्थापन गर्ने कानुनी आधार तयार भएपछि नगरपालिकालाई नगर प्रहरी व्यवस्थापन गर्न बाटो खुलेको हो ।
त्यस्तै नगरपालिकाको छैटौं नगरसभाले अटोरिक्सा व्यवस्थापन निर्देशिका , जलश्रोत उपयोग सम्वन्धि निर्देशिका र अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७६ अनुमोदन गरेको गरेको छ ।
जिल्लाकै पहिलो नगरपालिकाको रुपमा २०७१ सालमा घोषणा भएको यस नगरपालिकाले स्थानीय तहमा जनप्रतिनिधि बहाल भइसकेपछि ६ वटा नगरसभा सम्पन्न गरिसकेको छ ।
मंगलबार नगरप्रमुख पदम बडुवालले छैटौं नगरसभाले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिकिकरण गर्नु भएको थियोे । उहाँले नगरपालिकामा जनप्रतिनिधिहरु आईसकेपछि नगरपालिकाको समग्र विकासका लागि हालसम्म गरेका कामहरुको उपलव्धिबारे जानकारी समेत गराउनु भएको थियो ।
संविधानले निर्धारण गरेका जिम्मेवारीमा रहेर शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिंचाई लगायत क्षेत्रमा विकास निर्माणका काम, जनतालाई नजिकबाट सेवा प्रवाह गर्न आवश्यक कानून निर्माण, कर्मचारी व्यवस्थापन लगायतका कामहरुको कार्यान्वयन गर्न लागिरहेकाे नगरप्रमुख बडुवालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
फेसबुक प्रतिक्रियाहरु