१० जेठमा पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डलाई भवितव्य देखाउन राजनीतिक नेतृत्व नै क्रियाशील भइरहेको एक स्थलगत अध्ययनले निष्कर्ष निकालेको छ । मंगलबार राजधानीमा सार्वजनिक गरिएको रुकुम घटनाको स्थलगत प्रतिवेदनमा घटनालाई भवितव्य देखाउन स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय सांसदसम्मको संरक्षणमा काम भइरहेको उल्लेख छ ।
६ जनाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिनको आवाज उठिरहेका बेला घटनालाई भवितव्य बनाउन स्थानीय नेतृत्वदेखि सांसदसम्म लागेको निष्कर्ष प्रतिवेदनको निकालेको हो । घटना भएको रुकुम पश्चिम, चौजहारी नगरपालिकाका मेयर विशाल शर्मा हत्याकाण्डसँग सम्बद्ध मूल कारणलाई विषयान्तर गर्ने, अन्तरजातीय प्रेमलाई लकडाउन उल्लंघनसँग जोड्ने र रुकुममा जातीय विभेद छैन भनेर गलत सन्देश दिन क्रियाशील रहेको दाबी उक्त प्रतिवेदनले गरेको छ । प्रतिवेदनले मेयर शर्माको भूमिकालाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने जिकिर गरेको छ ।
‘रुकुम चौरजहारीका मेयर शर्मादेखि सोही क्षेत्रका संघीय सांसद् जनार्दन शर्मासम्मले घटनालाई जातीय विभेदका आधारमा नभएको, घटना भवितव्य रहेको, लकडाउनका बेलामा जाजरकोटका दलित युवाहरूले हुलहुज्जत गर्न आएको, भेरीमा हाम्फालेर ज्यान गएको भनी विषयान्तर गरेर पीडक÷आक्रमणकारीको संरक्षण गर्न खोजेको देखिन्छ,’ प्रतिवेदनमा छ । जाजकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती र त्यहाँका स्थानीय जनप्रतिनिधी भने पीडित परिवारले न्याय पाउनुपर्ने पक्षमा सक्रिय रहेको उल्लेख छ ।
प्रतिवेदनमा घटनाको मूल कारण जातीय विभेद, हत्याकाण्ड आकस्मिक र भवितव्य नभएर नियोजित रहेको, स्थानीय जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता रहेको र प्रहरीको भूमिका पनि शंकास्पद रहेको निष्कर्ष समेत निकालिएको छ । यस्तै, प्रहरीको अनुसन्धान प्रारम्भदेखि नै कमजोर रहेको, गैरदलित समुदायको ठूलो पंक्तिको भूमिका नकारात्मक रहेको निष्कर्ष पनि स्थलगत अध्ययन प्रतिवेदनको छ ।
दलित मुक्तिका लागि क्रियाशील दलित आन्दोलन, जात व्यवस्थाविरोधी नागरिक वृत्त, बौद्धिक र अधिकारकर्मीहरूको पहलमा स्वतन्त्र लेखक, पत्रकार, अभियन्ता, अधिकारकर्मी र अधिवक्तासहित ७ जनाको टोलीद्वारा घटनाको विस्तृत अध्ययन गरेर उक्त प्रतिवेदन तयार पारिएको हो । टोलीले स्थलगत अध्ययनका क्रममा ५० जनाभन्दा बढीलाई भेट्नुका साथै घटनास्थलको समेत अध्ययन गरेको थियो । अध्ययन टोलीमा लेखक तथा अधिकारकर्मी जेबी विश्वकर्मा, लेखक युग पाठक, दलित अधिकारकर्मी राम नेपाली, पत्रकार शुष्मा बराली, पत्रकार तथा लेखक सङ्गीत, अधिवक्ता मोहन साशंकर र दलित अधिकारकर्मी विजय विश्वकर्मा रहेका थिए ।
सोती हत्याकाण्डको मूल कारण जातीय विभेद नै रहेको प्रतिवेदनमा छ । उक्त सामूहिक हत्याकाण्डलाई अन्तरजातीय विवाह असफल पार्ने उद्देश्यबाट भएको ‘क्रुर र दर्दनाक हत्याकाण्ड’का रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।
‘२०७७ जेठ १० गते भएको नरसंहारको पृष्ठभूमिमा पनि मूल कारक जातीय विभेद रहेको देखिन्छ,’ ५३ पृष्ठ लामो हत्याकाण्डको स्थलगत प्रतिवेदनमा छ, ‘नवराज विकको परिवारभित्र पनि जातकै आधारमा भावी वैवाहिक सम्बन्धमा असर पर्न सक्नेबारे पटकपटक छलफल भएको पाइयो ।’
प्रतिवेदनमा कथित उच्चजातीय अहंकार र जातीय विभेद प्रेमप्रसंगको सुरुदेखि नै बाधकको रूपमा खडा भएको पाइएको तथा नवराज र सुष्माको प्रेम गहिरिँदै जाँदा घरपरिवारमा तनाव पनि बढ्दै गएको पनि उल्लेख छ ।
स्थानीयस्तरमा आफ्नो खेलकूदमार्फत ‘हिरो’ छविमा बनाएका नवराज र सुष्मा मल्लबीच ०७५ सालदेखि नै प्रेममा थिए । नवराजप्रति सुष्माको मात्रै नभएर स्थानीय युवाको पनि आकर्षण रहेको कुरा प्रतिवेदनमा छ । यही आकर्षणले उनीहरू प्रेममा परेका थिए । ०७६ पुसमा सुष्मा जाजरकोट मेलामा गएका बेला नवराजको घरमा चार दिन बसेकी थिइन । नवराज पनि पटक—पटक सुष्माको घर पुगेका थिए । यहीबीच ०७७ बैशाखमा सुष्माका भाइ पनि नवराजको घर गएर बसेको प्रतिवेदनमा छ ।
प्रतिवेदनमा नवराजप्रति स्थानीयस्तरमा रहेकै आकर्षणका कारण ठूलो संख्यामा उनका साथीहरू प्रेमिका भगाउन सहयोगीका रुपमा रुकुम पुगेको स्थलगत अध्ययनमा गएका अधिकारकर्मी जेबी विश्वकर्माले बताए ।
१० जेठमा सुष्मालाई भगाउन नवराज र उनका १८ जना साथीहरू ३ बजे नै जाजरकोटबाट रुकुमका लागि हिडेका थिए । उनीहरू साँझतिर सुष्माको घरको १ सय मिटर जति नजिक पुगेपछि विवाद सुरु भएको थियो । सुरुमा नवराजलाई सुष्माकी आमाले हप्काएकी थिइन् । त्यहीबाट उनीहरूले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खबर गरेका थिए ।
साँझ ५ बजेतिर प्रेमिकालाई भगाउन सोती पुगेका युवाहरूलाई उक्त योजनावद्ध आक्रमणबारे कुनै जानकारी नरहेको प्रतिवेदनमा छ । साथै, प्रतिवेदनमा सुष्माको घर पुगेपछि उनकी आमाले हप्काएपछि फर्किएका युवाहरू बाटोमा योजनावद्ध आक्रमण परेको जनाइएको छ । ‘केटीकी आमाले हप्काएपछि उनीहरू बिना सावधानी स्वभाविक हिसाबले जताबाट आएको हो, त्यतै फर्किरहेको बुझ्न सकिन्छ,’ प्रतिवेदनमा छ, ‘अर्कोतिर आक्रमण गर्नेहरू योजनासहित तयार अवस्थामा रहेको तथ्यहरूले देखाउँछन् । एक्कासी आक्रमण हुँदा केटाहरूको भागाभाग भयो, बाँचेका युवाले आफ्ना ६ जना साथी कता हराए भन्नेसम्म पनि भेउ पाएनन् ।’
ढुंगामुढाले आक्रमण सुरु भएपछि उनीहरू मध्यपहाडी लोकमार्गतिर भागेका थिए । त्यो बाटो पनि मानिसहरू छेकेर बसेकाहरूले आक्रमण गरेपछि १८ मध्ये १२ युवा सडकबाट खेतैखेत हाम्फालेर भेरी नदीतिर दौडेका र हत्या गरिएका ६ युवा त्यही बीचमै हराएको उल्लेख छ । वडाध्यक्षले खबर गरेपछि ६ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले कुटिएका २ युवालाई बाटोमै उद्धार गरेको र पाँच जना युवा नदीको भंगालोमा लुकेका र पाँच जना नदी तरेर पारी पुगिसकेको उल्लेख छ । उनीहरू सबैलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको थियो ।
त्यही दिन राति ८ बजेतिर नवराजको शव स्थानीयले भेरीको धौलाको पुलनेर फेला पारेका थिए । त्यसपछि क्रमशः ११ जेठमा टीकाराम सुनार, १२ जेठमा गणेश बुढामगर, १४ जेठमा लोकेन्द्र सुनार, १६ जेठमा सन्जु विक र २१ जेठमा गोविन्द शाहीका शवहरू ३ देखि ४२ किलोमिटरको दूरीमा भेरी नदीमा फेला परेका थिए ।
फेसबुक प्रतिक्रियाहरु