होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु
समाचार

पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु

  • नागरिक रैबार
पोजेटिभ रिपोर्ट आएपछि बेहोस, ३ घन्टाभित्र मृत्यु

३० असोज, काठमाडौं । पाँच दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।

कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन् ।

काठमाडौंको खहरेमा घर भएका विष्णु निरौला ६६ वर्षको उमेरमा पनि निकै स्वस्थ र फुर्तिला थिए । कृषि विकास बैंकको जागिरबाट रिटायर्ड भएपछि परिवारसँग दिन बिताइरहेका उनलाई कुनै दीर्घरोग नरहेको बुहारी निशा बताउँछिन् । कोरोनाको सामान्य लक्षण भए पनि गम्भीर अवस्था नभएको उनको भनाइ छ ।

विज्ञापन

‘रिपोर्ट आउनुअघिसम्म बुवाको स्वास्थ्य सुधारोन्मुख थियो, तर पोजिटिभ रिपोर्ट आएको थाहा पाएपछि एकाएक ढल्नुभयो,’ उनले भनिन् ।

पूरा विवरण बुहारी निशाकै शब्दमा :

परिवारमा हामी ६ जना छौं । २० दिनजति अगाडि मेरा श्रीमानलाई लगातार ज्वरो आएको थियो । कोरोनाको आशंकामा उहाँले पीसीआर परीक्षण गराउनुभयो । रिपोर्ट नेगेटिभ आयो । त्यसपछि थप परीक्षण गराउँदा सुगर बढेको र पिसाबमा इन्फेक्सन देखियो । औषधि खाएपछि करिब १० दिनमा उहाँ ठीक हुनुभयो ।

यहीबीचमा म र मेरो डेढ वर्षको छोरालाई पनि ज्वरो आयो । तर, दुई–तीन दिनमा आफैं ठीक भयौं । हामीले पीसीआर परीक्षण गराएनौं ।

घर गएर मैले आमालाई पोजिटिभ रिपोर्ट आएको सुनाएँ । बुवालाई भनेका थिएनौं । डराउनुहुन्छ कि भन्ने लागेर अलि मिलाएर भन्ने विचार थियो । तर, आमाले फोनमा कुरा गर्ने क्रममा बोलेको सुनेर बुवाले आफैं थाहा पाउनुभएछ ।
बुवामा चाहिँ अघिल्लो बिहीबारबाट लक्षण देखिएको हो । सुरुमा रुघा लाग्यो । त्यसपछि ज्वरो आयो । खाना रुच्न छाड्यो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि आइतबार सिनामंगलको काठमाडौं मेडिकल कलेजमा लगेर उहाँको पीसीआर परीक्षण गरायौं ।

भोलिपल्ट सोमबार पीसीआर रिपोर्ट लिन म आफैं गएँ । मैले रिपोर्ट लिएर घर आइपुग्दा बिहानको साढे १० जति बजेको थियो । कोरोनाको लक्षण देखिएपछि बुवा माथिल्लो तल्लाको एउटा कोठामा आइसोलेट भएर बस्नुभएको थियो । हामी तल्लो तलामा बसेका थियौं ।

त्यस दिन बिहान बुवा राम्रैसँग भात खानुभएको थियो । अघिल्लो दिनभन्दा राम्रो भएको र भोलिबाट ठीक हुन्छु भन्दै हुनुहुन्थ्यो । स्वाब दिएर आएपछि रिपोर्ट के आउँछ भन्ने बुवालाई निकै कौतुहल थियो ।

घर गएर मैले आमालाई पोजिटिभ रिपोर्ट आएको सुनाएँ । बुवालाई भनेका थिएनौं । डराउनुहुन्छ कि भन्ने लागेर अलि मिलाएर भन्ने विचार थियो । तर, आमाले फोनमा कुरा गर्ने क्रममा बोलेको सुनेर बुवाले आफैं थाहा पाउनुभएछ ।

एकछिनमा आमाले तातोपानी लिएर बुवाको कोठामा जानुभयो । त्यसबेला बुवा आत्तिएको जस्तो अवस्थामा हुनुहुन्थ्यो रे । ‘पोजिटिभ आयो होइन ?’ भनेर सोध्नुभएछ । आमाले ‘पोजिटिभ आउँदैमा के भयो त, ठीक भइहाल्छ नि’ भनेर सम्झाउनुभएछ । तर, आमाका अनुसार बुवा निकै हड्बडाउनुभएको थियो । उहाँले पानीको गिलास पनि राम्ररी समात्न सक्नुभएन छ । आमालाई पनि कोरोना सर्छ भनेर नजिक आउन दिनुभएनछ ।

त्यसपछि आमा आत्तिँदै तल आएर बुवा धेरै डराउनुभएको हामीलाई सुनाउनुभयो । त्यसपछि हामी माथि उक्लियौं । हामी माथि जाँदा बुबा कक्रक्क पर्नुभएको थियो । हामीले उहाँको अक्सिजन लेभल नाप्यौं । ३५ मा झरिसकेको रहेछ ।

ऐया–आत्था गर्नुभएको थिएन । तर, एकोहोरो स्याँ स्याँ गर्न थाल्नुभएको थियो । हामी सबै आत्तियौं । अस्पतालहरुमा फोन गर्न थाल्यौं । कतै पनि बेड खाली छैन । बल्लतल्ल कुपण्डोलको सर्वाङ्ग हस्पिटलमा आइसोलेसन कक्ष पाइयो । त्यहाँसम्म लैजान एम्बुलेन्स खोज्यौं । तर, नपाइएपछि छिमेकीको कार मगायौं ।

माथिबाट हामी सबैले जसोतसो बुवालाई तल ल्यायौं । गाडीमा चढाउँदा पनि एकोहोरो स्याँ स्याँ गरिरहनुभएको थियो । बोल्न सक्नुभएको थिएन । करिब साढे ११ बजे हामी घरबाट हिँड्यौं । बाटोमा अलिअलि जाम थियो ।

अस्पताल पुग्दा करिब १२ बजेको थियो । त्यहाँ पुर्‍याउनासाथ डाक्टरहरुले उहाँको अवस्था चिन्ताजनक रहेको बताए । भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ भन्दै भर्ना लिन मानेनन् । बरु पाटन अस्पताल लैजान सुझाव दिए । हामी तुरुन्तै हिँड्यौं ।

पाटन अस्पताल पुर्‍याउँदा बुवा पूर्णरुपमा अचेत भइसक्नुभएको थियो । इमर्जेन्सीमा छिरायौं । डाक्टरहरुले अक्सिजन दिने प्रयास गर्नुभयो । सुरुमा एकैछिन ‘पल्स’ देखायो । त्यसपछि बुवाको शरीरले कुनै प्रतिक्रिया दिएन ।

करिब साढे १ बजेतिर डाक्टरले बुवालाई मृत घोषित गर्नुभयो । हामीलाई शव दिइएन । आर्यघाटमा टाढाबाट हामीले उहाँको दाहसंस्कार हेर्‍यौं र रुँदै फर्कियौं ।

कोरोना संक्रमण भए पनि बुवाको अवस्था गम्भीर थिएन । रिपोर्ट पोजिटिभ आएपछि आत्तिएर ‘ब्रेन ह्यामरेज’ भएको हाम्रो अनुमान छ । डाक्टरहरुले चाहिँ हामीलाई यसबारे केही पनि बताउनुभएन । कोरोनाको कारण मृत्यु भएको पनि भन्नुभएन, अरु कारण पनि खुलाउनुभएन । कोरोना संक्रमित भनेपछि अरु कारणको खोजी हुँदैन रहेछ ।

बुवा आफ्नो स्वास्थ्यलाई लिएर सधैं सचेत हुनुहुन्थ्यो । उमेरले धेरै वृद्ध पनि होइन । अहिलेसम्म उहाँले बिरामी भएर औषधि खानुपरेको थिएन । कोरोनाले होइन, कोरोनाका कारण उत्पन्न त्रासले नै उहाँलाई हामीबाट चुँड्यो ।

त्यसैले कोरोनाका बारेमा जनमानसमा उत्पन्न भएको त्रासलाई कसरी कम गर्ने भनेर सबैले सोच्नुपर्ने बेला भएको छ । बिरामीको आत्मविश्वास कमजोर भयो भने जे पनि हुन सक्दोरहेछ । हाम्रो परिवारलाई परेकोजस्तो अरुलाई नपरोस् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै