होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • निर्मला हत्या प्रकरणलाई चाँडै टुंग्याउने प्रयासमा छौं : आईजीपी थापा
राजनीति

निर्मला हत्या प्रकरणलाई चाँडै टुंग्याउने प्रयासमा छौं : आईजीपी थापा

  • नागरिक रैबार
निर्मला हत्या प्रकरणलाई चाँडै टुंग्याउने प्रयासमा छौं : आईजीपी थापा

३० असोज, काठमाडौं । नेपाल प्रहरीका अधिकांश महानिरीक्षकहरु सर्वोच्च पदमा पुग्नुअगावै चर्चाको केन्द्रमा रहने गर्छन् । हालका आईजीपी शैलेश थापा क्षेत्री भने अपवाद हुन् ।

कार्यकालको तीन महिना अवधि बित्दासम्म उनले विगतमा अन्य आईजीपीले झैँ महत्वांकाक्षी कार्ययोजना अघि सारेका छैनन् । कुनै नयाँ घोषणा गरेका छैनन् । तर, लामो समयदेखि प्रहरी कार्यालयमा आईजीपीको फोटो राख्ने परम्परालाई अन्त्य गरेर होस् या अगुवा–पछुवा गाडी हटाएर होस्, उनले आफ्नो पृथक पहिचान बनाउन खोजिरहेका छन् ।

 

विज्ञापन

थापा भन्छन्, ‘मैले यसलाई ठूलो काम गरेँ पनि भन्दिनँ । यो विषय समाचार बन्नुपर्थ्यो भन्ने पनि मेरो आग्रह होइन । सामान्य व्यक्तिगत सोच थियो, त्यसलाई मैले संगठनात्मक प्रारुप दिएको मात्र हो ।’

अगुवा–पछुवाको सन्दर्भमा पनि आवश्यकताका आधारमा यसको प्रयोग हुनुपर्ने मान्यता रहेको थापा बताउँछन् ।

प्रहरी दिवसका सन्दर्भमा यिनै आईजीपी थापाले अनलाइनखबरकर्मी गौरव पोखरेलसँग लामो संवाद गरेका छन् ।

चर्चित निर्मला हत्या प्रकरणका बारेमा पनि अनलाइनखबरले उनीसँग जिज्ञासा राखेको छ । जवाफमा उनले निर्मला हत्या प्रकरण प्रहरीको प्राथमिकताको अनुसन्धान भएको खुलाएका छन् । र, भनेका छन्, ‘यसलाई समयसीमामा नरही सकेसम्म चाँडै टुंग्याउने प्रयासमा लागेका छौं ।’

कुराकानीको सुरुवात थापाको आईजीपी अनुभवबाट –

हिजो अन्य पदमा बसेर काम गर्दा र अहिले प्रहरीको नेतृत्व गरिहँदा कस्तो अनुभव भइरहेको छ ?

निश्चय पनि म अहिले नेपाल प्रहरीको सबैभन्दा माथिल्लो पदमा रहेर काम गरिरहेको छु । यसको दायित्व र निर्वाह गर्नुपर्ने भूमिका मातहतका निकायमा रहेर मैले गरेका भूमिकाभन्दा नितान्त फरक र डाइनामिक हुन्छन् नै । तर, ती विषयहरुलाई मैले विगतमा कार्यसम्पादन गरेका अनुभवले भरथेग गर्दो रहेछ ।

विगतमा महानिरीक्षकको नियुक्तिका बेला अस्वस्थ प्रतिष्पर्धा हुने गरेको थियो । एउटै ब्याचमेटबीचको विवाद अदालतसम्म पनि पुगेका उदाहरण छन् । तर, तपाईंको ब्याजमा त्यो समस्या देखिएन । हिजो आईजीपी र ब्याचमेटबीच बोलचाल नै नभएका वेला पनि सचिवालय बसेर काम गरेको अधिकृत भएको नाताले ब्याचमेटबीच एक किसिमको सौहार्दता हुँदा काम गराइमा कत्तिको सहजता हुँदो रहेछ ?

प्रहरीको भाषामा हाम्रो समूलाई ‘९८ ब्याच’ भन्छौं । यो ब्याचको एकप्रकारको चरित्र छ । अहिलेसम्म ब्याचमेटबीचमा जुन प्रकारको हार्दिकता छ, त्यो अनुकरणीय छ । आफ्नो ब्याचको आफैंले प्रशंसा गर्‍यो भन्ने आरोप पनि मलाई लाग्छ ।

महानिरीक्षकका रुपमा तपाईंलाई मैले भन्दाखेरि निर्मला हत्या प्रकरण छिटोभन्दा छिटो टुंगोमा पुगोस् भन्ने चाहन्छु । तर, अनुसन्धान कुनै समय सीमाभित्र आवद्ध भएर गर्न सकिने विषय होइन ।
तर, कहिलेकाहीँ राम्रो कुरा खुला रुपमा भन्दा त्यो राम्रो हुन्छ जस्तो लाग्छ । हामीले स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ भन्ने नै मान्यता राख्यौं र स्वस्थ प्रतिस्पर्धाको क्रममा मेरा ब्याचमेट साथीहरुले मलाई मेरो व्यवसायिकता अनुसार यसले प्राप्त गरेको पद उचित हो भन्ने किसिमले स्वीकार गरिदिनुभयो । त्यसका लागि मेरो ब्याचमेटप्रति पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

विगतमा यदाकदा प्रहरीमा गलत अभ्यासहरु देखियो । आफ्नो ब्याचमेट आईजीपी भएपछि उनीहरुलाई व्यवसायिक रुपमा निषेध गर्ने काम भए । त्यस्ता कामहरु नगर्दा संगठनको हित हुन्छ भन्ने हाम्रो ब्याचको बुझाइ थियो, त्यसलाई हामीले अहिलेसम्म पालना गरिरहेका छौं ।

हामीले कहिलेकाहीँ विज्ञका रुपमा चार वर्ष कानुनी सेवामा काम गरेका मान्छेहरुलाई प्रयोग गर्छौं । तर, आफ्नै साथी साथी जो, २८ वर्षसम्म यही पेशामा छ, उसलाई चाहिँ विज्ञ स्वीकार गर्नुभन्दा पनि व्यवसायिकरुपमा निषेध गर्छौं भने त्यो संगठनलाई फाइदा गर्ने कुरा पक्कै होइन ।

संगठनभित्र विनम्र अधिकृतका रुपमा बनेको छविले कहिलेकाहीँ काम गराइमा समस्यामा पनि हुनसक्छ भन्ने यहाँलाई लाग्छ ? किनकि, महानिरीक्षक नियुक्त भइसकेपछि गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा तपाईंले ‘मेरो विनम्रतालाई कमजोरी नठानियोस्’ भन्दै अधिकृतहरुलाई चेतावनी दिनु भएको थियो ।

प्रहरीको हिसाबले नेतृत्वको कुरा गर्नु हुन्छ भने अपरेशनल तहमा एउटा नेतृत्व आवश्यक हुन्छ, त्यो बोलीचालीको भाषामा खरो होस् भन्ने मानिन्छ । नीतिगत तहमा अर्कोखाले नेतृत्वको कामना गरिन्छ, त्यो अलि बेसी नीतिगत कुरा बुझ्ने होस् र अलिकति अन्तर्राष्ट्रिय रुपमा एक्सपोजर भएको र संसारमा पुलिसिङको काम कसरी गइरहेको भन्ने जान्ने होस् भन्ने मानिन्छ ।

नेतृत्वको कुरा गर्दा उसको पदस्थापन कुन लेभलमा भएको हो, त्यसले गाइड गर्छ । महानिरीक्षकका रुपमा मैले चाहिँ के मान्छु भने आईजीपी भनेको विनम्र हुनुपर्छ । किनभने, उसले नीतिगत कुरामा काम गर्नुपर्छ । विनम्रताले थुप्रै बौद्धिक व्यक्तित्वहरुलाई तपाईंको सानिध्यतामा आउने सहजता प्रदान गर्छ ।

जब तपाईं धेरै मानिससँग अन्तरक्रिया गर्नुहुन्छ, धेरै बौद्धिक मान्छेलाई राखेर छलफल गर्नुहुन्छ, त्यसले निकाल्ने निष्कर्ष उचित हुन्छ । त्यसकारण कुन तहको कमाण्ड हो, त्यही अनुसारको कमाण्डरको चरित्र हुनु जरुरी छ । सबै ठाउँमा खरो प्रहरी चाहिने अथवा सबै ठाउँमा विनम्र पुलिस चाहिने भन्ने होइन । तपाईं एजेण्डा अनुसर कहिले काहीँ खरो पनि हुनुपर्छ, कहिलेकाहीँ विनम्र पनि हुनुपर्छ । र, अहिले पदको हिसाबले ममा धेरै विनम्रता हुनुपर्छ भन्ने हो । तर, यो ‘एक्सक्युजएबल’ चिज चाहिँ होइन । यो भनेको ‘फरगिभ एण्ड फर्गेट’को चिजमा जोडिँदैन ।

यो भनेको ऐन, कानुनलाई अक्षरश: पालना गर्नुपर्छ र त्यसको निम्ति तपाईं विनम्र भएर पनि गर्न सक्नुहुन्छ भन्ने नै मान्यता हो ।

तपाईं आफैंलाई चाहिँ आफू कत्तिको विनम्र र शालिन अधिकृत हुँ भन्ने लाग्छ ?

यदी मेरो करियरको ट्याक रेकर्ड हेर्नु हुन्छ भने सायद सबैभन्दा धेरै सजाय गर्ने प्रहरी अधिकृत पनि म हुनसक्छु र सायद सबैभन्दा धेरै पुरस्कृत गर्ने अधिकृतभित्रको कोटीमा पनि पर्छु होला । मैले तथ्यांक त यहाँ प्रस्तुत गरिन तर, मेरो काम भनेको कानुन कार्यान्वयन गराउने हो । म चाहिँ के मान्छु भने विनम्र भएर पनि कानुन कार्यान्वयन अक्षरंश गराउन सकिन्छ ।

माथि उल्लेख गरिएझैं तपाईले महानिरीक्षक भइसकेपछि केही पृथक पहिचान बनाउनुभयो । यो सबै कुरालाई हेर्दा तपाईंप्रति धेरै अपेक्षा देखिन्छ । आफैंलाई चाहिँ बाँकी कार्यकालमा केसम्म गर्न सक्छु भन्ने लाग्छ ?

पहिले आईजीपीको फोटो मातहतका कार्यालयहरुमा राख्ने चलन थियो । त्यसलाई मेले निरन्तरता दिइनँ । मैले यसलाई ठूलो काम गरेँ पनि भन्दिन । यो विषय समाचार बन्नुपर्थ्यो भन्ने पनि मेरो आग्रह होइन । सामान्य व्यक्तिगत सोच थियो, त्यसलाई मैले संगठनात्मक प्रारुप दिएको मात्र हो ।

अगुवा, पछुवाको कुरा गर्नु हुन्छ भने यो चाहिँ सेरेमनीको हिसाबले भन्दा पनि थ्रेटको हिसाबले हुनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो । म के मान्छु भने मैले अगुवा, पछुवा राखेर हिँड्नुपर्ने गरी थ्रेट बोक्दिनँ । त्यसकारणले यी चाहिँ सामान्य परिवर्तनहरु हुन्, यसलाई त्यति ठूलो काम र अर्थका रुपमा नबुझ्न नै म आग्रह गर्छु ।

जहाँसम्म मैले आगामी दिनहरुमा गर्ने प्राथमिकताको कुरा गर्नुहुन्छ भने बुझ्नुपर्ने कुरा के हो भने हामीसँग प्रचलित ऐन, कानुनहरु छन् । र, नेपाल प्रहरी भनेको कानुन कार्यान्वयन गर्ने निकाय हो । हामीसँग यथेष्ट ऐन, कानूनहरु छन्, ती हुँदाहुँदै मैले फेरि थप घोषणा गर्नु जरुरी मानिन ।

तर, प्रहरी प्रधान कार्यालयले आगामी दुई वर्ष कसरी जाने भनेर कार्ययोजना तयार गरेको छ । त्यो भनेको हामी लहडमा चल्नु हुँदैन भन्ने पनि सोच हो । त्यो कार्ययोजना बनाउँदै गर्दा पनि त्यो प्रहरी महानिरीक्षकको कार्ययोजना होइन । त्यो नेपाल प्रहरीको कार्ययोजना हो र यसमा मेरा सबै अधिकृतहरुको सहभागिता छ । त्यसलाई हामीले छलफलको विषय पनि बनायौं । र, उपलब्ध भएसम्म अधिकृतहरुको राय पनि त्यसमा राख्यौं र त्यसलाई एउटा निष्कर्षमा पुर्‍याएका छौं । त्यसलाई संगठनले ओन गरेको डकुमेन्टको रुपमा अहिले स्थापित भएको छ र त्यसलाई कार्यान्वयन गर्न लागि रहेका छौं । मैले चाहिँ काम गर्नुपर्छ भन्ने मान्यता राख्छु । काम गरिसकेपछि कहिलेकाहीँ तपाईंको काम बोलीभन्दा ठूलो स्वरले बोल्छ ।

 

अगुवा–पछुवा राख्ने कुरा आवश्यकताले निर्धारण गर्छ भन्नुभयो । कतिपय अवस्थामा देखावटी ‘शोअफ’ का लागि पनि यो सुविधा लिने गरिन्छ । तर, महानिरीक्षकको पदका लागि त्यो सरकारले नै निर्णय गरेको सुविधा होला नि ?

व्यक्तिगत रुपमा यहाँकै शब्द कोट गरेर भन्दा ‘शोअफ’ त्यति जाती चिज हो जस्तो चाहिँ मलाई लाग्दैन । व्यक्तिगत रुपमा तपाईंले मलाई कतै खुइलिएको जिन्स लगाएर पेटीमा बसेर हरियो मकै पोलेर खाइरहेको भेट्नुभयो भने अन्यथा नमाने हुन्छ । फुर्सद भयो भने मैले गर्ने त्यही हो । त्यसकारण एउटा असल व्यक्तिका रुपमा तपाईंमा थ्रेट छैन भने किन बढी साधन स्रोतको दुरुपयायेग गर्ने भन्ने मात्र मेरो धारणा हो

तपाईंको कार्यकालमा पूर्वमहानिरीक्षकका कार्यक्रमहरुले निरन्तरता पाउँछन् कि पाउँदैनन् ?

यो सोध्नुपर्ने विषय नै होइन । किनकि, मेरो कार्यकालमा राम्रो कामले निरन्तरता पाउँछन् । जस्तोः समुदाय–प्रहरी साझेदारी नामक जुन निवर्तमान महानिरीक्षकको कार्यक्रम थियो, त्यसको राम्रो प्रभाव सामाजमा परेको छ । त्यसैले राम्रो प्रभाव पार्ने कार्यक्रमलाई अवरुद्ध गर्ने कुनै चेष्टा गर्दिनँ । निरन्तरता दिन्छु, पर्‍यो भने समाजसँग बसेर छलफल गरेर त्यसलाई रिभ्यू गर्ने सिंहावलोकन गर्ने काम चाहिँ हुन्छ । तर, राम्रो भइरहेको कुरालाई बाधा गर्ने काम गर्दिनँ ।

अहिले कतिपय अवस्थामा प्रहरीभित्र कुनै ब्याचलाई नै उछिनेर अघि बढ्नलाई राजनीतिक शक्ति केन्द्रबाट दबाब दिने गरेको सुनिन्छ । यसलाई लक्षित गरेर तपाईंले आचारसंहिता पनि जारी गर्नु भएको छ । यसको कार्यान्वयन सम्भव छ ?

हामीले जुन आचारसंहिता जारी गरेका छौं, त्यो आन्तरिक व्यवस्थाका लागि जारी गरिएको हो । त्यो कुरा क्रमशः लागू हुँदै जान्छ । जारी गरेको अर्को दिन कास्कीको कुनै लागूऔषध दुर्व्यसनी छुट्यो भने त्यसलाई पनि आचारसंहितासँग जोडेर हेर्ने काम गरिन्छ । त्यो स्तरको बुझाइचाहिँ हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।

यसलाई एउटा राम्रो दस्तावेज आएको छ, त्यसलाई कार्यान्वयन गर्नका निम्ति काम सुरु भएको छ, अलिकति समय दिउँ न त्यसपछि टीकाटिप्पणी गरौं भन्ने सोचिदिए जाती हुन्थ्यो । कार्यान्वयन चाहिँ हामी गर्छौं । मेरो नेतृत्व तहका सबै साथीहरु पनि त्यो कार्यान्वयन हुनुपर्छ भन्ने कुरामा एकमत हुनुहुन्छ ।

कहिलेकाहीँ प्रहरीभित्र सरुवा–बढुवाको कुरामा पनि चरम हस्तक्षेप हुन्छ भन्ने कुरा सार्वजनिक हुन्छ । नेतृत्व तहमा रहेर काम गरिसकेपछि तपाईंले कत्तिको दबाब महसुस गर्नुभयो ?

यहाँले भनेको जस्तो चरम हस्तक्षेप भन्ने शब्द चाहिँ मान्दिन । तर, त्यसलाई टेकओभर पनि गर्दिन ।

हामी तपाईं सुरक्षित रहनुस् भन्नका लागि लाठी हान्नुपर्ने अवस्थामा पुगेका छौं । यो स्वःअनुशासनको विषय थियो । सबैजना आफैं अनुशासनमा बसिदिनुभएको भए, यस्तो प्रसंग आउँदैनथ्यो ।
कहिलेकाहीँ मेरो जिल्लामा फलानो मान्छे आइदिए हुन्थ्यो भन्ने कसैको चाहना हुनसक्छ । त्यसलाई मैले शब्दचाहिँ कामना मात्र भने । त्यो मान्छे त्यो जिल्लामा फिट हुन्छ कि हुँदैन अथवा, मादण्डभित्र ऊ अहिले जिल्ला जान लायक छ कि छैन भन्ने निर्धारण गर्ने कामचाहिँ प्रहरी प्रधान कार्यालयकै हुन्छ । त्यो अभ्यास हामीले प्रारम्भ गरेका छौं र अहिलेसम्म त्यसमा कुनै पनि प्रकारको अवरोध देखिएको छैन ।

कतिपय प्रहरीले गरेका इन्टकाउन्टरहरु विवादमा आएका छन् । मानव अधिकार आयोगले पनि यसमा प्रहरीको दोष देखिएको निष्कर्ष निकालिसकेको छ । केही प्रहरी कारबाही अझै छानविनकै क्रममा पनि छन् । यि विषय अब के हुन्छन् ?

मेरो नेतृत्वमा प्रहरी थप व्यवसायिक, प्रविधिमैत्री, प्रमाणमुखी र जवाफदेही हुन्छ । मानव अधिकारको प्रसंगमा मेरो भनाइ के हो भने सांगठानिक नीतिको कुरा गर्नु हुन्छ भने हामी मानव अधिकारको प्रबर्द्धनमा लागिरहेकै संगठन हो । प्रशिक्षणका क्रममा पनि हामीले सबै तहका सबै प्रहरी कर्मचारीका लागि यी कुराहरु प्रष्ट रुपमा प्रशिक्षित गराएकै छौं । यदाकदा व्यक्तिगत रुपमा मानव अधिकारको मापदण्ड तोडिन्छ र कतिपय अवस्थामा अतिरिक्त बल प्रयोग भएका घटनाहरु पनि छन् । ती घटनाहरु भनेको अपवादका रुपमा व्यक्तिगत लहडमा भएका विषय हुन्, त्यसमा संगठनको कुनै सहयोग छैन । र, म यहाँहरुलाई त्यो संगठनको नीति नभएको बुझिदिन पनि आग्रह गर्दछु ।

कस्तो अवस्थामा प्रहरीले बल प्रयोग गर्दो रहेछ । फिल्डमा खटिने व्यक्ति, कमाण्डर वा माथिल्लो तह अथवा कसको मनोविज्ञानले काम गर्दो रहेछ ? यसपछाडिको कारण के होला ?

हामी एउटै युनिफर्म लगाउँछौं, त्यसकारण सडकमा एउटा प्रहरी जवानले गरेको गल्ती सिधै महानिरीक्षकसँग जोड्ने गरिँदो रहेछ । त्यो स्वाभाविक पनि हो । हामी एउटै युनिफर्म लगाउँछौं र महानिरीक्षक नैतिक रुपमा जिम्मेवार पनि हुनु जायज पनि हो भन्ने म मान्छु ।

तर, यहाँले भने जस्तै प्रहरी बल प्रयोग किन गर्छ भन्ने सवाल चाहिँ सबैभन्दा महत्वपूर्ण होजस्तो मलाई लाग्छ । यसका थुप्रै आयामहरु छन् । यद्यपि, यो एक्सक्युजएबल (क्षमायोग्य) भने होइन । यी कारण छन्, त्यसकारण प्रहरीले बल प्रयोग गर्न पाउनुपर्छ भन्ने मेरो धारणा होइन ।

तर, बल प्रयोग गर्ने वा अतिरिक्त बल प्रयोग गर्ने सम्भावना चाहिँ कतिबेला आउँदो रहेछ भने मैले देखेको चाहिँ प्रहरी कर्मचारीको ड्यूटी समय कति छ भन्ने कुरा पनि यसको निर्धारण गर्दो रहेछ । हामी १७/१८ घन्टा निरन्तर ड्यूटीमा खट्छौं । अहिले कोभिड–१९ को प्रसंग छ, यसबाट प्रहरी आफैं पनि संक्रमित छन् । र, समुदायमा एकप्रकारको चिडचिडाहट विकसित भएको छ । हामी तपाईं सुरक्षित रहनुस् भन्नका लागि लाठी हान्नुपर्ने अवस्थामा पुगेका छौं ।

यो स्वःअनुशासनको विषय थियो । सबैजना आफैं अनुशासनमा बसिदिनुभएको भए, यस्तो प्रसंग आउँदैनथ्यो । एउटा प्रहरी १७/१८ घन्टा खटिरहेको छ र उसले आफ्नो होइन, सडकमा हिँडिरहेको आमनागरिककै समर्थनमा तपाईंहरुभित्र बसिदिनुस् भनेर इन्फोर्स गर्नुपर्ने अवस्था छ । अझ लकडाउनको बेलामा त खाजा खानेसम्म सम्भावना थिएन । किनभने, पसल खुल्ने र गाडीहरु चल्ने अवस्था थिएन । ऊ के गर्थों भने घर परिवारसँग विदा नलिइकन बस्नुपर्ने स्थिति थियो ।

यी सबै कुराहरुलाई व्यक्तिगत तवरमा बुझ्ने हो भने युनिफर्म फुकालेर सोच्ने हो भने एउटा आम नागरिकले कसरी लिन्छ होला ? यसले चाहिँ कतिपय प्रसंगमा बल प्रयोगलाई बल पुगेको देखिन्छ । तर, हामीले यो कुरालाई गम्भीरताका साथ लिइरहेका छौं, तपाईंले याद गर्नु भयो भने बल प्रयोगका घटनाहरु जब बढ्न थाले मैले आफैंले पनि मानव अधिकार सम्बन्धी कक्षाहरु राख्नका निम्ति र त्यस्ता घटनाहरुको छानविन गरेर कसको कस्तो संलग्नता हो, त्यसअनुसार कारबाही गर्नका निम्ति पनि निर्देशन दिएको थिएँ । त्यो अनुसार हामीले काम, कारबाहीहरु पनि गरिरहेका छौं ।

 

विगतमा नेपाल प्रहरीको अनुसन्धान अधिकृत नै विभिन्न घटनामा आरोपित बनेका छन्, चाहे त्यो सुन सम्बन्धी प्रकरणमा होस्, निर्मलासम्बन्धी प्रकरणमा होस् । अहिलेचाहिँ कस्तो स्थिति आएको छ भने सुन सम्बन्धी सूचना आयो भने पनि प्रहरीले हात नहाल्ने, डराउने स्थिति छ । त्यो स्थितिबाट प्रहरीलाई उकास्न, मनोबल बढाउन केही योजनाहरु छन् ?

यसका मनग्य योजनाहरु छन् । हाम्रो कार्ययोजनामा पनि ती कुरालाई समेट्ने कोशिस गरेका छौं । मैले पटकपटक भन्ने गरेको छु, प्रहरीको दुई वटा काम हुन्छ, एउटा शान्ति, सुरक्षा कायम गर्ने र अर्को चाहिँ अपराध अनुसन्धान र रोकथाम । दोस्रो पाटो चाहिँ अलिकति छायाँमा छ कि भन्ने चाहिँ हाम्रै पनि बुझाइ हो । किनभने, हामी शान्ति सुरक्षा कायम गराउनकै लागि बढी सक्रिय छौं र ८० प्रतिशतभन्दा बढी प्रहरी त्यसमै खटिन्छन् । त्यसकारण १० देखि २० प्रतिशत प्रहरीलाई अनुसन्धान विशिष्ट बनाउनका लागि के गर्न सकिन्छ भन्ने सोचाइ छ ।

यसलाई अलिकति एग्रिगेट गरेर विशेष पहल गरेर अनुसन्धानकर्मीहरुलाई त्यहीँ करियर बनाउन दिने हो र उसले गरेका राम्रा अभ्यासहरुको जस उसैले पाउने गरी विस्तार गर्न सकियो भने त्यसले आगामी दिनहरुमा राम्रो सन्देश दिन्छ भन्ने किसिमले पनि काम गरिरहेका छौं । तपाईंले सुनकाण्डको कुरा गर्नुभयो, अनुसन्धानको पाटोको कुरा गर्नुभयो, म त्यसमा प्रहरी अधिकृतबाट गल्ती भएको थियो भने दोष अनुसारको कसुरको उनीहरु कारबाहीको भागी हुनुपर्छ भन्ने नै मान्छु ।

तलका कतिपय दर्जाका प्रहरीहरु लगभग अपराधीलाई पक्राउ गर्ने र उनीहरुको संगतमा हरदम हुन्छन्, कहिलेकाहीँ हामीले अपराधिक कर्मलाई ‘ग्लामराइज’ गरिदियौं, दैविकरण गरिदियौं ।
मेरो स्पष्ट धारणा के हो भने प्रहरीले राम्रोसँग काम गरेको छ । नियत पनि सफा छ र नतिजा पनि सफा छ भने त्यो विवादको विषय नै बन्दैन । कहिले काहीँ प्रहरीले राम्रो नियतले काम गरेको हुन्छ, नतिजा नराम्रो आउँछ । त्योबेलामा संगठनले उसलाई संरक्षण गर्छ । कतिपय प्रसंगमा नियत पनि खराब छ, नतिजा पनि खराब छ भने बर्दी लगाएका कारण उसले सुरक्षित महसुस गर्नुपर्छ, संगठनबाट भन्ने चाहिँ म मान्दिन ।

धेरैवटा अपराधिक घटनामा प्रहरी अधिकृत मुछिएका छन् । कानुन कार्यान्वयन गर्ने निकायमा रहेका अधिकृतहरु नै यसमा संलग्न हुनुलाई कसरी हेर्ने ?

महानिरीक्षकका रुपमा मेरा कुनै पनि कर्मचारी अपराधमा लिप्त नहुन् भन्ने मेरो विचार हो । त्यसलाई हामी न्यूनिकरण गर्न कोशिस गरिरहेका छौं । भोलिदेखि हुँदैन, शून्य हुन्छ भन्नु भनेको अव्यवहारिक कुरा पनि होला । तर, हामीले चाहिँ के गर्छौं भने प्रहरी आफैं अपराधमा संलग्न छन् भने उसले त्यो अपराधमा संलग्न भएको कसुर त व्यहोर्नै पर्‍यो । त्यसको अतिरिक्त राष्ट्र सेवकको हिसाबले थप दण्ड सजाय हुन्छ भने हामी त्यो पनि गर्न तयार छौं ।

तलका कतिपय दर्जाका प्रहरीहरु लगभग अपराधीलाई पक्राउ गर्ने र उनीहरुको संगतमा हरदम हुन्छन्, कहिलेकाहीँ हामीले अपराधिक कर्मलाई ‘ग्लामराइज’ गरिदियौं, दैविकरण गरिदियौं अथवा त्यस्ता अपराधिक कर्ममा लागेका मान्छेहरु समाजमा सभ्य र स्थापित व्यक्तित्वको रुपमा देखा परे भने मान्छेहरुले कपी गर्ने सम्भावना बढी हुँदो रहेछ ।

त्यो हिसाबमा हाम्रा कतिपय प्रहरी कर्मचारीहरु लिप्त भएको देखिन्छ । तर, उनीहरु कुनै पनि हालतमा कसुरको दायराबाट बाहिर जाँदैनन् र उनीहरुलाई कारबाहीको दायरामा ल्याउँछौं ।

 

प्रहरीका लागि निर्मला हत्या प्रकरण जस्ता केही घटनाहरु इज्जतको विषय बनेका छन् । तपाईंको कार्यकालमा यो प्रकरण किनारमा पुग्ला ?

मैले भन्नु पर्ने कुरा के हो भने प्रतिवर्ष नेपाल प्रहरीमा करिब ४० हजार मुद्दाहरु रहँदा रहेछन् । ती मुद्दाहरु अधिकांशमा प्रहरीले सफल अनुसन्धान गरेको छ । हाम्रो फर्च्छ्यौटको दर एकदमै राम्रो छ । तर, यदाकता प्रतिनिधि घटनाहरु क्र्याक गर्न सकिँदैन, त्यसपछि प्रहरीको इमेजमा औंला ठड्याउने काम हुँदो रहेछ ।

महानिरीक्षकका रुपमा तपाईंलाई मैले भन्दाखेरि निर्मला हत्या प्रकरण छिटोभन्दा छिटो टुंगोमा पुगोस् भन्ने चाहन्छु । तर, अनुसन्धान कुनै समय सीमाभित्र आवद्ध भएर गर्न सकिने विषय होइन । हामी अनुसन्धान अधिकृतहरु कहिलेकाहीँ बसेर सल्लाह पनि के गर्छौं भने अनुसन्धान कहिलेकाहीँ शून्य र कहिलेकाहीँ भोलि सतप्रतिशतमा पनि पुग्ने सम्भावना हुँदो रहेछ । त्यसकारण म कुनै अनुमान गर्न सक्दिनँ । यो कुनै अनुमानयोग्य विषयचाहिँ होइन । तर, केचाहिँ भन्छु भने यसमा हामी गम्भीर भएर लागिपरेका छौं ।

अनुसन्धानमा पोख्त ठानिएका मेरा प्रहरी अधिकृतहरु यसमा लागेका छन् । र, यो नेपाल प्रहरीको सबैभन्दा चासोको विषय पनि हो भनेर भन्न पनि मलाई हिच्किचाहट छैन । किनभने, यो घटनाले जुन किसिमले हामीलाई क्षति पुर्‍याएकाे छ, त्यसलाई भर्पाइ गर्ने काम प्रहरीकै हो । प्रहरीले नै यसलाई क्र्याक गर्‍यो भने हामीले विगतमा गरेको गल्तीलाई सच्यायौं भन्ने मानिनेछ र हामीलाई लाग्ने ठूलो लाञ्छना आरोपबाट हामी बच्छौं । त्यसकारणले यो प्राथमिकताको अनुसन्धान हो र यसलाई समय सीमामा नरही सकेसम्म चाँडै टुंग्याउने प्रयासमा छौं ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार